राजनीतिक दलका नेता, मन्त्री र सांसदले कति पढ्नुपर्छ? नेपालमा यसका लागि न्यूनतम योग्यता तोकिएको छैन। त्यसैले संसद् बैठकमा कतिपय सांसदले लिखित वक्तव्यसमेत खरर पढ्न नसकेका दृश्यले सामाजिक सञ्जाल तताइरहेका हुन्छन्।
संघीय संसद् सचिवालयले तयार पारेको ‘संघीय संसद् सदस्य विवरण’ अनुसार संसदमा साधारण लेखपढ मात्रै गर्ने १० जना सांसद छन्। यही सूचीमा छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।
औपचारिक शिक्षा कम भएको भनेर सधैँ आलोचना खेपिरहनेमध्येका एक ओली पनि हुन्, जो दुई पटक देशको प्रधानमन्त्री बनिसके। तिनै ओलीले मानार्थ विद्यावारिधि भने दुईपटक ग्रहण गरिसकेका छन्।
ओलीले व्यवस्था फेर्ने नारा लगाइरहँदा राजनीतिमा अध्ययन र विज्ञताभन्दा त्याग, समर्पण र बलिदानलाई बढी महत्व दिइन्थ्यो।
अब भने आन्दोलन हाँकेका वा जेल बसेका व्यक्तिले मात्रै राजनीतिमा ठाउँ पाउँछ भन्ने संकथन फेरिँदै छ। प्राज्ञिक क्षेत्रबाट आएकाहरू राजनीतिमा जम्दै छन्। यससँगै नेताहरू उच्च तहको पढाइप्रति आकर्षित हुने क्रम पनि बढ्न थालेको छ।
नयाँ दलहरू राजनीतिमा आएपछि त कतिपय पार्टीले शैक्षिक योग्यतालाई सदस्यता लिने पहिलो आधार नै बनाएका छन्।
जसको प्रभाव पुराना दल र त्यसमा आबद्ध दलका नेताहरूमा पनि देखिन थालेको छ। हुन त यसअघि पनि नेपालका राजनीतिज्ञहरूले उच्च शिक्षा नलिएका होइनन्।
डा. बाबुराम भट्टराईको विद्यावारिधिले ठूलो चर्चा पाएको थियो। डा. रामशरण महत, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल लगायतका नेताको पढाइबारे पनि चर्चा थियो।
यसैबीच पछिल्ला सत्रमा त्रिविका एमफिल र पीएचडीका कक्षामा राजनीतिकर्मीहरूको लर्को लाग्न थालेको छ। उनीहरूसँगै पूर्वकर्मचारीदेखि सुरक्षा निकायका प्रमुखहरू पनि भर्ना हुने क्रम बढेको छ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचेतक सुनिता बराल, केन्द्रीय सदस्य विष्णु रिजाल, माओवादी उपमहासचिव शक्ति बस्नेत, कांग्रेस सहमहामन्त्री जीवन परियार, सांसद बद्री पाण्डे, पूर्वमन्त्री डिगबहादुर लिम्बू, नेता गोविन्द भट्टराई लगायत पीएचडीका लागि त्रिवि धाइरहेका छन्।
राजनीतिकर्मीले यसरी उच्च अध्ययनलाई प्राथमिकता दिनु सकारात्मक भएको टिप्पणी गर्छन्, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खड्ग केसी।
‘यो सकारात्मक पक्ष हो। तर राजनीतिजस्तो सजिलो पक्कै हुँदैन,’ केसी भन्छन्। केसी त्रिविमै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयका प्राध्यापक हुन्।
प्राध्यापक केसीले भनेजस्तै राजनीतिज्ञहरूलाई सँगसँगै अध्ययन अघि बढाउन सहज छैन।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीसमेत रहेका बस्नेत अहिले विभिन्न रिसर्च र प्रजेन्टेसनको काममा व्यस्त छन्। उनले अघिल्लो वर्ष पीएचडी भर्ना गरेर परीक्षा पनि दिइसकेका छन्।
‘राजनीतिक अर्थशास्त्र’ मा पीएचडी गरिरहेका बस्नेतलाई राजनीतिसँगै अध्ययनलाई अघि बढाउन हम्मेहम्मे छ।
पूर्वसांसद् समेत रहेकी उनकी पत्नी सत्या पहाडीका अनुसार साँझ–बिहानको समय बस्नेतले आफ्नो अध्ययनका लागि छुट्टयाएका छन्।
‘साँझबिहान पढाइकै काममा लाग्नुहुन्छ,’ उनले भनिन्, ‘घरमा पनि विभिन्न किताब र अनलाइनबाट अध्ययन गरिरहनुभएको छ।’
पछिल्लो समय जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरूको बारेमा उनले रिसर्च सकेका छन्।
‘अब एक-दुई दिनमा त्यो रिसर्च बुझाउने उहाँको तयारी छ,’ पहाडीले भनिन्।
त्रिविमा प्रत्येक साता तीन दिन पीएचडीका कक्षा सञ्चालन हुन्छन्। प्रत्येक कक्षा ३ घन्टा लामो हुन्छ।
शनिबार भने दुई सत्रमा पढाइ हुन्छ। बिहान ७ देखि १० बजेसम्म पहिलो र ११ बजेदेखि २ बजेसम्म दोस्रो सत्र सञ्चालन हुुन्छ।
स्नातकोत्तर अध्ययन गर्दासम्म ४५ मिनेटको कक्षा लिएकी एमाले सांसद बराल सुरुमा तीन घण्टा लामो कक्षामा बस्दा आत्तिएकी थिइन्।
अहिले विषय बुझ्दै जाँदा उनको चासो पनि बढेको छ। उनी राजनीतिक व्यस्तताकाबीच अध्ययन अघि बढाइरहेकी छिन्।
‘कहिलेकाहीँ संसद् बेलुकीसम्म चल्दा पनि कक्षामा पुग्न गाह्रो हुने रैछ,’ उनले भनिन्, ‘संसद् सचिवालय र पार्टीसँगको समन्वयमा सेड्युल मिलाउने गरेको छु।’
सरकार र पार्टीका कामको जिम्मेवारी एकातिर हुँदाहुँदै पनि बस्नेत र बराल कक्षा नछाड्ने प्रयासमा हुन्छन्।
बराल डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसी (अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति) विभागमा अध्ययनरत छिन्।
संयोगले एमालेकै केन्द्रीय सदस्य रिजाल पनि सोही कक्षामा छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा बढी चासो राख्ने र अध्ययन गर्ने रिजालले यसअघि पार्टीको विदेश विभाग उपप्रमुख भएर काम गरेका थिए।

‘पार्टीको जिम्मेवारीमा हुँदा पनि विभिन्न देशहरू पुगेँ, ती देशसँग नेपालको कूटनीतिबारे केही ज्ञान भयो,’ रिजालले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा चासो बढेको थियो। आफ्नै रुचिले गर्दा अहिले सोही विषयमा केन्द्रित रहेर पीएचडी थालेको हुँ।’
बराल भने प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छिन्। बरालले आफूलाई अन्तर्राष्ट्रिय कूटनीतिबारे अध्ययन गर्ने चाहना बढेकोले सोही समितिमा राख्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेकी थिइन्।
‘भारतले केही वर्षअघि गरेको नाकाबन्दीकै बेलादेखि मलाई डिप्लोमेसीबारे चासो थियो,’ बराल सुनाउँछिन्, ‘सैद्धान्तिक रुपमा पनि यसमा निखार ल्याउनुपर्छ भन्ने लागेपछि त्रिविबाटै पीएचडी गर्ने सोचमा पुगेको हुँ।’
विद्यार्थी राजनीति हुँदै उनलाई कुटनीतिक सम्बन्धका विषयले छोएको थियो। सांसद बनेपछि यो विषयमा केही नयाँ गर्नुपर्छ भन्ने सोच आएको बरालले बताइन्।
‘पछि पार्टी अध्यक्षसँग कुराकानी गरेँ, उहाँले सहयोग गर्ने भएपछि अध्ययन थालेँ,’ उनी भन्छिन्।
पछिल्ला दिन कूटनीतिबारे बुझाइ विस्तारित हुँदै गएको रिजाल बताउँछन्।
‘हिजोका दिनमा यो राज्य–राज्यबीचको विषय मात्रै हो भन्ने बुझाइ थियो,’ रिजालले भने, ‘कूटनीतिबारे बुझाइ फराकिलो हुँदै गएकोले यसको आकर्षण अहिले बढेकोजस्तो लाग्छ।’
त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागमा अहिले ३५ जना विद्यार्थी छन्। डा. कृष्णराज आचार्य, खड्ग केसी, दिनेश भट्टराई, टीकाराम गौतमलगायत प्राध्यापक छन्।
कांग्रेस सांसद समेत रहेका परियार समय मिलाएर त्रिविमा तय भएका कक्षा लिन पुग्ने गरेका छन्।
‘सोचेजस्तो सहज छैन, कतिपय साथीहरू फोन उठेन भनेर रिसाउनु पनि हुन्छ,’ परियारले भने, ‘पार्टीका काम र पढाइ मिलाएर लैजान हम्मेहम्मे पर्ने रहेछ।’
परियार राजनीतिशास्त्रमा एमफील गर्दैछन्।
उनीसँगै एउटै कक्षामा पुग्छन्, कांग्रेसकै अर्का सांसद बद्री पाण्डे। उनले पनि यही वर्षबाट कक्षा सुरु गरेका हुन्।
कांग्रेसकै अर्का नेता गोविन्द भट्टराईले गत वर्षदेखि नै पीएचडी कक्षा लिएका थिए। उनी अहिले ‘प्रपोजल’ बुझाउने तयारीमा छन्।
‘बिहानै क्लास हुन्थ्यो। पढ्न उत्साहित थिएँ,’ भट्टराई सुनाउँछन्, ‘नयाँ क्षेत्रका साथीहरू पनि भेट भएका छन्, धेरै सिकाइ भयो।’
विभिन्न मुलुकबाट अध्ययन गरेर आएका प्राध्यापकसँग उनीहरूका अनुभव सेयर गर्न पाउँदा तीन घण्टाको समय पनि सजिलै बितेको बताउँछन्, भट्टराई।
उता, एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पाण्डे भने समाजशास्त्रमा पीएचडी गरिरहेका छन्। उनकी पत्नी पूर्णशोभा चित्रकार पनि सँगै पीएचडी कक्षा लिइरहेकी छिन्।
उपाध्यक्ष पाण्डे कक्षामा अत्यन्तै जिज्ञासु देखिन्छन्।
अर्थमन्त्री समेत भइसकेका पाण्डे देशको अर्थतन्त्र र समाज गहिरोसँग बुझ्नसक्ने नयाँ विद्यार्थीमध्येका एक हुन्। तर, सफल नहुँदासम्म पढाइबारे प्रचार नहोस् भन्ने उनको चाहना छ।
‘सफल होइन्छ होइँदैन नै थाहा छैन,’ पाण्डेले भने, ‘अहिले नै यसबारे प्रतिक्रिया दिँदा अलि हतारो होला कि?’
पाण्डेलाई पढाइरहेका एक प्राध्यापकका अनुसार नबुझेका कुराहरूलाई बहुआयामिक ढंगबाट प्रश्न गर्ने पाण्डेको बानी छ।
तर, पाण्डे भने आफ्नो अध्ययनबारे अहिले नै बाहिर चर्चा गर्न नपाए हुन्थ्यो भन्ने चाहन्छन्।
समाजशास्त्रकै विद्यार्थीलाई अध्यापन गराइरहेका प्राध्यापक डा. मृगेन्द्रबहादुर कार्की पछिल्लो समय करिअर सफल भइसकेकाहरू विश्वविद्यालय भर्ना हुने ‘ट्रेन्ड’ नै चलेको बताउँछन्।
‘औसत आयु वृद्धि भएर पनि हुनसक्छ। कर्मचारीहरूले चाहिँ ५८ वर्षपछिको उमेरका लागि सुरक्षित अवसर बनाइराखेका पनि हुनसक्छन्,’ सिनासको निर्देशक समेत रहेका डा. कार्की भन्छन्, ‘कतिले रिटायर्ड भएपछि सामाजिक हैसियत बलियो बनाउन खोजेका पनि हुन सक्छन्।’
एमाले नेता रिजालको भने अलि फरक तर्क छ। ‘सबैतिर तर्क र ज्ञानले जित्नुपर्छ भन्ने यथार्थ अगाडि छ, सोही अनुसार अध्ययन आवश्यक छ,’ उनले सुनाए।
त्रिविमा लामो समयदेखि अध्यापन गराइरहेका कार्कीलाई एउटा विषय भने ‘विरोधाभासपूर्ण’ लागिरहेको छ।
‘तिनै नेताहरू त्रिवि खत्तम भयो, त्रिविमा राम्रो अध्ययन भएन भनेर भाषण गर्नुहुन्छ,’ कार्कीले अघि भने, ‘अहिले उहाँहरू नै टियूमा नाम निकालेर पढ्न लबिइङ पनि गर्नुहुन्छ, यो अलिक बुझ्न सकिएको छैन।’
निरन्तर पढ्दै आएका विद्यार्थीभन्दा यसरी अनुभव र राजनीतिबाट खरिएका विद्यार्थीको बुझाइको स्तर बेग्लै देखिएको डा. कार्कीको अनुभव छ।
Shares

प्रतिक्रिया