राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ०८४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १ सय ५० जना सांसदले प्रत्यक्ष निर्वाचन जितेर संसदमा प्रवेश गर्ने दाबी गरेका छन्।
इलाम–२ को उपनिर्वाचनको औपचारिक उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
गतवर्ष तनहुँ–१ बाट निर्वाचित भएका वाग्लेले २० बाट २१ हुन भूमिका खलेको भन्दै अब २२ सिटका लागि मिलन लिम्बूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
‘हामी २० बाट २१ सिट भएका छौँ। इलामबाट २२ सिट हुनेछ र ०८४ मा २२ बाट १५० सिट हुनेछ। त्यो १५० सिटका लागि मिलन लिम्बूको जितले एउटा इँटा मात्रै थप्दैन ठूलो भूमिका खेल्नेछ,’ उनले भने।
मिलनको विजयसँगै कोशी प्रदेशमा पनि रास्वपाले पनि नयाँ खाता खोल्ने उनले बताए। ‘देश बनाउने अभियानमा सबै जोडिनुहुनेछ भन्ने आशा छ। माङ्सेबुङ–२ मा जन्मिएको अर्गानिक, सबै चिनेको, बुझेको उम्मेदवारलाई चिनाइरहनु पर्दैन,’ उनले भने।
मिलनमाथि विभिन्न पार्टीमा लागेको आरोप लागेको भन्दै त्यो कच्चा टिप्पणी भएको पनि बताए।
‘२०६३ सालमा एसएलसी दिएको पात्र पत्रकारिता समाएपछि एउटा धारमा समाहित भएको मान्छेलाई यो र उ भनेर आरोप लगाउँदा राजनीतिक कच्चापना देखिन्छ,’ उनले भने।
Shares
प्रतिक्रिया