राजनीति


माओवादीसँग एकता विवादले बाबुराम र महीन्द्रबीच टकराव

माओवादीसँग एकता विवादले बाबुराम र महीन्द्रबीच टकराव

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १६:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने या नगर्ने विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महीन्द्र राय यादवबीच टकराव बढेको छ।

माओवादीसँग मिल्नुपर्ने पक्षमा रहेका यादव र पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोधमा सार्वजनिक अभिव्यक्ति नै दिन थालेका डा. भट्टराईबीचको विवाद सार्वजनिक रुपमै देखिएको हो। 

नेसपा अध्यक्ष डा. भट्टराईले आफूसँग सल्लाह नगरी आगामी चैत ४ गतेका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक डाकेको भन्दै यादव पक्ष आक्रोशित भएको हो। 

नेसपाका एकजना अध्यक्ष यादवलाई यसअघि नै माओवादी केन्द्रले लिखित पत्र पठाएरै एकताका लागि प्रस्ताव गरेको थियो। तर त्यसबेला माओवादीले डा. भट्टराईलाई सम्बोधन गरेको थिएन। यस्तोमा डा. भट्टराई नेसपा निर्माण अभियानमा लागिरहँदा यादव भने माओवादीसँग एकताको पक्षमा देखिएका छन्।

२०७९ मंसिरको चुनावमा माओवादीकै चुनाव चिह्नबाट संघीय संसद्मा विजयी भएका यादव यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री नै भइसकेका छन्। 

दुई अध्यक्षबीच विवाद बढिरहेका बेला यादवनिकट पार्टी महासचिव रमेशप्रसाद यादवले बुधबार एक वक्तव्य निकालेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको जिकिर गरेका छन्। 

‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक चैत ४ र ५ गते बोलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ', उनले भनेका छन्, 'अध्यक्षद्वय (यादव र भट्टराई) को सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महीन्द्र राय यादवको सहमति नलिई एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले त्यो नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु।’

भट्टराईले उक्त बैठक स्थगित नगरे आफूहरूले बहिष्कार गर्ने चेतावनी यादव पक्षले दिएको छ। महासचिव यादवले पनि एकलौटी डाकिएको उक्त बैठक आधिकारिक नभएकाले सहभागी नहुने बताए। उनले माओवादीसँग एकता प्रक्रिया अघि बढ्दा पनि त्यसका लागि डा. भट्टराई तयार नभएको पनि आरोप लगाएका छन्। 

भट्टराईले बैठक स्थगित नगरे बहिष्कारको चेतावनी यादव पपक्षले दिएको छ। भट्टराई प्रचण्डसँग रुष्ट हुँदै दूरी बढाइरहँदा यादव भने माओवादीसँग एकता गर्ने तयारीमा छन्। भट्टराईले आफूहरू एकता गर्ने पक्षमा रहे पनि प्रचण्डले केही नेता कार्यकर्तालाई पार्टी प्रवेश मात्रै गराउन चाहेको बताउँदै आएका छन्। 

यसअघि नेपाल समाजवादीले माघ २० गते केन्द्रीय समिति बैठकबाट माओवादीसँग एकतामा जाने निर्णय लिएको थियो। तर उक्त एकताबारेको निर्णयपछि दुई पक्षबीच गम्भीर वार्ता हुन सकेको छैन। डा. भट्टराई पछिल्लो समय गृहजिल्ला गोरखामा सक्रिय हुँदै प्रचण्ड विजयी भएको क्षेत्रमा आफैं उठ्ने तयारीमा लागेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .