ad ad

राजनीति


फेरिएको मन्त्रिपरिषद् संरचनामा प्रचण्डका दायाँ र बायाँ को-को?

फेरिएको मन्त्रिपरिषद् संरचनामा प्रचण्डका दायाँ र बायाँ को-को?

नेपालखबर
चैत २, २०८० शुक्रबार ८:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महत्त्वपूर्ण साझेदार फेरेका छन्। नेपाली कांग्रेस र अरू केही साना घटकलाई बाहिर राखेर नेकपा एमाले, रास्वपालगायतलाई भित्र्याएका छन्।

उनले गएका करिब १५ महिनामा फेरिएको सत्ता समीकरणमा यो तेस्रो हो र विगतका दुवैभन्दा यो फरक छ। मन्त्रिपरिषद्को यो संरचना फेरिएसँगै प्रचण्डले कार्यशैली पनि फेर्ने भनेका छन्।       

भनिन्छ, कुनै पनि औपचारिक सभा, सभारोह र बैठकहरूमा सहभागीको आसन र अवस्थितिले निकै अर्थ राख्छ। अझ उच्चस्तरीय पदाधिकारीका भेटघाट र बैठकमा शारीरिक लवज (बडी ल्यांग्वेज)ले पनि धेरै कुरा बोलिरहेको हुन्छ।

को नजिक, को टाढा, को दायाँ, को बायाँ भन्ने कुराले नेतृत्वको ‘खासियत’ भनिरहेको हुन्छ। यसका केही व्यावहारिक पक्ष छन् भने केही हाम्रा सांस्कृतिक मान्यताहरू छन्। खुट्याउन सक्नेले त वास्तुकै व्याख्या गरिदिन्छन्।

नजिक बस्नेहरूको कुरा सुन्ने र टाढा हुनेहरूको कुरा काट्ने प्रवृत्ति पनि छ। नजिक बस्नेले कान फुक्छन् भनेर पनि शंका गर्ने परिपाटी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका पूर्वसचिव शारदाप्रसाद त्रिताल भने मन्त्रीहरू वरीयताका आधारमा बैठकमा बस्ने भएकाले को नजिक वा को टाढा भन्ने अर्थ लाग्दैन। उनका अनुसार, सबैभन्दा वरिष्ठ मन्त्री वा उपप्रधानमन्त्री प्रधानमन्त्रीको दायाँ बस्छन्। तेस्रो वरीयताको व्यक्ति प्रधानमन्त्रीको बायाँ बस्छन्। यसैगरी क्रमशः अन्य उपप्रधानमन्त्री र मन्त्री बस्दै जानुपर्छ। मुख्यसचिवचाहिँ प्रधानमन्त्रीको पछाडिपट्टि बस्नुपर्ने त्रितालको भनाइ छ।

तर, देशका ठूल्ठूला नीतिगत निर्णय गर्ने सर्वोच्च कार्यकारी थलो मन्त्रिपरिषद्को बैठकको बसाइले केही भनिरहेकै छैन भन्न मिल्दैन। प्राविधिक प्रोटोकलको जिम्मा छाडेर प्रधानमन्त्री प्रचण्डको शैली, सोच, सम्बन्ध र प्राथमिकताको अनुमान लगाउन हुँदैन भन्ने पनि छैन।

प्रचण्ड मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको दायाँतर्फ उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र रवि लामिछाने बसेका छन्। तर, बीचमा मुख्यसचिव वैकुण्ठ अर्याल छन्। अर्याल कर्मचारीतन्त्रका सर्वोच्च पदाधिकारी हुन्। 

महासेठ एमालेका नेता हुन्। उनी धनवान् पनि छन्। एमाले गठबन्धनको सबैभन्दा ठूलो दल हो। मौजुदा गठबन्धनको ‘किङमेकर’ पनि भन्दा हुन्छ। महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका छन्। यो धेरै बजेट र ठेक्कापट्टा परिचालन गर्ने मन्त्रालय पनि हो।

लामिछानेले गृह मन्त्रालय सम्हालेका छन्। प्रधानमन्त्रीले सकेसम्म यो मन्त्रालय उनलाई दिन चाहेका थिएनन्। अघिल्लो कार्यकालमा पनि लामिछानेको नागरिकता विवाद सल्टिएपछि पुनः गृह मन्त्रालय दिएर भित्र्याउन नमान्दा रास्वपाले सरकार नै छाडेको थियो।

अहिले लामिछानेले गृहलाई नै ‘बटमलाइन’ बनाए। एमाले यसमा उदार देखियो। प्रचण्डका लागि यो बाध्यताको निर्णय बन्न पुग्यो।

त्यसो त प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने, गगन थापाजस्ता युवा तथा ऊर्जावान् नेतालाई मन्त्रिपरिषद्‍मा भित्र्याउन चाहेका थिए। त्यस हिसाबले हेर्ने हो भने लामिछानेप्रति प्रचण्डको आशा पनि छ, सतर्कतापूर्ण व्यवहार गर्ने सोच पनि छ भन्ने देखिन्छ।

प्रचण्डले बुझेरै यो बसाइ मिलाएका हुन् वा होइनन्, त्यो बेग्लै कुरा हो। तर, सरकारले काम गरेको देखाउने भनेका यिनै दायाँतर्फका मन्त्रालय हुन्।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डको बायाँतर्फ उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवलाई राखेका छन्। प्रधानमन्त्रीको नजिक श्रेष्ठ छन्। त्यसपछि मात्र यादव बसेका छन्।

यी दुई उपप्रधानमन्त्री र प्रधानमन्त्रीको बीचमा कर्मचारी (मुख्यसचिव) छैनन्। श्रेष्ठ माओवादीकै उपाध्यक्ष हुन्। आफ्नै पार्टीका नेता भएकाले प्रचण्डले बढी विश्वास र भर गरेका नेता पनि उनैलाई मान्न सकिन्छ। 

यस्तै २०६३ सालयता फरक पार्टीमा भए पनि यादव प्रायः प्रचण्डकै कित्तामा उभिएका छन्। त्यसैले श्रेष्ठ र यादव दुवैसँग व्यवहार गर्दा प्रचण्डका लागि खासै धेरै सतर्कताको खाँचो पर्दैन। एकले अर्कालाई मजैले बुझेका छन्। उनीहरूको संगत र सहकार्य लामै भइसकेको छ।

श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। शक्तिराष्ट्रहरूले परराष्ट्रलाई प्रधानमन्त्रीपछिको शक्तिशाली विभाग मान्छन्। तर, हामीकहाँ परराष्ट्रलाई खासै नगन्ने, प्रधानमन्त्रीको सचिवालय र बाह्य मुलुकको दूतावासको सम्बन्धलाई परराष्ट्र बुझ्ने र अभ्यास गर्ने गरिएको छ। त्यसैले प्रचण्डले श्रेष्ठको ‘कार्यसम्पादन’ खोजेका छन् भन्नुभन्दा पार्टीभित्र उनको ‘व्यवस्थापन’का रूपमा सरकारमा राखिरहेका छन् भन्नु उक्तिसंगत हुनेछ।

उपेन्द्र यादवबाट ‘कार्यसम्पादन’को अपेक्षा प्रधानमन्त्रीले कति गरेका छन्, त्यो उनैलाई थाहा होला। तर, आमनागरिकमा कति आशा र अपेक्षा छ, बुझ्न सामाजिक सञ्जाल हेरे पुग्छ।

प्रचण्ड मन्त्रिपरिषद्मा ४ जना महिला छन्। उनीहरूको स्थान दायाँ र बायाँ दुवैतर्फ हेर्दा प्रधानमन्त्रीदेखि ५-५ जनाको दूरीमा देखिन्छ।

दलितको उपस्थिति शून्य छ। 

त्यसैले मन्त्रिपरिषद्को बैठक, बसाइ र वास्तुले भनिरहेका कुरा धेरै छन्।सबैलाई थाहा भएकै कुरा हो कि विभिन्न दलसँग गठजोड गर्नु प्रधानमन्त्रीको बाध्यता हो। अझ संसदको तेस्रो ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्न पाउनु परिस्थितिले जुराएको अवसर हो। आज एउटा दलसँग र भोलि अर्कै दलसँग गठबन्धन गर्नु उनको चलाखीको पराकाष्ठा हो।

एउटै मैदानका सीमित खेलाडीबाट १५ महिनाभित्र तीन खालका गठबन्धन बनाउन सक्नु प्रचण्डको एउटा खुबी मान्नेहरू पनि छन्।

कांग्रेस र एमालेजस्ता लामो इतिहास, व्यापक संगठन अनि संसदीय अनुभव भएका पार्टीदेखि रास्वपाजस्ता जनअसन्तोषको रापतापबाट उदाएका दललाई सन्तुलनमा राखेर आफ्नो केन्द्रीय भूमिका यथावत् कायम गर्न सक्नु अर्को कौशल हो। 

तसर्थ, प्रचण्ड मन्त्रिपरिषदको दृश्यले उनको चातुर्य र गठजोड कौशललाई बेजोडसँग व्यक्त गर्छ।

संसदीय गणितका मूर्धन्य खेलाडी शेरबहादुर देउवालाई नै पटकपटक जिल्याउन सक्ने प्रचण्ड 'प्रतिभा' पनि त मन्त्रिपरिषद्को यस दृश्यले देखाइरहेको छैन र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .