ad ad

राजनीति


‘धोकेबाज’ प्रचण्ड कि देउवा? बाबुरामले सुनाए घीउ बेच्ने र तरबार बेच्नेको कथा!

‘धोकेबाज’ प्रचण्ड कि देउवा? बाबुरामले सुनाए घीउ बेच्ने र तरबार बेच्नेको कथा!

नेपालखबर
फागुन २२, २०८० मंगलबार २०:४२, काठमाडौँ

पाँचै वर्ष टिक्छ भनेर दाबी गरिएको कांग्रेस–माओवादीसहितको गठबन्धन सोमबार (फागुन २१ गते) एकाएक तोडियो र एमाले–रास्वपासहितको नयाँ गठबन्धन बन्यो। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारै पुराना सबै मन्त्रीलाई बिदा गरेर सानो मन्त्रिमण्डलसमेत गठन गरिसकेका छन्। 

हाल उक्त सत्ता गठबन्धनमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी संलग्न छन्। 

यसअघि पनि प्रचण्ड एमाले नेतृत्वकै सात दलीय गठबन्धनबाट २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए। तर त्यो गठबन्धन पनि लामो समय टिक्न सकेन।

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई होइन, कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्‍यो। जसका कारण एमाले २०७९ फागुन १५ गते प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो। यसैगरी राप्रपाले पनि सरकार छाड्यो। 

एमाले बाहिरिएपछि त्यही वर्ष चैत १७ गते प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेस भित्रिएको थियो। तर त्यसको १ वर्ष नपुग्दै अहिले फेरि कांग्रेस सरकारबाट बाहिरिन बाध्य भएको छ भने एमाले पुनः भित्रिएको छ। 

यसरी गठबन्धन परिवर्तन गर्नुपर्ने बाध्यता कांग्रेसले दिएको ‘धोका’का कारण आएको आरोप प्रधानमन्त्री प्रचण्डले लगाइरहेका छन् भने आफूलाई एकाएक त्यागेर एमालेसँग मिलेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई ‘धोकेबाज’ भनिरहेका छन्।  

आखिर धोका कसले दिएको हो त?

यसै विषयमा व्यंग्य गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटा लोककथा सुनाएका छन्। 

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको लोककथा–  
एकादेशमा घीउ बेच्ने र तरबार बेच्नेहरूका गिरोह बनेछन्।

घीउ बेच्नेले काठको आकर्षक ठेकीभित्र तल गोबरले भरेर माथि घीउले छोपेछन्।

तरबार बेच्नेले आकर्षक म्यानभित्र काठको भुत्ते तरबार राखेछन्।

साटेर बेच्ने  (बार्टर ट्रेड) जमाना थियो। मोलतोल गरे। कुरा मिल्यो।

आआफ्नो पोल खुल्ला भनेर ठेकी र म्यान खोलेरभित्र हेर्न र देखाउन चाहेनन्।

सामान साटेपछि दुवैले एकअर्कालाई ठग्न सफल भएकोमा मक्ख परे। एकअर्काको खुब प्रशंसा गरे। गला मिलाएर आआफ्नो बाटो लागे। 

निकै पर चौतारामा बसेर आआफ्ना साटेका सामान जाँच्दा पो दुवै खंग्रंग भए!

‘धोकेबाज’ भन्दै दुवैले एकअर्कालाई सत्तोसराप गर्न थाले।

(कतै सन्दर्भ मिल्न गएमा आकस्मिकता मात्र हुनेछ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .