ad ad

राजनीति


यी ५ कारण, जसले माओवादी र कांग्रेसको सहकार्य टुटाउन भूमिका खेल्यो

यी ५ कारण, जसले माओवादी र कांग्रेसको सहकार्य टुटाउन भूमिका खेल्यो

नेपालखबर
फागुन २१, २०८० सोमबार १४:२९, काठमाडौँ

गत वर्ष यो गठबन्धन बन्दा ५ वर्षकै सहकार्यको योजना थियो।

सुरुका २ वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने, त्यसपछिको एक वर्ष माधव नेपाल र बाँकी २ वर्ष शेरबहादुर देउवालाई सत्ताको साँचो हस्तान्तरण गर्ने समझदारी थियो।

पहिलो एक वर्ष गठबन्धन समस्याबिना चल्यो । तर, एक वर्ष पूरा भएपछि समस्या छताछुल्ल भइहाल्यो।

१. अर्थमन्त्रीसँग टकराव
प्रधानमन्त्री ‘प्रचण्ड’ सँग अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक्कै कुरा मिल्न छाड्यो। 
प्रचण्डले अर्थतन्त्रका समस्या समाधान गर्न आफ्नै पहलमा उच्चस्तरीय आयोग वा समिति बनाउन खोजेका थिए। 

तर, अर्थमन्त्रीले त्यो अस्वीकार गरे। अर्थ मन्त्रालयको संरचना र सल्लाहकार टिम हुँदाहुँदै बेग्लै आयोग किन चाहियो भनेर मन्त्री महतले प्रतिप्रश्न गरे। 

यति मात्र होइन, कतिपय अवस्थामा मन्त्री महतले अर्थतन्त्रमा समस्या नै नरहेको भन्दै हिँडे। 

प्रधानमन्त्रीले भनेका कतिपय आयोजनामा अर्थमन्त्रीले बजेट छुट्याइदिएनन्। प्रधानमन्त्रीले दिएको योजनाको सूची अर्थबाट कटौतीमा पारियो। 

बजेटका नीति र प्राथमिकतामा पनि अर्थमन्त्रीले प्रधानमन्त्रीको सोचको प्रतिनिधित्व गर्न नसकेको बुझाइ रह्यो। 

२. मन्त्रिपरिषद् हेरफेरमा ‘असहयोग’
प्रधानमन्त्री प्रचण्ड वर्षगाँठसँगै मन्त्रिपरिषद्को टिम हेरफेर गर्न चाहन्थे। गत पुसमै उनले टिम फेर्न चाहेका थिए। 

तर, देउवाले विभिन्न नाममा समय गुजार्दै लगे। सरकारको ‘गियर परिवर्तन’ गर्ने भनेका प्रचण्डले विवादित मन्त्रीलाई हटाउन पनि नसक्ने अवस्था आयो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका मोहन बस्नेतसहित केही मन्त्रीसँग राजीनामा माग्दा पनि दिएनन्। फिर्ता बोलाइदेऊ भन्दा पनि देउवाले वास्ता गरेनन्। 

३. कोसी सरकारमा ‘धोका’
कोसीमा कांग्रेसको एउटा समूहले एमालेसँग मिलेर सरकार बनाएपछि प्रचण्डलाई ठूलै झस्का पसेको थियो। त्यहाँ माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा समझदारी भइसकेपछि कांग्रेसको विद्रोही खेमाले विकल्प खोजेको थियो।

र, प्रतिपक्षी एमालेसँग सत्ताको लगनगाँठो कसेको थियो। अब ढिलोचाँडो त्यसको हावा काठमाडौँसम्म आउँछ भन्ने भय प्रचण्डमा बढ्दै गएको थियो।

४. राष्ट्रिय सभामा ‘धोका’
राष्ट्रिय सभाको चुनावमा कांग्रेसले कोसीमै माओवादीलाई धोका दियो। माओवादीकी चम्पादेवी कार्कीलाई हराएर एमालेकी रुक्मिणी पराजुलीलाई कांग्रेसका केही मत परे। त्यसले प्रचण्डलाई थप सोच्नुपर्ने अवस्था बनायो।

५. कांग्रेस महासमितिका दस्तावेज 
कांग्रेसभित्रको राजनीति हेर्दा पनि माओवादीसँग दिगो सहकार्य हुन सक्ने अवस्था थिएन। शेखर कोइराला, गगन थापालगायत नेताहरू यो गठबन्धन फुटाउन हरतरहले लागिरहेकै थिए। 

देउवामाथि दबाब बढाउने क्रममा यो समूह पछिल्ला महासमिति बैठकमा पूरै हावी भयो। वर्तमान गठबन्धनको अवमूल्यन गर्ने, माओवादीलाई हियाउने र होच्याउने खालका दस्तावेजहरूले प्रचण्डलाई चिढ्याइरहेकै थियो।

अर्कोपटक माओवादीसँग गठबन्धन नै गर्न नहुने संकल्प गरिएपछि त्यही गठबन्धनमा बसिरहन प्रचण्डलाई गाह्रो भयो र अन्ततः सहकार्य नै टुटाउने निर्णयमा पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .