राजनीति


अध्यक्ष प्रचण्डसँग असन्तुष्ट जनार्दनले भने : अविचलित भएर अघि बढ्नुको विकल्प छैन

अध्यक्ष प्रचण्डसँग असन्तुष्ट जनार्दनले भने : अविचलित भएर अघि बढ्नुको विकल्प छैन

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८० बिहिबार १३:४१, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रको पछिल्लो निर्णयलाई लिएर पार्टीमा लिखित फरक मत दर्ता गराएका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिलेलाई अविचलित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई प्रदेशको सह-इन्चार्ज बनाएको विषयमा कडा आलोचना गरेका उनले पार्टीको हितका लागि कुरा उठाएको बताएका छन्।

उपमहासचिव शर्माले आफू र अर्का उपमहासचिव वर्षमान पुन अनन्त र स्थायी समिति सदस्य खगराज भट्टसहितको जिम्मेवारी खोसेर पार्टीमा परिवारवाद लादिएको टिप्पणी गरेका थिए।

अध्यक्ष दाहालका नातागोतालाई नलाग्ने नियम आफूहरूलाई मात्रै लगाइएको बताएका उनले बिहीबार पनि सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गरेका हुन्। 

उनले माओवादीको स्थायी समिति बैठकमा केही महत्वपूर्ण सवालबारे पार्टी सुधारको पक्षमा ब्यक्तिगत धारणा राख्नुपर्ने आवश्यकता ठहर गरेर संस्थागत हितका लागि विषय उठान गरेको बताएका छन्।

शर्माले खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् , त्यसअनुरुप कार्यान्वयन, गुणात्मक सुधारसहितको बलियो पार्टी निर्माण गर्न सकियोस् भनेर बोलेको पनि बताएका छन्।

शर्माले पार्टीमा आन्तरिक जनवादसहित नेता, कार्यकर्ताको न्यायोचित र पूर्वाग्रहरहित कार्यविभाजन हुनुपर्छ भन्नेमा आफू अझै अडिग रहेको बताएका छन्। 

'यी कुरामा जोड दिनु पार्टीलाई बलियो बनाउने कुरा हो। हामीसँग बलिदानको धरोहर सहिद, घाइते, अपांगप्रतिको जिम्मेवारी, उपलब्धिको रक्षा र दायित्व रहेकोले अविचलित रुपमा अगाडि बढ्नुको विकल्प छैन', उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .