चार वर्षअघि अमेरिकामा जब हिलारी क्लिन्टलाई पराजित गरेर डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए, सारा संसार चकित पर्यो। संसारभर कायम रहेको अमेरिकाको उदारवादी छविभन्दा बिल्कुल भिन्न स्त्रीद्वेष, नश्लीयता र उग्रराष्ट्रवाद मिश्रित विचार बोक्ने तथा अभिव्यक्ति दिने ट्रम्पलाई अमेरिकाले निर्वाचित गरेपछि दुनियाँ घोर आश्चर्यमा पर्नु स्वभाविक थियो।
त्यस्ता कमान्डर–इन–चिफको छत्रछायामा एक कार्यकाल बिताएपछि अमेरिकीहरु अर्को राष्ट्रपतीय निर्वाचनको पर्खाइमा छन्। तर, चुनाव आउन अझै १० महिना बाँकी रहँदै अमेरिकाले विश्वलाई फेरि चकित तुल्याउने अपेक्षा गरिँदैछ– एक घोषित समाजवादीलाई राष्ट्रपतिमा निर्वाचित गरेर।
आश्चर्य यसकारण कि धेरैको बुझाइमा अमेरिका र समाजवाद दुई विपरीतार्थक शब्द हुन्, जसको मेल सम्भव छैन। एक शताब्दीअघि समाजवादी भएकै कारण सोसल डेमोक्रेटिक पार्टी अफ अमेरिकाका संस्थापक भिक्टर एल बर्जरलाई हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट निस्कासन गरिएको थियो। शीतयुद्धभर अमेरिकामा समाजवाद र साम्यवादमा विश्वास गर्ने सबै पेसाका मानिसले गुप्तचर निकायको निगरानीमा जीवन बिताए।
तर, अहिले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका डेमोक्रेटिक सोसलिस्ट बर्नी स्यान्डर्स सबैभन्दा अगाडि छन्। गतसाता आयोवा राज्यको ककसमा अर्का प्रतिस्पर्धी पिट बुट्टजेजसँग लगभग बराबरी गरेका स्यान्डर्सले मंगलबार न्यु ह्याम्पसायरमा भएको प्राइमरी पनि जितेका छन्।
स्यान्डर्सले सबैका लागि समान स्वास्थ्योपचारको व्यवस्था, आर्थिक असमानता, विद्यार्थीलाई शैक्षिक ऋणबाट मुक्ति, विदेश नीतिमा सुधार, न्यायप्रणालीमा सुधार, जलवायु परिवर्तनजस्ता विषयलाई मुख्य मुद्दा बनाएका छन्।
को हुन् बर्नी स्यान्डर्स?
आप्रवासी यहुदी परिवारमा सन् १९४१ मा जन्मेका स्यान्डर्स न्युयोर्क सहरको ब्रुकलिनमा हुर्केका थिए। सन् १९८१ मा उनी वर्मोन्ट राज्यको बर्लिङ्टन सहरको मेयर निर्वाचित भएका थिए। सन् १९८९ मा सम्म उनी मेयर रहे। सन् १९९१ देखि २००७ सम्म उनी वर्मोन्टबाट अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सदस्य रहे। त्यसयता उनी सिनेटर छन्।
सन् २०१६ मा पनि उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए। तर, उनी हिलारी क्लिन्टनसँग पराजित भएका थिए।
उनकी पत्नी जेन स्यान्डर्स राजनीतिक सल्लाहकार हुन्। अघिल्लो विवाहबाट उनको एक छोरा छन्। उनका तीन झड्केलो सन्तान पनि छन्।
स्यान्डर्सका प्रतिस्पर्धी र मुद्दा
उम्मेदवार छनोट प्रक्रिया सुरु हुनुभन्दा अघि पूर्वउपराष्ट्रपति जो बाइडेन र सिनेटर एलिजावेथ वारेनलाई मुख्य प्रतिस्पर्धी मानिएको थियो। तर, आयोवा र न्यु ह्याम्पसायरको चुनाव सकिँदासम्म यी दुई चौथो र पाँचौँ स्थानमा झरिसकेका छन्। बरु साउथ बेन्ड सहरका मेयर रहेका पिट बुट्टेजेज स्यान्डर्सका प्रमुख प्रतिस्पर्धी बनेर उदाएका छन्। एमी क्लोबासर तेस्रो स्थानमा छिन्।
हाल डेमोक्रेटिक पार्टीबाट निर्वाचन लडिरहेका भएपनि स्यान्डर्स त्यो पार्टीको सदस्य थिएनन्। उनले मेयर र संसदको चुनावमा स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिस्पर्धा गरेका थिए।
त्यसैले नै सो पार्टीभित्र स्यान्डर्सलाई बाहिरिया मान्ने गरिन्छ र डेमोक्रेट संस्थापनले उनलाई बलियो समर्थन गर्न सकेको छैन। हालैका चुनावअघि हिलारी क्लिन्टनले बारम्बार उनको आलोचना गरेकी थिइन्।
अलेक्जेन्ड्रिया ओकाजियो कोर्टेज, रासिदा तलेब, प्रमिला जयपालजस्ता वामपन्थी सांसदहरुले स्यान्डर्सलाई समर्थन गरेका छन्।
स्यान्डर्स र बुट्टजेजले दुई विपरीत ध्रुवका हुन् भन्दा फरक पर्दैन।
३८ वर्षे बुट्टजेज ७८ वर्षे स्यान्डर्सभन्दा ४० वर्ष कान्छा हुन्। तर, रोचक कुरा छ भने १८ देखि २९ वर्षका मतदातामा स्यान्डर्स लोकप्रिय छन् भने पाका मतदाताबीच बुट्टजेज। बुट्टजेज समलिंगी हुन्।
स्यान्डर्सले अघि सारेको सबैका लागि स्वास्थ्योपचार यो चुनावको मुख्य मुद्दा बनेको छ। त्यस्तै उनले न्यूनतम ज्याला बढाएर प्रतिघण्टा १५ डलर पुर्याउनुपर्ने, कलेजहरुलाई ट्युसन शुल्क मुक्त गर्नुपर्नेजस्ता मुद्दा अघि सारेका छन्। उसो त स्यान्डर्सले यी मुद्दा हालैमात्र उठाएका होइनन्। उनी मेयर छँदैदेखि यी मुद्दाहरुलाई उठाउँदै आएका थिए र अहिले कतिपय अन्य उम्मेदवारले ती मुद्दालाई आफ्नो पनि बनाएका छन्।
बुट्टजेज भने कस्तो स्वास्थ्योपचार लिने भन्ने व्यक्तिले रोज्न पाउनुपर्ने बताउँछन्।
स्यान्डर्स आफूलाई डेमोक्रेटिक सोसलिस्ट बताउँछन्। र, यो दाबीमा उनी दशकौँदेखि अडिग छन्। अर्थात् उत्पादनका साथहरु कामदारको नियन्त्रणमा हुनुपर्ने सिद्धान्तलाई स्यान्डर्स स्वीकार गर्छन्। यद्यपि कम्युनिस्टहरुभन्दा अलग लोकतान्त्रिक प्रक्रियाबाटै समाजवाद प्राप्त हुनसक्ने उनीहरुको विश्वास छ। स्यान्डर्स पुँजीवाद र अर्बपतिहरुलाई खुल्लमखुल्ला चुनौती दिन्छन्।
बुट्टजेज भने मध्यपन्थी उम्मेदवार हुन्। उनी संस्थापनको निकट छन्। यसअघि उनले अमेरिकी सेनामा समेत काम गरिसकेका छन्।
स्यान्डर्सको चुनावी अभियान साना चन्दादातामा निर्भर छ। उनको अभियानलाई ७ लाखभन्दा बढी मानिसले औसतमा प्रतिव्यक्ति १९ डलरको हाराहारी चन्दा दिएका छन्। साना चन्दादाताबाटै स्यान्डर्सले प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी पैसा उठाएका छन्।
तर, बुट्टजेज अर्बपतिका प्रिय छन्। उनका सबैजसो खर्च करिब ४० अर्बपतिले धानिरहेका छन्।
तर, स्यान्डर्स आफैँ भने मिलियनायर हुन्। गत १० वर्षको कर तिरेको हिसाबले सन् २०१६ देखि २०१७ सम्ममा स्यान्डर्स दम्पत्तिले १० लाख डलरभन्दा बढी कमाइ गरेका छन्। मुख्यगरी पुस्तकबाट उनले यो कमाइ गरेका हुन्।
स्यान्डर्सलाई गत अक्टोबरमा हृदयाघात पनि भएको थियो।
स्यान्डर्सको क्रान्ति
स्यान्डर्स किन बलियो छन् त? किनभने उनीसँग इमानदार कार्यकर्ताहरुको ठूलो फौज छ। कतिपयले तिनलाई ‘बर्नी ब्रोज्’ भनेर आलोचना पनि गरिरहेका छन्। तिनले इन्टरनेटमा आफ्ना उम्मेदवारको विरोध सहन नसकेको, ट्रम्पका समर्थकझै अरुमाथि खनिएको आरोप बेहोरिरहेका छन्।
त्यतिमात्र होइन, संस्थापन पक्षले डेमोक्रेटिक पार्टीको उम्मेदवार बर्नी स्यान्डर्स चुनिए ट्रम्पले सजिलै चुनाव जित्ने दाबी पनि गरिरहेको छ। गएका महिना मूलधारका सञ्चारमाध्यममा स्यान्डर्सले चुनाव जित्नै नसक्ने दाबी गरिएका दर्जनौँ आलेख प्रकाशित भएका छन्। जसमा ट्रम्पले ‘समाजवादी’ भनेरै स्यान्डर्सलाई हराइदिने दाबी गरिएको छ।
तर, स्यान्डर्सप्रतिको समर्थन निकै गहिरो छ। बढ्दो आर्थिक असमानताले गाँज्दै लगेको अमेरिकामा सबैजसो राष्ट्रपति एक प्रतिशतको कठपुतली बन्ने गरेको आरोप लाग्दै आएको छ। तसर्थ यस घडीमा आर्थिक न्याय, समान वितरणको मुद्दा उठाउने उम्मेदवारलाई समाजको सबभन्दा तल्लो तहले समर्थन गर्नु स्वभाविक छ।
उसो त हेड टु हेड सर्वेक्षणको नतिजामा ट्रम्पभन्दा स्यान्डर्स अगाडि देखिएका छन्।
त्यसैले डेमोक्रेटिक पार्टीभित्रैबाट स्यान्डर्सलाई रोक्ने षड्यन्त्र हुने डर उनका समर्थकहरुमा छ। त्यसैले उनीहरुमध्ये ठूलो संख्या स्यान्डर्स उम्मेदवार नभए अन्य डेमोक्रेटिक उम्मेदवारलाई मत दिन्नौँ भन्छन्।
अमेरिकी समाजको तल्लो तहका सदस्यहरु एक समाजवादीलाई राष्ट्रपति मान्न तयार देखिँदा उपल्लो वर्गका शक्तिशाली र राजनीतिको संस्थापन भने स्यान्डर्ससँग तर्सिरहेको छ।
स्यान्डर्सका समर्थकका लागि यो चुनाव एउटा अभियान मात्र होइन, क्रान्ति नै हो। यद्यपि मात्र दुई वटा राज्यको नतिजाले स्यान्डर्सको उम्मेदवारीको टुंगो लगाउँदैन। किनभने उनले अझै लामो यात्रा गर्न बाँकी नै छ।
–एजेन्सी
प्रतिक्रिया