राजनीति


छोरा थुनिएपछि राजनीतिबाटै टाढिए महरा

छोरा थुनिएपछि राजनीतिबाटै टाढिए महरा

सागर न्यौपाने
माघ १७, २०८० बुधबार ७:१६, काठमाडौँ

कुनै समय माओवादी केन्द्रका सबभन्दा चर्चित नेतामध्येमा पर्थे कृष्णबहादुर महरा। ३२ वर्षको उमेरमा संयुक्त जनमोर्चाबाट सांसद चुनिएका उनको राजनीतिक उन्नतिको गति हेरेर मान्छे छक्क पर्थे। 

युद्धकालमा माओवादीका तर्फबाट वार्ताटोलीका संयोजक बनेपछि उनको नाम प्रायः सबैले सुने। माओवादी सत्तामा पुगेपछि महरा निरन्तर लाभको पदमा रहे। ६ पटक मन्त्री बने, सभामुखमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनैलाई रोजे।

संगठन निर्माण र पार्टीका नेताहरु मिलाउन खप्पिस मानिने महरा यतिबेला भने गुमनाम छन्। पार्टीको उपाध्यक्ष र तेस्रो वरीयताको नेता भए पनि उनी राजनीतिक रुपमा निष्क्रिय छन्। केही महिनायता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

यतिसम्म कि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समिति बैठकमा पनि उनी पुग्दैनन्।

उनी निकट स्रोतका अनुसार छोरा राहुल महरा सुन तस्करी प्रकरणमा समातिएपछि महरा निराश छन्।

९ किलो सुन तस्करी प्रकरणमा गत भदौ १३ गते काठमाडौँबाट पक्राउ परेका राहुल महरालाई असोज २६ गते काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।  

सुन तस्करीमा राहुल संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै अदालतले थुनामा पठाएपछि महराको उत्साह मरेको छ।

२०७९ पुस १० मा फ्लाइ दुबईबाट काठमाडौँ आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महराको बयान पनि लिएको थियो। तर, सीआईबीले महरालाई प्रतिवादी नबनाए पनि छोरा राहुलको संलग्नता रहेको भन्दै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार रहेकै बेला छोरा पक्राउ परेपछि महरा राजनीतिक कार्यक्रममा देखिन छोडेका हुन्।

तर, उनले ‘स्वास्थ्य अवस्थाका कारण’ उपस्थित हुन नसकेको भन्ने गरेका छन्।

‘उहाँ राजधानीमै हुनुहुन्छ। तर स्वास्थ्य समस्याका कारण सक्रिय रुपमा औपचारिक कार्यक्रममा निस्कन सक्नुभएको छैन,’ माओवादीको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले नेपालखबरसँग भने, ‘युरिक एसिड, खुट्टा सुन्निने, अक्सिजन कमी लगायत समस्या उहाँमा देखिएको छ।’

माओवादीले कात्तिक, मंसिर र पुस १६ गतेसम्म गरेको तीन महिनाको अभियानमा पनि उनी खासै सहभागी भएनन्।

‘एकदुई पटक दाङ गएर आउनुबाहेक थोरै कार्यक्रममा मात्र उहाँ सहभागी हुनुभएको साँचो हो,’ उनले थपे।

तर, माओवादीका एक पदाधिकारीले महरा राजनीतिक कार्यक्रममा सक्रिय नभएको महिनौँ नाघिसकेको बताए।

‘आफ्नै केस, छोराको केस लगायतले उहाँलाई ठूलै आघात पारेको जस्तो पनि देखिन्छ,’ ती पदाधिकारीले भने, यद्यपि, उपचारबाट निको हुँदै गएको जानकारी पाएका छौँ।’ 

नेपालखबरले महरालाई सम्पर्क गर्दा आफू ‘आराम गर्न’ गाउँ पुगेको जवाफ दिए।

‘स्वास्थ्य अवस्थाले १/२ महिनादेखि पार्टी काममा सक्रिय हुन सकेको छैन,’ महराले नेपालखबरसँग भने, ‘अहिले म रिफ्रेस हुन दाङको गाउँगाउँ डुलिरहेको छु।’

स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताए।

‘यहीँका जनता भेटेर म स्वास्थ्य लाभ गरिरहेको छु, अहिले स्वास्थ्यमा सुधार हुँदै गएको छ,’ उनले थपे।

कार्यालयका सचिव उपाध्यायले महरा अहिले विभिन्न दलसँग पार्टीको एकता पहलमा जुटेको दाबी गरे।

‘उहाँ भौतिक रुपमा बैठकहरुमा सहभागी नहुनुभएको केही समय भएको छ,’ उपाध्यायले भने, ‘विभिन्न पार्टीसँग एकता पहलमा हुनुहुन्छ। उहाँको जिम्मेवारी बाबुराम भट्टराई, नेत्र विक्रम चन्द विप्लव लगायतका दलसँग एकता पहल गर्नेमा छ।’

‘कमब्याक’को असफल प्रयास
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगको आरोप लागेपछि २०७६ असोज १४ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए। 

२०७६ कात्तिक १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दियो। महरा डिल्लीबजार कारागारमा थुनामा गए।  

तर, केही महिना जेल बसेपछि सोही वर्षको फागुन ५ मा अदालतले उनलाई सफाइ दियो। महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन्।

जबर्जस्ती करणी उद्योग मुद्दामा पक्राउ परेपछि धेरैले महराको राजनीतिक जीवन समाप्त भएको अनुमान गरेका थिए। तर, सफाइ पाएपछि उनले राजनीतिमा पुनः सक्रिय हुने कोसिस गरे। २०७९ असार २३ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको उपाध्यक्ष र प्रवक्ता पनि बनायो। तर, प्रवक्ताको जिम्मेवारी एक महिनामै खोसियो।

तैपनि माओवादी घटकहरुलाई मिलाउने भन्दै उनी सक्रिय थिए। सुन तस्करीमा उनको र छोरा राहुलको नाम जोडिएपछि उनी आफैँ राजनीतिक गतिविधिबाट टाढिएका छन्।

एकपछि अर्को अवसर
माओवादीमा सबैभन्दा बढी अवसर पाउने नेताका रुपमा चिनिन्छन् महरा। जनयुद्धदेखि नै उनी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्थे।

राजनीतिक जोडघटाउ आफ्नो पक्षमा पार्न सक्ने चतुर खेलाडी, कुशल संगठक र प्रखर वक्ताको छवि उनले बनाएका थिए।

०६२/०६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो। संसदमा माओवादी थपिए। अन्तरिम सरकारमा महराकै नेतृत्वमा माओवादी सहभागी भयो। उनी माओवादीभित्र सबैभन्दा बढी ६ पटक मन्त्री बनेका छन्। 

उनी पहिलो पटक २०६३ चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महरा सूचना तथा सञ्चार मन्त्री बने। २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकार बन्दा महरा फेरि सूचना तथा सञ्चार मन्त्री बने। 

२०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री एवं गृह मन्त्री बने। २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं अर्थमन्त्री बन्ने अवसर उनैले पाए।

फेरि २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनले उपप्रधान एवं परराष्ट्रमन्त्री बन्ने मौका पाए।

यस्तै, सवैधानिक पदमध्येको महत्वपूर्ण मानिने सभामुख बन्ने अवसर पनि उनैले पाए।२०७४ मंसिरमा भएको प्रतिनिधि सभाको चुनावमा दाङ क्षेत्र नम्बर २ बाट जितेपछि २०७४ को फागुनदेखि उनी सभामुख बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .