राजनीति


रास्वपा : उत्साह घट्यो, असन्तुष्टि बढ्यो

रास्वपा : उत्साह घट्यो, असन्तुष्टि बढ्यो

सागर न्यौपाने
पुस २७, २०८० शुक्रबार २१:५२, काठमाडौँ

आठ महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बन्न दैनिक एक हजार जनासम्मले अनलाइन फाराम भर्ने गरेका थिए।

चुनावमा नचिताएको सफलतापछि देशभर ‘नयाँ पार्टी’ को लहर आएको थियो। पुराना दलका नेता सो पार्टीमा प्रवेश गर्न थालेका थिए। 

पार्टीका नेता–कार्यकर्तामा आत्मविश्वास यति बढेको थियो–सभापति रवि लामिछानेले पुराना दललाई चुनौती दिएका थिए– ‘जे गर्ने हो अहिल्यै गर्नुस्। ०८४ पछि यो अवसर पाउनुहुन्न।’

तर, त्यो जोस अहिले रास्वपामा छैन। शीर्ष नेताहरु एकपछि अर्को विवादमा मुछिँदै गएको र पार्टीको आगामी बाटो स्पष्ट नभएकाले वर्ष दिनअघिको उत्साह बाँकी नरहेको नेताहरु बताउँछन्।

पार्टी प्रवेश गर्नेहरुको संख्या घट्नुका साथै सभापति लामिछाने निकटस्थ व्यक्तिहरुप्रति असन्तुष्टि पनि चुलिँदै गएको उनीहरुको भनाइ छ। 

यसैगरी पदाधिकारी चयनको विषयले पनि पार्टीभित्र नेताहरू असन्तुष्ट छन्। रास्वपा गठनदेखि सक्रिय रहेका केही नेतालाई पदाधिकारी नबनाएपछि उनीहरू रुष्ट छन्। यद्यपि उनीहरूले खुलेर राख्न सकेका छैनन्। तर पदाधिकारी चयनको विधिप्रति प्रश्न उठाएका छन्।

२०७९ असार ७ गते गठित रास्वपाले मंसिरको चुनावमा प्रतिनिधि सभामा २० सिट जितेको थियो। वैशाखमा भएको उपचुनावमा समेत तनहुँ–१ मा रास्वपाले नै जितेको थियो भने चितवन–२ पनि जोगाएको थियो।

पछिल्लो समय विवादहरुले गर्दा पार्टीमा नयाँ मानिस प्रवेश रोकिएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए।

‘पार्टीमा नयाँ मानिसको प्रवेश ठप्प जस्तै छ,’ ती नेताले नेपालखबरसँग भने, ‘पार्टीभित्रका नेताहरुको विगतका  विवादित विषयले पार्टीमा नयाँ र चलायमान व्यक्ति आउने क्रम रोकिएको देखिन्छ।’

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको थियो।

श्रेष्ठलाई रास्वपाले जिम्मेवारीबाट हटाए पनि उनले नराम्रो छाप छोडेको ती नेताले बताए।

‘उहाँले गण्डकीमै पहिलो पटक संगठन बनाउनुभएको हो, उहाँकै कारण कति साथी पार्टीमा जोडिनुभयो। तर, त्यस्तो घटनाले क्षति गर्यो,’ उनले थपे। 

ढाकाले सभापति लामिछानेको ‘कोर टिम’ ले आफूसँग पैसा मागेको प्रष्टिकरण दिए। पारदर्शिताको नारा लगाउँदै आएको सो पार्टीका लागि सो आरोप ठूलो झट्का थियो। त्यसपछि अन्य विवाद पनि बाहिरिन थाले। सभापति लामिछाने सहकारीको रकम अपचलनका आरोपितसँग व्यावसायिक साझेदारी गरेका कारण विवादमा मुछिएका छन्।

कयौँ सहकारी सञ्चालन गरिरहेका जीबी राई देशभरका सहकारीहरुबाट सर्वसाधारणसँग उठाएको करोडौँ रकम अपचलन गरेर बेपत्ता छन्। सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा समेत लगानी गरेका राईले सो टेलिभिजनमा लामिछानेलाई पनि सेयर दिएका थिए। राई फरार भएपछि सभापति लामिछानेतिर पनि प्रश्न सोझिएका छन्।

डुबेको रकम फिर्ताको पहल गर्न बचतकर्ताले लामिछानेसँग पटक–पटक अनुनय गरिसकेका छन्। लामिछाने भने आफ्नो कुनै संलग्नता नरहेको भन्दै पन्छिँदै आएका छन्।

‘प्रश्न उठेपछि त्यसको समाधान तत्काल दिएन भने सिलसिला रोकिँदो रहेनछ। जनताले हामीबाट यस्तो अवस्थामा केही उद्धार होला भनेर सोचेका छन्, यसको निकास मानिसहरु कुरिरहेका छन्,’ ती केन्द्रीय सदस्यले भने, ‘हिजो पत्रकार हुँदा रविजीले टेलिभिजन कार्यक्रमबाटै धेरैको उद्धार गर्नुभएको हो। सरकारले नसकेको काम उहाँले नै गर्नुहुन्थ्यो, अहिले त उहाँ पूर्वगृहमन्त्री र सांसद हो। सहकारीपीडितको माग सम्बोधन गर्नुपर्यो नि!’

उसो त सभापति लामिछाने विवादमा परेको अहिले मात्र होइन। गत वर्षको आम निर्वाचनपछि नागरिकता प्रकरणले गृहमन्त्री र सांसद पद नै उनले गुमाउनु परेको थियो।

त्यस्तै, पार्टीमा नयाँ कार्यक्रम नहुँदा सुरुवातको जस्तो आकर्षण नभएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। 

चुनावमा नयाँ दल भएकैले जनताले साथ दिए पनि जनताको चाहना अनुसारको कार्यक्रम नबनाए विश्वास जित्न गाह्रो हुने उनको भनाइ छ।

‘जति चर्चा पहिले थियो, त्यो घटेको निश्चित हो,’ कार्कीले भने, ‘कुहिरोमा हराएको जस्तो होइन, चुनावताका एकदमै सक्रिय थियो। अहिले त्यति नभए पनि निष्क्रिय नै भएको होइन। केही न केही गरिरहेकै छौँ।’

सभापछि लामिछानेको कार्यशैलीप्रति पनि रास्वपा नेताहरुमा असन्तुष्टि देखिएको छ। पार्टीका हरेकजसो निर्णय सभापति लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री डा. मुकुल ढकालले गर्ने गरेको रास्वपाका एक पदाधिकारीले नेपालखबरलाई बताए।

‘निर्णय प्रक्रियामा उहाँहरु हाबी हुनुहुन्छ। महामन्त्रीले एजेन्डा राख्नुहुन्छ, सभापतिले त्यसको व्याख्या गर्नुहुन्छ। हललाई पास गरौँ भन्नुहुन्छ। पास हुन्छ। कसैले प्रश्नै उठाउँदैन,’ उनको भनाइ छ, ‘केन्द्रीय समितिमा पनि एकल निर्णय हुन्छ।’

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ भने भरखरै पार्टी निर्माणको प्रक्रिया अघि बढेको हुनाले केही चुनौती देखिएको बताउँछन्।

‘आम नागरिकमा चुनावताकाको पहिलो वर्षजस्तो क्रेज नदेखिएको साँचो हो,’ श्रेष्ठले भने, ‘७० वर्ष पुरानो पार्टीभन्दा रास्वपा फरक कसरी हो भनेर देखाउनैपर्ने चुनौती छ।’ 

उनका अनुसार पार्टी बनाउन आवश्यक तीन कुरामा अहिले गृहकार्य भइरहेको छ। 

‘राजनीतिक दल भएपछि विचार, कार्यक्रम र संगठन चाहिन्छ, अहिले हामी यही बनाउँदै छौँ। हामी पहिले नै विचार, कार्यक्रम र संगठन बनाएर आएका होइनौँ। गर्दै, सिक्दै र सुधार गर्दै यहाँसम्म पुग्यौँ। यसलाई जोगाउन नयाँ कार्यक्रम चाहिन्छ। पुरानै शैलीले बन्दैन,’ उनले भने।

महामन्त्री डा. मुकुल ढकालले अहिले देशव्यापी वडाअधिवेशन भइरहेको बताए। संगठन बनाउने शैली निकै नयाँ र वैज्ञानिक रहेको ढकालले दाबी गरे।

तर, केन्द्रीय सदस्य कार्की भने त्यसलाई मान्न तयार छैनन्।

केही अभ्यास नयाँ भए पनि अधिवेशन विधि नै मानिसलाई आकर्षित खालको नभएको उनको भनाइ छ। 

‘पुरानै दलको पदचाप पछ्याएको जस्तो देखियो, नेताहरु दिनरात कुदिरहनुभएकै छ तर संगठन बनाउने ढाँचा उस्तै लाग्छ। नयाँ कार्यक्रम आएनन्,’ कार्कीले भने, ‘समग्रमा सुस्त रुपमा काम भइरहेको छ। प्राथमिकता कुन कुरालाई दिने भन्ने कुरा प्रष्ट नभएको हो।’

राजनीतिक दलका रुपमा रास्वपाको भविष्य एजेन्डामा भर पर्ने उनको भनाइ छ।

‘जे एजेन्डा बोकेर रास्वपा उदाएको हो, त्यसलाई निरन्तरता दिइराखेर मात्र भविष्य निर्धारण हुन्छ,’ कार्कीले भने, ‘विगतमा हामीले सरकारमा गएर पनि गलत गरेको जनतामा परेको हुनसक्छ।’

संसदमा भने रास्वपाका सांसदको भूमिका अब्बल रहेको उनीहरुको भनाइ छ।

‘सांसदका रुपमा खेल्नुपर्ने भूमिका खेल्नुभएकै छ,’ दलका उपनेता श्रेष्ठले भने, ‘कुनै कुनै विधेयकमा हाम्रै विशिष्टता पनि देखाएका छौँ।’

रास्वपालाई मार्गनिर्देशन गर्ने व्यक्तिको जरुरी रहेको केन्द्रीय सदस्य कार्की बताउँछन्।  

‘पार्टीमा आलोचना गर्ने समर्थक चाहिन्छ। हामीले गलत गर्दा शिष्ट शैलीमा सच्याइदिने समर्थक बनाउन सकेका रहेनछौँ। त्यो अभाव देखिन्छ,’ उनले भने।

रास्वपाले आगामी प्रतिनिधि सभा निर्वाचनमा अन्य दलहरुलाई चुनौती दिने दाबी गर्दै आएको छ। त्यसका लागि ‘मिसन ०८४’ अभियान सञ्चालन गरिरहेको छ।

तर, प्रचारले मात्र नपुग्ने श्रेष्ठ बताउँछन्।

‘हामीले के के गर्ने हो, कुन कार्यक्रम अघि सार्ने हो, अहिले नै लिएर जनताकहाँ जानुपर्छ,’ श्रेष्ठले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .