ad ad

राजनीति


म जहाँजहाँ पुग्छु, ‘राजा आऊ देश बचाऊ’ भनेको सुन्दै छु : ज्ञानेन्द्र शाह

म जहाँजहाँ पुग्छु, ‘राजा आऊ देश बचाऊ’ भनेको सुन्दै छु : ज्ञानेन्द्र शाह

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार १७:१०, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार रुपन्देहीको भैरहवा पुगेर राजनीतिक सन्देश दिएका छन्। 

भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधनका क्रममा शाहले अहिले नेपालीहरू कताकता हराइरहेको, कताकता हारिरहेको पनि बताएका छन्। 

‘नेपाल बुद्ध जन्मेको देश, सगरमाथाको देश, सनातनी वैदिक संस्कृति, विविध धर्म र सभ्यताको देश’, उनले भने, ‘अनि अनेक स्रोतसाधन, सम्पदाले भरिपूर्ण समृद्धशाली देश। यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौँ, कताकता आफैँ हारिरहेका छौँ।’

अहिलेको राजनीतिक व्यवस्थाप्रति जनतामा वितृष्णा देखिन थालेको पनि उनले बताएका छन्। त्यही कारण देशमा जहाँ पुगे पनि जनताले आफ्नो खोजी गर्न थालेको टिप्पणी उनले गरे। 

‘म जता जाऊँ, जहाँ पुगौं जनआवाज उठेको सुन्छु। मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ, देशको सभ्यता र समृद्धि बढाऊ, यहाँ खडा भएर म भन्दछु, म बोलिरहेछु, बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु’, उनले भने, ‘म कतै अन्त गएको छैन। सदा सदा नेपालीका साथमा छु। नेपालभित्रै छु। नेपालीको सुखदुःख, सुविधा-असुविधा, बाधापीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।’

शाहले समाज, कानुन र व्यवस्थाबिना अस्तित्वमा रहन नसकिने बताएका छन्। ‘देश सुहाउँदो र बलियो आविष्कारमार्फत् अगाडि बढ्नुपर्छ। तर आज देश जर्जर भएको छ। बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौँ युवा जनशक्ति विदेशिएको छ’, उनले भनेका छन्, ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो। यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ।’

सम्बोधनका क्रममा उनले देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्ने बताए।

‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्दछ’, उनले भनेका छन्, ‘राष्ट्रिय उत्साह प्रतिभाको महान् निवास हो। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ।’

उनले राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको बताए।

‘हाम्रा बूढापाका, अनुभवीहरूको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमा खिया लाग्दै गइरहेको छ। हामी झन् परावलम्बी र परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौं। हाम्रो विचारमा हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन,’  शाहले भने, ‘सदाचारी राजनीतिको युग बितिसकेको छ। हामी चिसो बहानामा बाँचिरहेका छौँ। नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँबायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ।’

नेपालको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत् प्रकृयामा हामी नेपालीकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्भव भएको उनले बताए।

‘त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ। त्यो हामी आफैले तय गर्ने विषय हो। हामी सबैको दृढ प्रयत्न यसैअनुरुप हुनुपर्दछ भन्ने हामीलाई लाग्दछ’, उनले भनेका छन्। 

उनले अब सबै नेपाली एकै ठाउँ उभिने बेला भएको बताएका छन्।

‘अब हामी सबै एकै ठाउँमा उभिऊँ अनि सोचौँ। सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ। देश हामीले नै बनाउने हो। हाम्रै स्रोतसाधन परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो’, उनले भनेका छन्, ‘हामी मात्रै ठीक अरू बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरूको कुबाटो भन्ने द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख, शान्ति यसैमा छ।’

उनले सम्बोधनको अन्त्यमा एउटा कविता पनि सुनाएका छन्- 

विगतको सबै दुःख बिर्सिदेऊ मायाले मायालाई भरिदेऊ
घृणाको आगोलाई कर्त जलाइदेऊ
पहिले यो आगोलाई मिलेर निभाइदेऊ
भाग्यको सीमा हँदैन, हुनु पनि हुँदैन, अब भाँचिएको टुक्राहरू जोडिदेऊ
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने, पहिले अन्याय अत्याचार मुक्त गरिदेऊ
अनुहार फेरिफेरि षड्यन्त्र नगर
त्यस्ताको चालबाट आफूलाई बचाइदेऊ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .