ad ad

राजनीति


दरबारका हुक्के र चम्चेबाहेक कोही राजतन्त्रको पक्षमा छैनन् : वर्षमान पुन

दरबारका हुक्के र चम्चेबाहेक कोही राजतन्त्रको पक्षमा छैनन् : वर्षमान पुन

माओवादी उपमहासचिव वर्षमान पुन। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १६:३, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको बताएका छन्। 

पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार ललितपुरको लगनखेलमा गरेको कार्यक्रममा उनले इतिहास भइसकेको वंश परम्परा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने उल्लेख गरे। 

निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै पुनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको पुनले चर्चा गरे। 

‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरुले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए। तिनीहरु स्वभाविक रुपले राजतन्त्रकै निरन्तरता चाहन्थे’, पुनले भने, ‘वंशाणुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरुले राजतन्त्र चाहिन्छ भन्नुलाई विकल्कुल अस्वभाविक मान्नु पर्दैन।’ 

पुनले राजतन्त्रमा जनताले राज्यका लाभ नपाएको स्पष्ट रहेको भन्दै आमजनता गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा रहेको दाबी गरे। 

‘सधैँ राजतन्त्रबाट लाभ लिएकको वर्ग र समुदायले गणतन्त्र भत्काउन पाए फेरि गुमेको स्वर्ग फर्कन्थ्यो कि भन्ने ठान्नु अन्यथा होइन’, उनले भने, ‘त्यो वर्ग र शक्ति आज असान्दर्भिक भइसकेको छ।’ 

गणतन्त्र, संविधान, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका राजनीतिक उपलब्धी बचाउनु माओवादीसहित १२ बुँदे समझदारी, ०६२/०६३ को जनआन्दोलन शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सहभागी मुलधारका राजनीतिक दलहरुको दायित्व भएको पुनले बताए। 

आधुनिक नेपालको राजनीति १२ बुँदे समझदारीको जगबाट अघि बढेकाले त्यस पक्षधर शत्तिहरुबीच दैनन्दिनका राजनीतिक एजेण्डामा विमति भए पनि उपलब्धी बचाउने सवालमा समानता रहेको उनले बताए।

‘आजको राजनीति गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताको र सामाजिक न्यायको राजनीति हो। यसलाई समर्थन गर्ने मुलधारका राजनीतिक शक्तिहरुले यी परिवर्तनका आधार स्तम्भहरुलाई थप विकास, सुदृढ र परिस्कृत गर्दै जाँदा जनताको म्याण्डेटबाट गलहत्याइएको राजतन्त्र फर्कने कुनै गुञ्जायास छैन’, पुनले भने। 

३० वर्षे पञ्चायतभन्दा बहुदलका समयमा र बहुदलभन्दा गणतन्त्रको १६ वर्षमा स्वास्थ्य, शिक्षा, सडक, भौतिक पूर्वाधारसहित विकासका सबै सूचकांकमा चार गुणभन्दा बढी प्रगति भएको आँकडाले नै पुष्टि गरेको भन्दै उनले ‘केही पनि भएको छैन भन्ने’ पश्चगामीहरुले  फैलाउन खोजेको भ्रम मात्र भएको टिप्पणी गरे। 

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगमार्फत समाजमा नकारात्ममकता फैलाउने प्रवृत्ति देखिएको उनले औंल्याए। 
यद्यपि जनताले छिटो विकासको आकांक्षाका आधारमा भएका गरेका सकारात्मक आलोचानलाई सरकार र दलहरुले आत्मसात गर्नुपर्नेमा भने पुनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .