गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबाट असन्तुष्ट भई नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको पक्षले पदभार ग्रहण गरेको छ।
सोमबार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यालयमा गई पदाधिकारीहरूले एक अर्कालाई खादा लगाइदिँदै बधाई र शुभकामना साटेका हुन्।
छोटो कार्यक्रमपछि काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि निश्चित समूहले संस्थालाई आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने कार्य गरेको अहिले प्रमाणित भएको बताए।
आफूहरूसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले पनि धाँदली भएको पुष्टि गरेको उनले बताए।
शर्माले पुनः मतदान गर्ने भए आफू अझै तयार रहेको बताएका छन्। संस्थाले केही गुट र सीमित व्यक्तिको हितमा कम गर्न नहुनेमा उनले जोड दिए।
‘विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने जस्तो शंका थियो। त्यो शंका अहिलेको महाधिवेशनमा भेरोबाट भोटिङ गर्दा प्रमाणित भएको छ,’ शर्मा भन्छन्, ‘हामीसँग सम्झौता भएको १२ घण्टा नबित्दै शपथ खानुभयो। बद्री केसीज्यूलाई अझै भन्छु, रि भोटिङ गरौँ, म जहिले पनि तयार छु, होइन भने दम्भले अड्काएर राख्नु हुँदैन।’
शर्मा थप्छन्, ‘संस्थाले केही गुट र सीमित मानिसको हितमा काम गर्ने होइन। साझा हित हुनेगरी काम गर्नुपर्छ। गैरआवासीयको हितमा काम गर्नुपर्छ। यो विद्रोह संस्था बचाउनका लागि हो।’
Shares
प्रतिक्रिया