ad ad

राजनीति


प्यालेस्टाइनी अस्पतालमा भएको इजरायली आक्रमण अमानवीय नरसंहार : मसाल

प्यालेस्टाइनी अस्पतालमा भएको इजरायली आक्रमण अमानवीय नरसंहार : मसाल

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १५:३३, काठमाडौँ

नेकपा (मसाल) ले इजरायलद्वारा प्यालेस्टाइनको गाजापट्टीस्थित एक अस्पतालमा भएको आक्रमणलाई ‘अमानवीय नरसंहार’ भनेको छ।

मसालले अमेरिकी साम्राज्यवादका कारणले नै त्यहाँ युद्ध भइरहेको ठहर पनि गरेको छ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा शुक्रबार जारी वक्तव्यमा प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई पार्टीले समर्थन गर्ने स्पष्ट पारिएको छ।

यद्यपी मसालले हमास समूहले नेपालीसहित निहत्था व्यक्तिहरुको हत्या गरेर ‘आतंकबादी गतिविधि’ गरेको जनाएको छ।

मसालले प्यालेस्टाइनी जनताको अधिकार र इजरायलले गरेको अमानवीय नरसंहारविरुद्ध संसारभरीबाट आवाज उठाउनुपर्नेमा जोड दिएको छ।

यस्तो छ, वक्तव्यको पूर्ण पाठ
गाजापट्टीको एउटा अस्पतालमा भएको बमबारी र त्यहाँ ५ सयभन्दा बढी बिरामी, महिला र बालबालिकासमेतको हत्या निश्चित रूपले इतिहासको नै अत्यन्त ठुलो अमानवीय नरसंहार हो। त्यो घटनाको लागि हामीले मृत सबै व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै त्यो बमबारीका लागि जिम्मेवार पक्षप्रति घोर निन्दा र भर्त्सना गर्दछौँ।

गाँजापट्टीमा भएको त्यो नरसंहारका लागि इजरायल र अमेरिका पक्षले हमासलाई नै जिम्मेवार बताइरहेका छन् तर स्वयम् हमासले नै आफ्नो भूमिमा त्यस प्रकारको हमला गरेको आरोप लगाउनुका पछाडि अलिकति पनि सत्यता देखिँदैन। त्यसैले यो सोच्नका लागि पूरा आधार छ कि त्यो हमला इजरायल पक्षद्वारा नै गरिएको हो। उनीहरूले गाजामाथि लगातार हमला गरिरहेका छन् र त्यसको एउटा कडी त्यहाँको अस्पतालमाथिको हमला हो भनेर निष्कर्ष निकाल्नका लागि पूरा आधार छ।

हामीले पहिले नै यो स्पष्ट गरिसकेका छौँ कि हमासद्वारा इजरायलका निरपराध वा निशस्त्र जनतामाथि गरिएको आतङ्कवादी हमला गलत थियो र त्यसको हाम्रो पार्टीले निन्दा गरिसकेको छ तर त्यो कारणले गाजापट्टीमा इजरायलले जुन नरसंहार गरिरहेको छ, त्यसलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न। अहिले गाँजापट्टीमा भइरहेको युद्ध इतिहासमा प्यालिस्टाइनमाथि भएको बर्बर र अन्यायपूर्ण कारबाहीसित जोडिएको छ, जुन बेला लाखौँ प्यालिस्टाइनीलाई आफ्नो भूमिबाट जबरजस्ती हटाइएको थियो र उनीहरूलाई खाडीका विभिन्न देशमा आश्रयहीन तथा शरणार्थी भएर बस्न बाध्य गरिएको थियो। उनीहरूले आफ्नो भूमिमा पुनः फर्केर जानका लागि मुक्ति आन्दोलन चलाउँछन् भने त्यसलाई कुनै पनि अवस्थामा गलत भन्न सकिन्न। त्यसैले हामीले प्यालिस्टाइनका जनताले चलाइरहेको मुक्ति आन्दोलनलाई सधैँ दृढतापूर्वक समर्थन गर्दै आएको छौँ।

आज इजराइलले सामान्यतः गाजापट्टीमाथि तथा विशेषतस् सम्पूर्ण प्यालिस्टीयन जनतामाथि जुन हमला गरिरहेको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ। यो कुरा दिनको उज्यालो झै छर्लङ्ग छ कि गाँजापट्टी वा प्यालेस्टाइनी जनतामाथि इजराइलले गरेको हमलाका लागि इजरायलभन्दा बढी जिम्मेवार अमेरिकी साम्राज्यवाद नै छ। प्यालेस्टाइनी जनतामाथि इजरायलले गरेको हमला अमेरिकी साम्राज्यवादद्वारा संसारभरि गरिरहेको उत्पीडन तथा हमलाको एउटा अङ्ग हो। त्यसैले अमेरिका र सबै साम्राज्यवादी शक्तिका विरुद्ध सङ्घर्ष गरेर नै अमेरिकी साम्राज्यवादको त्यस प्रकारको विश्वव्यापी उत्पीडन र हमलालाई रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ।

यो स्वागतयोग्य कुरा हो कि प्यालेस्टाइनी जनतामाथि इजरायल र अमेरिकी साम्राज्यवादले गरिरहेको हमलाका विरुद्ध कैयौँ अरब राष्ट्र पनि उठ्न थालेका छन् र इजरायलको त्यो हमलाका विरुद्ध विश्वव्यापी रूपमा प्रदर्शन भइरहेका छन् तर हामीले यो स्पष्ट गर्न चाहान्छौँ कि प्यालिस्टाइनका जनतामाथि इजरायलद्वारा भइरहेको हमला खालि एउटा मुस्लिम प्रश्न मात्र होइन र यो साम्राज्यवादका विरुद्धको सङ्घर्षको विश्वव्यापी समस्या हो। त्यसैले प्यालेस्टाइनी जनतामाथि भइरहेको साम्राज्यवादी हमलाका विरुद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी जनता उठ्नुपर्ने आजको ऐतिहासिक र अन्तराष्ट्रिय आवश्यकता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .