ad ad

राजनीति


चीनबाट फर्केपछि प्रचण्डले बीआरआई उच्चारण नै गरेनन्, मुख्य उपलब्धि प्रसारणलाइन

विमानस्थलमा प्रधानमन्त्रीले गरेका ६ संकेत
चीनबाट फर्केपछि प्रचण्डले बीआरआई उच्चारण नै गरेनन्, मुख्य उपलब्धि प्रसारणलाइन

नेपालखबर
असोज १३, २०८० शनिबार १५:४४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १५ दिनको पट्यारलाग्दो विदेश भ्रमणबाट शनिबार स्वदेश फर्किएका छन्। 

केही महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका मन्त्रिपरिषद्‌का सदस्य तथा उच्च प्रशासकहरुसहित उनी भदौ ३० गते संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन अमेरिकाका लागि प्रस्थान गरेका थिए। 

अमेरिकाबाटै उनी चीनतिर लागे। असोज ६ गते सुरु भएको चीन भ्रमण सकेर बल्ल स्वदेश फर्किएका हुन्। कस्तो रह्यो त चीन भ्रमण?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा दिएको उनकै वक्तव्यले गरेका संकेत ६ वटा बुँदामा:

१. प्रश्नोत्तरमा अनिच्छुक
प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुबाट शनिबार बिहान ११ः२० मा काठमाडौं अवतरण गरे। स्वागत सत्कार खाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आइपुग्दा ५० मिनेट बित्यो। १२ः१० मा उनी लिखित वक्तव्यका साथ प्रस्तुत भए। आफ्नो ४० बुँदे लिखित वक्तव्यमै सीमित रहे। प्रश्नोत्तरमा खासै इच्छुक देखिएनन्। सञ्चारकर्मीका धेरै जिज्ञासाको प्रस्ट जवाफ दिएनन्। 

यसअघि पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले चीनबाट फर्केपछि यही विमानस्थलमा दिएको अभिव्यक्ति विवादित भएको थियो। त्यतिखेर उनले ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन मात्र आफू चीन गएको तर पहिलो औपचारिक भ्रमण भारतमै गर्ने भनेका थिए।

२. चीन भ्रमणलाई प्राथमिकता
प्रधानमन्त्री प्रचण्ड भदौ ३० मा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए। पहिला अमेरिका गएका भए पनि वक्तव्यमा भने उनले चीनको प्रसंगलाई मुख्य प्राथमिकता दिए। ‘सर्वप्रथम म मित्रराष्ट्र चीनको भ्रमणबाट सुरु गर्न चाहन्छु’ भनेरै उनले वक्तव्य दएिका थिए।

चीन भ्रमणको विवरण सकिएपछि न्युयोर्कमा आफूले गरेका कामको बयान गरे। 

सीमा जोडिएको चीन जान पनि अमेरिकाको बाटो रोजेको र चीनलाई उचित प्राथमिकता र महत्त्व नदिएको भनेर प्रचण्डले आलोचना खेपेका थिए।

३. ‘मुख्य उपलब्धि प्रसारणलाइन’
प्रधानमन्त्री प्रचण्डले सीमापार प्रसारण लाइन निर्माणलाइन निर्माणका सम्बन्धमा भएको कुराकानीलाई मुख्य उपलब्धिका रुपमा प्रस्तुत गरेका छन्।

चिनियाँ समकक्षीसँग भएको द्विपक्षीय वार्तामा ‘मुख्यतः नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारणलाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानहरुमा सौर्य प्रणाली जडान... लगायतका विषयमा गहन छलफल’ गरिएको उनको भनाइ थियो। 

दुई देशको संयुक्त वक्तव्यको सातौँ बुँदामा केरुङ–रसुवागढी–चिलिमे १२० केभी क्षमताको सीमापार विद्युत प्रसारणलाइनको निर्माण यथाशीघ्र मितिमा सुरु गर्ने उल्लेख छ।  

४. बीआरआईको नामै लिएनन् 
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ समकक्षी ली छियाङ नेतृत्वको प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङमा द्विपक्षीय औपचारिक वार्ता भएको थियो। वार्तापछि असोज ९ गते १३ बुँदे संयुक्त वक्तव्य पनि जारी गरियो। 

वक्तव्यमा भएका धेरै प्रसंग प्रचण्डले आफ्नो भ्रमणको उपलब्धिका रुपमा विमानस्थलमा दोहोर्‍याएका छन्। तर बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे उनले एक शब्द पनि उच्चारण गरेनन्। 

जबकि, वक्तव्यको सातौँ बुँदामा बीआराई कार्यान्वयनमा दुवै देश प्रतिबद्ध रहेको र यसको योजना यथाशीघ्र टुंग्याउने उल्लेख गरिएको छ।

५. तिब्बत भ्रमण ‘परम्परा’
चीनको हाङजाओमा एसियाली खेलकुदको उद्घाटन समारोह थियो। आफ्नो खास भ्रमण यही सन्दर्भमा भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट पनि उनले हाङजाओमै गरेका थिए। त्यसपछि दुई देशबीच औपचारिक संवाद र सहमतिका कार्यक्रम बेइजिङमा सम्पन्न भए। तर, प्रधानमन्त्री दाहालले तिब्बतको ल्हासा गएर बडो फुर्सदिलो यात्रा गरे। देशका कार्यकारी प्रमुख १५ दिनसम्म अनुपस्थित रहे। 

किन गए त तिब्बत? 

वक्तव्यको १८ औँ बुँदामा उनले प्रस्टीकरण शैलीमा भनेका छन्, ‘छोङछिङको भ्रमणपछि म सेप्टेम्बर २७ का दिन जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हासा पुगेँ। तिब्बत भ्रमणको महत्त्व यहाँहरूले बुझ्नुभएकै छ। नेपाल र चीनबीच सीमा जोडिएको एक मात्र प्रान्त रहेको, नेपालको चीनसँगको व्यापारको प्रवेश बिन्दु रहेको, चीनले नेपाललाई गर्ने सहयोगका केही कार्यक्रमहरू तिब्बतमार्फत् कार्यान्वयन हुने गरेको र परम्परादेखि नै नेपाल र तिब्बतबीच व्यापार तथा जनस्तरको सम्बन्ध कायम रहेको परिप्रेक्ष्य र पछिल्ला दिनहरूमा नेपालको तर्फबाट राष्ट्र तथा सरकार प्रमुखहरूले तिब्बतको भ्रमण गर्ने परम्परा रहेको शृङ्खलाको पृष्ठभूमिमा मेरो भ्रमण भएको हो।’

६. कैलाश–मानसरोवरमा मौन
तिब्बतको ल्हासा पुगेपछि उनले एक दिन कैलाश–मानसरोवरको पनि दर्शन गरे। कम्युनिस्ट नेता, धर्मनिरपेक्ष देशका प्रधानमन्त्री चीनको औपचारिक भ्रमणकै क्रममा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानिने कैलाश–मानसरोवर दर्शन गर्न पुगेपछि अनेक कोणबाट विमर्श भएका छन्।

उनको कैलाश–मानसरोवर दर्शनलाई गत जेठमा भारत जाँदा मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरेको पूजापाठकै अर्को शृंखलासँग पनि जोडेर हेरिएको छ। तर, स्वयं प्रचण्डले भने यसबारे कुनै चर्चा गरेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .