ad ad

राजनीति


चीनको हाङ्जाओमा शनिबार हुँदैछ प्रचण्ड–सी भेटवार्ता, यस्तो छ हाङ्जाओ–तिब्बत भ्रमण कार्यक्रम

चीनको हाङ्जाओमा शनिबार हुँदैछ प्रचण्ड–सी भेटवार्ता, यस्तो छ हाङ्जाओ–तिब्बत भ्रमण कार्यक्रम

फाइल फोटो


नेपालखबर
असोज ५, २०८० शुक्रबार २२:२७, बेइजिङ

१५ वर्षअघि सन् २००८ मा बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी भएका पुष्पकमल दाहाल प्रचण्डलाई अहिले फेरि त्यस्तै अर्को अवसर जुरेको छ, हाङ्जाओ एसियन गेम्सको भव्य उद्घाटन समारोहमा सहभागी हुने। 

उतिबेला प्रचण्ड चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग देखिएका थिए, शनिबार हाङ्जाओमा अहिलेका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दैछन्।  

हाङ्जाओ एसियन गेम्सलाई चीनले यस वर्षकै एक प्रमुख कूटनीतिक मञ्च बनाएको छ, जहाँ कम्बोडियाका राजा नरोद्दम सिंहानुकदेखि, सिरियाका राष्ट्रपति बसर अल असद र नेपालका प्रधानमन्त्री प्रचण्डसम्मलाई अतिथि बनाइँदै छ।

देशको कार्यकारी प्रमुख र नेकपा माओवादी पार्टीको अध्यक्षका हैसियतमा पटकपटक चीन भ्रमण गरेका र राष्ट्रपति सीसँग यसअघि नै चार पटक भेटवार्ता गरिसकेका प्रचण्डका लागि यो भ्रमण केही कुराले थप महत्वपूर्ण हुने देखिँदैछ।  

पहिलो पटक प्रचण्ड अमेरिकाबाट आफ्नो औपचारिक चीन भ्रमणमा आउँदै छन् भने राष्ट्रपति सीसँग हाङ्जाओमा लन्चसहित दुई पटक भेटवार्ता हुँदैछ। एसियन गेम्समा विश्वका अन्य नेतासँगै सहभागी हुन पाउनु प्रचण्डका लागि अर्को महत्वपूर्ण क्षण हुनेछ। त्यस्तै प्रचण्डले पहिलो पटक चीनका राष्ट्रपतिसँग राजधानीबाहिर र प्रधानमन्त्री तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्षसँग राजधानीमा भेटवार्ता गर्दैछन्। 

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीनको औपचारिक भ्रमणमा आउन लागेको र दीर्घकालीन महत्व राख्ने धेरै महत्वपूर्ण सहमति सम्झौता हुने कम रहे पनि चीनले उनको भ्रमणलाई निकै महत्व दिएको छ। 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘हाङ्जाओ र बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष तीन नेता तथा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय जनकंग्रेसका अध्यक्षसँगको भेट, हाङ्जाओ र बेइजिङ दुवै विमानस्थलमा मन्त्रीले गर्ने स्वागत र गार्ड अफ अनर तथा चारपाँच वटा प्रान्तमा हुने भ्रमणले यसको महत्व देखाउँछ।’

हाङ्जाओमा मन्त्रीले गर्नेछन् स्वागत, सीसँग हुनेछ लन्च र भेटवार्ता 
प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट क्याथे प्यासेफिकको जहाजमा शनिबार, ६ असोज (२३ सेप्टेम्बर) बिहान ५ बजेर ४० मिनेटमा हङकङ आइपुग्ने छन्। 

शनिबार नै हङकङबाट प्रचण्ड क्याथेकै जहाजमा उड्ने छन् र, बिहान १० बजेर १० मिनेटमा चीनको हाङ्जाओका अवतरण गर्नेछन्।

हाङ्जाओ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीनका एक जना मन्त्री लगायतका अधिकारीले स्वागत गर्ने छन्। त्यहीँ प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ दिने तयारी छ। त्यसपछि प्रचण्ड हाङ्जाओको हुजियासान रिसोर्ट जानेछन्, जहाँ प्रधानमन्त्रीको टिम एक रात बास बस्ने तय छ। 

हाङ्जाओ ओर्लिएकै दिन साढे १२ बजे राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँग लन्च मिटिङ गर्ने कार्यक्रम छ। जसका लागि प्रचण्ड आफू बसेको रिसोर्टबाट सिहु होटलमा जानेछन्, जहाँ उनलाई चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवा भोजसहित स्वागत गर्ने तयारी छ।  

सीसँग करिब एक घण्टा लन्च मिटिङपछि प्रचण्ड फेरि रिसोर्टमै फर्कने छन्। रिसोर्टबाट ४ बजेर २० मिनेटमा प्रचण्ड फेरि राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका लागि उनी बसेको होटल सिहु जानेछन्। प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार भ्रमण तालिकामा यो भेटवार्ता ३० मिनेटको राखिएको भए पनि लम्बिन सक्ने भएकाले त्यसपछिको केही समय खाली राखिएको छ।

बेइजिङमा थप दुई वटा महत्वपूर्ण भेटवार्ता भएपनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्नेछ। हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ।

चीनले नेपालसँग भएको बीआरआई सम्झौता कार्यान्वयन सम्झौताको मस्यौदा प्रस्ताव गरे पनि नेपालले यसमा जवाफ दिएको छैन। यस विषयमा प्रचण्ड र सीबीच छलफल हुनेछ तर सम्झौता हुने नहुने प्रधानमन्त्री प्रचण्डको निर्णयमा भर पर्नेछ।

रिसोर्ट फर्केर आराम गरेपछि प्रचण्ड ७ बजे विश्वप्रसिद्ध कम्पनी अलिबाबा ग्रुपको मुख्यालय पुग्नेछन् अवलोकनका लागि। आधा घण्टा अवलोकनपछि प्रचण्ड राष्ट्रपति सी र अन्य देशका अतिथिहरूसँगै १९औँ एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुनेछन्। ८ बजेदेखि एक घण्टा उद्घाटन समारोहमा सहभागी भएर रिसोर्ट फर्कने कार्यक्रम छ।

बेइजिङमा इन्भेस्टमेन्ट फोरम
७ असोज (२४ सेप्टेम्बर) मा प्रचण्ड हाङ्जाओबाट एयर चाइनाको जहाज चढेर १२ बजे बेइजिङ उत्रिने छन्। चीनको राजधानीमा बेइजिङमा पनि मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ। बेइजिङमा प्रचण्डलाई देउथाई स्टेट गेस्ट हाउसमा बस्ने व्यवस्था मिलाइएको छ।

त्यो दिन बेइजिङमा प्रधानमन्त्री प्रचण्डले नेपाली र चिनियाँ व्यवसायीहरूले संयुक्त रुपमा आयोजना गर्ने ‘चाइना–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरम’ लाई सम्बोधन गर्नेछन्। साँझ ५ बजेर ४५ मिनेटमा नेपाली दूतावासमा स्वागत रिसेप्सन राखिएको छ, जुन साढे ८ बजेसम्म चल्नेछ। 

बेइजिङमा ८ आसोज (२५ सेप्टेम्बर) मा प्रचण्डको व्यस्त कार्यतालिका छ। सो बिहान साढे ८ बजे प्रचण्ड तिआनमेन स्क्वायरमा पुग्नेछन्, जहाँ प्रचण्डले माओ मेमोरियल हलमा फूल चढाउने कार्यक्रम छ। 

लगत्तै ९ बजेर ४५ मिनेटबाट आधा घण्टा प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता हुनेछ। चाओ चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली चिङपछि तेस्रो नम्बरका नेता हुन्।

त्यसपछि तिआनमेन स्क्वायरमा प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित स्वागत कार्यक्रम राखिएको छ। 

त्यसपछि सोही ठाउँमा रहेको ग्रेट हल अफ द पिपलमा चीनका प्रधानमन्त्री ली चिङसँग प्रधानमन्त्री प्रचण्डको दुई पक्षीय वार्ता तय गरिएको छ। वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच केही सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।

लगत्तै चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा दिवा भोजको आयोजना गरेका छन्। 

सोही दिन २ बजे ह्वावे बेइजिङ अनुसन्धान केन्द्र अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। 

चीन भ्रमणको चौथो दिन ९ असोज (२६ सेप्टेम्बर) मा प्रचण्ड राजधानी बेइजिङबाट पश्चिमको चीनको सहर चङकिङतर्फ उड्ने छन्, जहाँ एक दिन रहँदा कृषिको आधुनिक विकास र सूचना प्रविधिमा चीनले गरेको प्रगति अवलोकन गर्ने कार्यक्रम छ।

लगत्तै प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चङकिङ नगर कमिटिका सचिव युयान जियाजुनले भेटवार्ता र सँगै डिनर गर्ने कार्यक्रम छ। 

१० असोज (२७ सेप्टेम्बर) मा चङकिङबाट तिब्बतको ल्हासा पुगेर प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका सिन्जियाङ स्वायत्त क्षेत्रीय कमिटीका सचिव वाङ जुनझेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .