ad ad

राजनीति


सानेपामा प्रदीप ज्ञवालीलाई प्रश्न- तपाईंलाई मदनको बीपी मन पर्छ कि ओलीको?

सानेपामा प्रदीप ज्ञवालीलाई प्रश्न- तपाईंलाई मदनको बीपी मन पर्छ कि ओलीको?

नेपालखबर
भदौ २५, २०८० सोमबार १८:११, काठमाडौँ

‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ कार्यक्रमका सहजकर्ता कान्तिपुरका पूर्व प्रधानसम्पादक सुधीर शर्माले सहभागी स्रोता–दर्शकहरुका लागि ‘फ्लोर ओपन’ गरे, एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार दिउँसो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एक युवा सहभागीको एउटा तीखो प्रश्नको सामना गर्नुपर्यो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्का समेत वक्ता रहेको कार्यक्रमका सहजकर्ता पत्रकार शर्माले  कार्यक्रममा मदन भण्डारीका लागि समेत बीपी मनपर्ने नेता भएको उल्लेख गरेका थिए। एमालेका तत्कालीन महासचिव भण्डारी बीपीलाई मन पराउँथे भन्ने विषय प्रष्ट पार्न शर्माले भण्डारीको एउटा भनाइ कार्यक्रममा उल्लेख गरेका थिए।

‘मलाई सबैभन्दा मन पर्ने खानेकुरा के हो भनेर सोध्नुहुन्छ भने मःमः हो भन्छु,’ शर्माले बीपीबारे मदन भण्डारीको मूल्याङ्कन उल्लेख गर्दै भनेका थिए, ‘यदि मन परेका नेताबारे सोध्नु हुन्छ भने त्यो बीपी कोइराला हुनुहुन्छ।’

जब सहजकर्ता शर्माले ‘फ्लोर ओपन’ गरे, दर्शक दीर्घामा रहेका सिन्धुलीका युवा कांग्रेस महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेले एमालेका तत्कालीन महासचिव भण्डारी र एमालेका वर्तमान अध्यक्ष ओलीले भनेकामध्ये कुन बीपी तपाईंलाई मन पर्छ? भन्ने प्रश्न सोधेका थिए।

मदनको प्रशंसा, ओलीको कटाक्ष
प्रश्नकर्ता घिमिरेको प्रश्न बीपीको ‘राष्ट्रिय मेलमिलापको नीति’ सम्बन्धमा १७ साउनमा एमाले अध्यक्ष ओलीले सार्वजनिक गरेको धारणासँग सम्बन्धित थियो।

च्यासल (ललितपुर) स्थित एमाले केन्द्रीय कार्यालयसँगै रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा ओलीले बीपीको कडा आलोचना गरेका थिए।

कम्युनिस्ट नेता स्व. तुलसीलाल अमात्यको २६ औँ स्मृति दिवसमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन एवं कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भविष्य’ कार्यक्रममा बोल्दै ओलीले संघर्ष गर्न नसकेपछि र भारतमा पनि टिक्न नसकिने निष्कर्षमा पुगेपछि बीपी राष्ट्रिय मेलमिलापको आत्मसमर्पणकारी नीति लिएर नेपाल फर्केको र कम्युनिस्टविरुद्ध प्रयोग भएको दाबी गरेका थिए।

‘नेपाली कांग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ। संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि गाह्रो हुने भयो, सबैतिर अप्ठेरो भएपछि आत्मसमर्पण गरेर भए पनि नेपाल आउनुपर्यो। तर, त्यसलाई (बीपीले) के भन्नुभयो भने एक दिन बिहान उठ्दा सबै रातो झण्डा नेपालमा गाडिएको देखिने खतरा छ। त्यसकारण अब जनताको प्रतिनिधि–जनशक्ति, राजा राज्यशक्ति। दुइटा मिलेर जानुपर्छ भन्ने व्याख्याका साथ बीपीले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो।’ ओलीको भनाइ थियो, ‘कसको विरुद्ध भन्दा त वामपन्थी, परिवर्तनकारी र देशभक्त शक्तिहरुका विरुद्ध।’

सानेपाको सो कार्यक्रमका सहजकर्ता पत्रकार शर्माद्वारा उधृत एमाले महासचिव स्व. भण्डारीको भनाइ र एमाले अध्यक्ष ओलीको उपरोक्त भनाइ आपसमा बाझिन्छन्। त्यहीकारण घिमिरेले तपाईंलाई मदन भण्डारीले उल्लेख गरेका वा ओलीले उल्लेख गरेकामध्ये कुन बीपी मन पर्छन् भन्ने प्रश्न ज्ञवालीसँग गरेका थिए।

प्रश्नकर्ता युवा

मदनको प्रशंसा, ओलीको कटाक्ष
अन्तर्क्रिया सेसनमा उपमहासचिव ज्ञवाली बीपीप्रति सन्तुलित रुपमा प्रस्तुत भएका थिए। ज्ञवालीले ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीति’ का दृष्टिले बीपीको राजनीतिक जीवनलाई तीन कालखण्डमा विभाजित गरेका थिए। त्यसमध्ये २००७ अघिको बीपीको ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीति’ आलोचनायोग्य रहेको उल्लेख गरे।

तर, गृहमन्त्री–प्रधानमन्त्री हुँदा र २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि बीपीको अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिप्रतिको धारणा व्यावहारिक भएको ज्ञवालीको मूल्याङ्कन थियो।

उनले बीपीको राष्ट्रिय मेलमिलापको नीतिको सुरुमा आलोचना पनि गरेका थिएनन्, बरु प्रशंसा नै गरेका थिए।

‘भारतको सहयोगमा प्रजातन्त्रको बाटोमा लाग्दा राष्ट्रियतामा सम्झौता गर्नुपर्ने विश्लेषण गरेपछि उहाँ राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभयो,’ बीपीको स्वदेश प्रत्याव्हनको प्रशंसा गर्दै ज्ञवालीले भनेका थिए, ‘यसो गरेर उहाँ बाह्य स्वार्थको हस्तक्षेपबाट बच्नुभयो।’

तर, जब घिमिरेले बीपीमाथि मदन भण्डारी र अध्यक्ष केपी शर्मा ओलीको फरक–फरक मूल्याङ्कनको सन्दर्भ उप्काउँदै प्रश्न गरे, त्यसपछि ज्ञवालीले बीपीको राष्ट्रिय मेलमिलाप नीतिको आलोचना गरे।

‘बीपी पनि मान्छे नै हुनुहुन्थ्यो। त्यसैले उहाँको रिभ्यु (समीक्षा) त हुन्छ नि! हामीले पनि यहाँ बसेर (बीपीको) रिभ्यु नै गरिरहेका छौँ!’ ज्ञवालीको उत्तर थियो, ‘जस्तो, राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कने क्रममा बीपीले जुन बाटोबाट प्रजातन्त्र आउँछ भन्नुभएको थियो, त्यो बाटोबाट त नेपालमा प्रजातन्त्र आएन नि!’

ज्ञवालीको भनाइको अर्थ थियो, बीपीले (कम्युनिस्टबाहेक) कांग्रेस र राजा मिलेर प्रजातन्त्र आउँछ भने पनि त्यसको सट्टा कांग्रेस र कम्युनिस्ट मिलेर प्रजातन्त्र आएको हो।

(यसअघि बीपीसम्बन्धी मदन भण्डारीको धारणाको प्रसङ्ग पत्रकार शर्माले उल्लेख गरेकोमा उपमहासचिव ज्ञवालीले उल्लेख गरेको हुनगएकोमा त्यसलाई क्षमायाचनासहित सच्याइएको छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .