राजनीति


महिला राजदूतको रोजाइ काठमाडौँ

महिला राजदूतको रोजाइ काठमाडौँ

मणि दाहाल
माघ ९, २०७६ बिहिबार १४:१६,

केही दशकअघिसम्म पनि कूटनीतिलाई पुरुषहरुको काम मान्ने गरिन्थ्यो। तर, अहिले काठमाडौँस्थित विदेशी कूटनीतिक नियोगहरुलाई नियाल्ने हो भने केही फरक दृश्य देखिन्छ। हाल नेपालमा २९ वटा आवासीय दूतावास छन्। जसमध्ये ९ वटाको नेतृत्व महिलाले गरिरहेका छन्।

अमेरिका, चीन, बेलायतजस्ता शक्तिशाली मुलुकले नेपालमा महिला राजदूत पठाएका छन्। अमेरिकाले सबैभन्दा धेरै पाँच जना महिला राजदूत काठमाडौँ पठाइसकेको छ।

छिमेकी देश चीनले लगातार दुई महिला राजदूत पठाएको छ।

चीनले गत वर्ष होउ यान्छीलाई राजदूत बनाएर पठाएको छ। उनले त्यसअघिकी अर्की महिला राजदूत यु होङलाई प्रतिस्थापन गरेकी थिइन्। राजदूत युको कार्यकालमा नेपाल चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी भएको थियो भने राजदूत होउको कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमण भएको थियो।

houhou2
चिनियाँ राजदूत होउ यान्छी

सबैभन्दा लामो समयदेखि नेपालका लागि बंगलादेशी राजदूतदेखि सबैभन्दा पछिल्लो पटक ओहोदाको प्रमाणपत्र बुझाएकी बेलायती राजदूतसम्म महिला नै छन्। बंगलादेशी राजदूत मास्फी बिन्ते शाम्स २६ असार २०७० देखि नेपालमा कार्यरत छिन्।

सबैभन्दा पछिल्लो पटक नयाँ आएकी राजदूत हुन्, बेलायतकी निकोला पोलिट। उनले गत मंसिर १८ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी थिइन्।

नेपालले दौत्य सम्बन्ध स्थापना गरेको पहिलो मुलुक हो बेलायत। नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध दुई शताब्दीभन्दा पुरानो हो। यति लामो इतिहासमा बेलायतबाट राजदूत बनेर आउने पोलिट पहिलो महिला हुन्। उनी नेपाली बोल्न सक्छिन्।

बेलायतमा दोस्रो विश्वयुद्धको समयपछि मात्र विदेश सेवामा महिलाहरुको सहभागिता बढेको थियो।

UKamb2
बेलायती राजदूत निकोला पोलिट

२८ वटा युरोपेली मुलुकको संगठन युरोपेली संघकी राजदूत पनि महिला नै छिन्। वर्तमान राजदूत वेरोनिका कोडीभन्दा अघि पनि राजदूत रेन्जे तिरिंकले युरोपेली युनियनको प्रतिनिधित्व गरेकी थिइन्।

नेपालमा अहिले ब्राजिल, इजिप्ट, स्वीट्जरल्यान्ड र श्रीलंकाका पनि महिला राजदूत छन्।

ब्राजिलकी राजदूत मारिया टेरेस मेसक्विता पेसोआ सन् २०१६ मार्च ७ देखि काठमाडौँमा कार्यरत छिन्।

brazil22
ब्राजिलकी राजदूत मारिया टेरेस मेसक्विता पेसोआ

नेपालमा अफ्रिकी महादेशबाट एक मात्रै आवासीय दूतावास इजिप्टको छ। इजिप्टकी इमान मुस्तफा अब्दु अहमद दुई वर्षदेखि यहाँ राजदूत छिन्।

स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन केपेलर छिन्।

त्यसैगरी नेपालका लागि श्रीलंकाली हिमाली अरुनातिलाका राजदूत छिन्। उनी पनि यसअघिकी महिला राजदूत स्वर्ण परेराको स्थानमा नियुक्त भएकी हुन्।

नेपालका लागि थाइल्यान्डको राजदूतको पद लामो समयदेखि खाली छ। कार्यवाहक राजदूतको जिम्मेवारी उतुमपोर्ह अम्पिइभिटले सम्हाल्दै आएकी छन्। मलेसिया र भारतको राजदूत पद पनि अहिले रिक्त छ। भारतले विनयमोहन क्वात्रालाई राजदूत नियुक्त गरेपनि जिम्मेवारी सम्हाल्न उनी नेपाल आइपुगेका छैनन्। दक्षिणी छिमेकी भारतले हालसम्म नेपालमा महिला राजदूत पठाएको छैन।

यसरी नेपाल आएका अधिकांश महिला राजदूत ‘करिअर डिप्लोम्याट’ भएको पूर्वपरराष्ट्र सचिव मदन भट्टराई बताउँछन्। ‘राजनीतिक नियुक्तिभन्दा पनि नेपाल हेर्ने डेस्कमा लामो समय काम गरी अनुभव लिएका व्यक्तिहरु नेपालका लागि राजदूत हुने गरेका छन्,’ भट्टराईले भने।

Srilanka2
श्रीलंकाली राजदूत हिमाली अरुनातिलाका राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाउँदै

लामो समयसम्म विदेश सेवामा महिलामाथि भेदभाव थियो।

‘अमेरिका, भारतसहित कतिपय देशमा सत्तरीको दशकसम्म परराष्ट्र सेवामा भएका महिलाले विवाह गरे राजीनामा दिनुपर्ने व्यवस्था रहेको थियो,’ भट्टराईले भन्छन्।

समकालीन कूटनीतिमा पनि पुरुषकै प्रभुत्व छ। सन् २०१४ मा विश्वभर रहेका कूटनीतिज्ञमध्ये ८५ प्रतिशत पुरुष रहेको फरेन पोलिसी एनालाइसिस जर्नलमा प्रकाशित एक लेखमा उल्लेख छ।

यद्यपि अहिले अवस्था बदलिँदै गएको छ। अमेरिकाको विदेश सेवामा ४० प्रतिशत महिला कार्यरत छन्।

नेपालमा राजदूत भएर आउने पहिलो महिला थिइन्, अमेरिकाकी क्यारोल लाइस। उनी सन् १९६६ देखि सन् १९७३ सम्म नेपालका लागि अमेरिकी राजदूत रहिन्। ‘लाइस निकै चर्चित राजदूत हुनुहुन्थ्यो। नेपालमा लामो समय काम गर्नुभयो,’ पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले भने, ‘नेपालमा धेरै महिला राजदूत पठाउनेमा अमेरिका सबैभन्दा अघि रहेको छ।’

लाइसको तत्कालीन दक्षिण भियतनामका लागि अमेरिकी राजदूत इल्सवोथ बुन्केरसँग सन् १९६७ मा काठमाडौमा विवाह भएको थियो।

हालका अमेरिकी राजदूत र्‍यान्डी बेरीभन्दा अघि अलाइना टेप्लिज नेपालका लागि राजदूत थिइन्। उनले नेपालमा ‘ट्विटर डिप्लोमेसी’लाई लोकप्रिय बनाएकी थिइन्। हाल उनी श्रीलंकामा अमेरिकाको प्रतिनिधित्व गर्छिन्।

पछिल्लो साढे दुई दशकमा नेपालमा सबैभन्दा बढी चर्चामा रहेकी अमेरिकी राजदूत हुन् जुलिया चाङ।

राजदूत चाङले तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा र आरजु राणाको विवाह गराउन भूमिका खेलेको बताइन्छ। जुलियापछि अन्तरिम राजदूतका रुपमा माइकल मालिनोस्की राजदूत भए।

मालिनोस्कीलाई एघार महिनापछि विस्थापित गर्दै सान्ड्रा भोगेलगेसाङ काठमाडौँ आइन्। उनलाई बिल क्लिन्टनले नेपालका लागि राजदूत नियुक्त गरेका थिए। त्यसको एक दशकपछि अमेरिकाले फेरि महिलालाई राजदूत बनाएर नेपाल पठायो। जर्ज डब्लु बुस राष्ट्रपति हुँदा नेपालका लागि राजदूत भएकी न्यान्सी पावेलपछि सामारिक रुपमा निकै महत्वपूर्ण रहेको भारतका लागि अमेरिका राजदूत भएकी थिइन्।

सशस्त्र विद्रोह गर्दै आएको माओवादी र संसदीय राजनीति गरिरहेका दलबीच कुनै प्रकार सम्झौता हुन नदिनका लागि निकै सक्रिय रहेको जेम्स मोरियार्टीलाई प्रतिस्थापन गर्दै पावेल नेपालका लागि राजदूत भएकी थिइन्। नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण चरणमा पावेलले नेपालमा जिम्मेवारी सम्हालेकी थिइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .