राजनीति


अग्निः फ्लोरमा आक्रामक, सभामुख कुर्सीमा ‘कुल’

अग्निः फ्लोरमा आक्रामक, सभामुख कुर्सीमा ‘कुल’

मणि दाहाल
माघ ५, २०७६ आइतबार १६:३३,

करिब एक महिना लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली अग्नि सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमत भएका छन्।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछिको यो एउटा सबैभन्दा पेचिलो विषय बनेको थियो, पार्टीभित्र। कतिपयले यही विवादले सरकार फेरबदल र पार्टी नै विभाजित हुनसक्ने विश्लेषण समेत दिन थालेका थिए।

प्रधानमन्त्री ओली बाँकी तीन वर्षे कार्यकाल सहज बनाउन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहन्थे भने पार्टी एकताको भावना कायम राख्न भन्दै अध्यक्ष प्रचण्डले सभामुखमा आफुले नाम प्रस्ताव गर्न पाउनु पर्ने अडान लिए। तिक्तता यति बढ्यो कि पछिल्ला केही दिन त दुई अध्यक्षबीच संवाद समेत हुन सकेन। र, करिब एक महिना संसद अवरुद्ध भयो।

यो लामो रस्साकस्सीपछि आइतबार अन्ततः ओली प्रचण्डको प्रस्तावमा सहमत भए र, नेकपाको सचिवालयले त्यो सहमतीलाई अनुमोदन गर्दै अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्यो।

सभामुखमा अग्नि सापकोटाको नाममा सहमती भएसँगै कतिपयले उनका लागि संसद चलाउन निवर्तमान सभामुख कृष्णबहादुर महराभन्दा बढी चुनौतीपूर्ण रहेको तर्कहरू गरिरहेका छन्।

लामो समय शिक्षक रहेर माओवादी युद्ध हुँदै राजनीतिमा उदाएका सिन्धुपाल्चोकका सापकोटा सञ्चार तथा वनमन्त्री भएर दुई कार्यकाल सरकारमा रहिसकेका छन्। नेकपाका एक जना इमान्दार तर आफ्ना तर्कमा आक्रामक सांसद सापकोटाले सभामुखका रुपमा कस्ता चुनौती सामना गर्नुपर्ला?

यी हुन्, सभामुखको कुर्सीमा बस्दा उनका सम्भावित पाँच चुनौतीहरूः

१. प्रधानमन्त्री ओलीसँग विश्वासको सम्बन्धः संसदमा करिब दुई तिहाई बहुमत भएपनि सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा आन्तरिक रुपमा निकै विभाजित भएको छ। एमालेसँग भागबण्डा हुँदा सभामुख पद माओवादीको भागमा परेकाले महरा सभामुख हुँदा यस्तो विवाद भएको थिएन। माओवादीले निर्णय गर्नासाथ उनी सभामुखको उम्मेदवार बने र २०७४ फागुनमा सर्वसम्मत रुपमा सभामुख चुनिए।

तर सापकोटालाई सभामुख बनाउने विषयमा प्रधानमन्त्री ओली र नेकपाभित्र उनको गुट लामो समय सकारात्मक रहेन। अन्ततः प्रधानमन्त्री ओली सहमत त भए तर सापकोटाका लागि प्रधानमन्त्रीको विश्वास जितेर काम गर्नु पर्ने पहिलो चुनौती छ। सापकोटा अध्यक्ष प्रचण्ड निकट नेता भएकाले प्रधानमन्त्री ओलीसँग कुनै अविश्वास पैदा हुँदा त्यसले दुई अध्यक्षबीच नै असमझदारी सिर्जना गर्न सक्नेछ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल सभामुखका रुपमा सापकोटाका अगाडि नेकपासँगै विपक्षी दललाई साथ लिएर हिंड्नु पर्ने चुनौती रहेको बताउँछन्।

‘नेकपा अविश्वासको जगमा बनेको पार्टी हो, त्यसलै अविश्वास घुम्ती घुम्तीमा प्रकट हुन्छ’, पोखरेल भन्छन्, ‘नेकपाभित्र सबै विषय मिल्न लामो समय लाग्छ, यो दल घरायसी कागज गरेजस्तै गरि चल्दै जाने हो, नेतृत्वमा बस्नेले व्यवस्थापन गर्दै जानुपर्छ।’

२. संसदमा तटस्थताः कृष्णबहादुर महरा सभामुख हुँदा विपक्षी दल नेपाली कांग्रेसले संसदलाई सरकारको निर्देशनअनुसार चलाएको आरोप लागेको थियो। त्यस्तै सरकार पक्षबाट भने सरकारी प्रस्ताव तथा विधेयकहरु अघि बढाउन भूमिका नखेलेको भन्दै असन्तुष्टि आएका थिए। प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख महराले अमेरिकासँग भएको सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदबाट अनुमोदन गर्न रोकेर गल्ती गरेको बताएका थिए।

संविधानविद् विपिन अधिकारी पार्टीको नियन्त्रणबाट मुक्त भएर काम गर्न सापकोटाका लागि कठिन हुने बताउँछन्।

‘तुलनात्मक रुपमा निष्पक्ष भूमिका खेल्नु पर्ने पद सभामुख आफैंसँग राख्न सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच जसरी तानातानी भयो, त्यसले सभामुख प्रमुख नेताहरुको छायाँबाट पर रहन कठिन हुने देखिन्छ,’ संविधानविद् अधिकारी भन्छन्, ‘सापकोटा यस्तो राजनीतिक नियन्त्रणलाई पार गर्दै कसरी अघि बढ्छन् र विपक्षीलाई पनि साथमा लिएर हिंड्छन् त्यो हेर्न बाँकी छ।’

३. द्वन्द्वकालीन मुद्दाः सापकोटा द्वन्द्वकालीन मुद्दासँग जोडिएको भन्दै उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएकोमा कतिपयले आपत्ति र असन्तुष्टी जनाएका छन्। माओवादी सशस्त्र युद्धकालमा काभ्रेमा मारिएका अर्जुन लामाको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ, जसमा संलग्न भएको आरोप सापकोटामाथि छ। सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय नहुँदै शुक्रबार १७ जना नागरिक अगुवाले विज्ञप्ति जारी गरि द्वन्द्वकालीन मुद्दामा नमुछिएका व्यक्तिलाई सभामुख बनाउन आग्रह गरेका थिए। नेपालको संक्रमणकालीन न्यायको विषय अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्दै आएको छ। यद्यपी सापकोटाले त्यो घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन्।

‘सपाकोटा सभामुख बनेपछि पनि यो विषय उठिरहने देखिन्छ’, विश्लेषक पोखरेल भन्छन्, ‘मन्त्री हुँदा यो विषय उठेको थियो तर, सापकोटा पदमा नहुँदा यो विषयमा उठेन। अब पदमा गएपछि फेरि यो मुद्दा उठ्ने छ।’

अधिकारी चाहिँ द्वन्द्वकालीन मुद्दामा सापकोटाको संलग्नता हरेकाले सभामुखको रुपमा निष्पक्ष भूमिका निर्वाह गर्न समस्या आउनसक्ने ठान्छन्।

‘यो विषयमा सापकोटा आफैं कसरी प्रस्तुत हुन्छन्, त्यो हेर्नै बाँकी छ’, अधिकारीले थपे।

४. कानुन निर्माणः संसदले धेरै कानुन निर्माण गर्न बाँकी नै छ। जनतासँग प्रत्यक्ष रुपमा जोडिने नागरिकता सम्बन्धी कानुनमा सहमति जुट्न सकेको छैन। त्यसैगरी मौलिक हक सम्बन्धी कानुन निर्माण हुन बाँकी नै छ। सापकोटा कानुनका विद्यार्थी होइनन्, त्यसैले कानुन निर्माणका सम्बन्धमा उनलाई यस विषयमा प्रखर पूर्व सभामुख सुवास नेम्वाङसँग तुलना गरेर हेरिन सक्छ।

सभामुखका रुपमा सापकोटाले सरकार र विपक्षी दलहरूसँग समन्वय गरि कानुन निर्माणमा आफ्नो कुशलता देखाउनु पर्ने चुनौती छ।

‘धेरै कानुन निर्माण प्रक्रियालाई चाँडो अगाडि बढाउन सभामुखको सक्रिय भूमिका खोजिने छ’, नेकपाका सांसद कृष्णभक्त पाेखरेल भन्छन्, ‘संसदका महासचिवको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व छनोट सभामुखले चाँडै समान गर्नु पर्ने अर्को विषय हो।’

५. सभामुखको कुर्सीमा ‘कुल’: सभामुखका रुपमा सापकोटाको अर्को चुनौती उनको आक्रामक शैलीमा परिवर्तन हो। सापकोटा आफ्नो विषयमा राम्रो तयारी गरेर संसदमा आक्रामक रुपमा प्रस्तुत हुने सांसदका रुपमा चिनिन्छन्। सांसदका रुपमा त्यस्तो तर्कपूर्ण आक्रमकता स्वाभाविक पनि हो। तर सभामुख भएपछि त्यस्तो आक्रामक शैली प्रत्युपादक हुन सक्छ। त्यसैले फ्लोरमा आक्रामक सांसद सापकोटा सभामुखको च्याम्बरमा पुगेपछि भने ‘कुल’ हुनुपर्ने बाध्यता छ।

‘आफ्नो भूमिका अनुसार नेताहरूले फरक फरक शैली अपनाउनु पर्ने हुन्छ’, पोखरेल भन्छन्, ‘मन्त्री वा सांसद हुँदा आक्रामक शैली ठिकै हुन्छ तर, सभामुखको भूमिकामा पुगेपछि बढी समन्वयात्मक हुनुपर्छ।’

यसअघि संसदमा प्रधानमन्त्री ओलीले बोलेको विषयले निम्त्याएको विवाद स्मरण गर्दै सांसद पोखरेल थप्छन्, ‘प्रधानमन्त्रीले सम्बोधन गर्दा एक पटक निम्छारो भन्ने शब्द उल्लेख गर्नुभयो, त्यो खासै आपत्तिको विषय होइन तर त्यसैले संसदभित्र ठूलो होहल्ला भयो। त्यस्ता अपरझट आइपर्ने विषयलाई बुद्धिमत्तापूर्ण ढंगले समाधान गर्नु पनि सभामुखको चुनौती नै हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .