भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताएका छन्।
एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए।
सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो।
मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका शहीदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र विकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालका बिरामीलाई फलफूल वितरण गरे।
उनले सो अस्पतालमा उपचाररत एक सय ५० जना बिरामीलाई फलफूल वितरण गरेका हुन्।
काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका शहीदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो। नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी सङ्गठनले सो कार्यक्रम आयोजना गरेको हो।
Shares
प्रतिक्रिया