राजनीति


अब बिहानै उठेर पत्नी सीतालाई गीत सुनाउन पाउने छैनन् प्रचण्डले

‘दिदी रहनुभएन, स्मृति मात्र बाँकी रह्यो’
अब बिहानै उठेर पत्नी सीतालाई गीत सुनाउन पाउने छैनन् प्रचण्डले

फाइल तस्बिर : पत्नी सीता दाहालका साथ प्रचण्ड


वाशुदेव मिश्र
असार २७, २०८० बुधबार ११:३८, पाेखरा

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहाल गुमाएका छन्।

१० कक्षा पढ्दापढ्दै प्रचण्डकी जीवनसाथी बनेकी सीताले जीवनका कठिन दिनमा पनि श्रीमान्‌को साथ छाडिनन्। भारत प्रवासमा रहँदा होस् कि सशस्त्र द्वन्द्वका बेला, सीता पति प्रचण्ड सँगसँगै हिँडिन्। नजिकको सल्लाहकार र रक्षाकवच बनेर सधैँ साथमै उभिइरहिन्।

प्रचण्डले पत्नी सीतासँगको भावनात्मक सम्बन्धबारे धेरै ठाउँमा बोलेका छन्। भावुक बनेका छन्। कतिसम्म भने छोरी ज्ञानु र छोरा प्रकाशको निधनको वियोगमा पनि सीताले प्रचण्डलाई सान्त्वना दिइरहिन्। 

पुत्री र पुत्र वियोगले सीता स्वयंलाई भने गलायो। उनलाई दुर्लभ रोग प्रोगेसिभ सुप्रन्युक्लियर पाल्सी (पीएसपी) ले गाँज्यो । पीएसपीले मानसिक विकार उत्पन्न गराउँछ। पत्नी सीतामा यो असामान्य रोग देखिएपछि प्रचण्डले उपचारका हर उपाय प्रयोग गरे। भारतदेखि सिंगापुरसम्मका अस्पताल चहारे। म्याग्दीको तातोपानी कुण्ड पुर्‍याए। नयाँ ठाउँ र परिवेशमा लगेर मन बहलाउने प्रयत्न गरे। घरमा होस् कि बाहिर, उनी पत्नी सीताको असाध्यै ख्याल राख्थे।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’का अनुसार रोगले सामान्य मात्र गाँजेका बेला सीता बिहान ४ बजे नै जागा भइसक्थिन्। व्यस्त दिनचर्याका बीच प्रचण्ड पनि सँगै उठ्थे र पत्नीलाई मनपर्ने गीत बजाइदिन्थे। करणका अनुसार सीता लोकगीत मन पराउँथिन्। बजारमा चलेका र पुराना लोकगीत। राष्ट्रवादी गीतहरु सुन्दा उनी आनन्द मान्थिन्। कहिलेकाहीँ क्रान्तिकारी गीतहरु पनि बजाइन्थे। 

२०७५ मंसिरमा कास्कीको सिक्लेसमा शान्ति स्तम्भको निर्माण उद्घाटन गर्ने क्रममा उनले पत्नी सीतालाई पनि सँगै ल्याएका थिए।

भूमिगतकालीन समय सम्झाउन र मन बहलाउनै लागि प्रचण्डले त्यो बेला सीतालाई सँगै ल्याएका करणले बताए। 

‘उहाँ (प्रचण्ड) ले सीता दिदीको पूरै ख्याल गर्नुभयो’, करणले त्यो बेला नेपालखबरसँग भनेका थिए,‘बिहान साढे ४ बजेतिर नै म्याडमलाई गीत सुनाइदिनुपर्छ, त्यसको ख्याल पनि अध्यक्षले गर्नुहुन्छ।’ त्यो एकप्रकारको ‘म्युजिक थेरापी’ थियो।

लामो गाडीयात्राले थाकेकी सीताले सिक्लेसमा रहँदा सामान्य खाना खाइन्। ‘दिदीले त्यो बेला बढी दूध खानुभयो, सिक्लेसको साग पनि उहाँको प्रिय रह्यो’, करणले भने, ‘खाना खाँदै गर्दा उहाँले पुराना दिनमा गरिने खानपानका कुरा पनि उठाउनुभयो।’

सिक्लेसमा पुग्नेबित्तिकै प्रचण्डसहित सीताले त्यही मेसमा बनेको दालभात, साग र कुखुराको मासु खाएका थिए। ब्रेकफास्टमा प्रचण्ड दम्पतीले गहुँको रोटी, अन्डा कालो चिया नै खायो। 

त्यो बेला प्रचण्डले सिक्लेसमा २२ घण्टा बिताएका थिए। 

सिक्लेस पुगेलगत्तै  प्रचण्ड सार्वजनिक कार्यक्रममा व्यस्त रहँदा पत्नी सीताले भने आराम गरिन्। छोरी गंगा साथै थिइन्। आमाको हेरचाहको जिम्मा उनले नै सम्हालिन्। पहिला बसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकै भवनमा बिहानको खाना खाए।

 २०६२ जेठतिर प्रचण्ड जीवनसंगिनीसहित सिक्लेस पुगेका थिए। कमान्डरका रुपमा ‘जनसेना’को कडा सुरक्षाबीच रहँदा प्रचण्डलाई सीताले रेखदेख गरेकी थिइन्। प्रचण्ड, सीता, बाबुराम भट्टराई, राजकाजी गुरुङ, यामबहादुर अधिकारी, करण हेलिकोप्टरबाटै सिक्लेस पुगेका थिए।

आफू सिक्लेस पुगेपछि नै प्रचण्डले सीतालाई त्यहाँ बोलाएको करणले बताए।  तत्कालीन माओवादी कास्कीका इन्चार्ज करणका अनुसार प्रचण्डसँगै पत्नी सीता र छोरी गंगा हेलिकप्टरमा सिक्लेस पुगेका थिए।

‘सायद बूढाहरु (अध्यक्ष प्रचण्ड) २०६२ जेठ २४ गते सिक्लेस पुगेको हुनुपर्छ,’ करणले ती दिन सम्झँदै भनेका थिए,‘दिदीहरु हेलीमा सिक्लेस पुग्नुभएको हो।’

करणका अनुसार शान्ति स्तम्भ उद्घाटनका बेला  त्यहाँ पुगेकी सीताले पुराना दिनका सबै कुराको सम्झना गरिन्। बस्दा गाउँलेहरुसँग गरेका कुराकानीदेखि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस आउँदासम्मका कुरा सम्झिँदै उनी भावुक पनि बनेकी थिइन्। 

‘उहाँ (सीता दाहाल) ले जनतासँग जोडिएका, त्यहाँको बाटो हिँडेका सबै कुरा सम्झनुभयो’, करणले यो पटकको सिक्लेस बसाइ सम्झँदै नेपालखबरसँग भनेका थिए, ‘हामीसँगै बस्दा सिटौला बाबु (कृष्ण सिटौला) यसरी आउनुभएको थियो भन्दै लामो कुरा पनि गर्नुभयो, अब दिदी रहनुभएन, स्मृति मात्र बाँकी रह्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .