ad ad

राजनीति


संसद्‍मा प्रधानमन्त्रीलाई एमालेको प्रश्न : मोरिआर्टी र लेन्डुपलाई बिर्साउन खोजेको हो?

संसद्‍मा प्रधानमन्त्रीलाई एमालेको प्रश्न : मोरिआर्टी र लेन्डुपलाई बिर्साउन खोजेको हो?

संसद् बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटा। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १६:३५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असार १८ गते आफूलाई सरकारमा लैजान दिल्लीले भूमिका खेलेको आशयसहितको मन्तव्य दिएपछिको राजनीतिक तरंग अझै जारी छ।

त्यही मन्तव्यका कारण रोकिएको प्रतिनिधिसभाको बैठक केही दिन रोकिएर सोमबार सुरु भएको छ। प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिने बताएपछि एमाले तयार हुँदा संसद् खुलेको हो।

संसद् खुल्नेबित्तिकै एमालेका सांसद गोकुल बास्कोटाले सत्ता पक्षले प्रतिपक्षमाथि हिलो छ्याप्ने काम गरेको बताएका छन्। 

‘सत्ता पक्षले आफ्नो हिलो छ्याप्ने काम गर्‍यो।  तर जवाफ दिएन। हाम्रो प्रधानमन्त्री क्रान्तिकारी हुनुनुन्छ। उहाँले जनयुद्ध थाल्दा प्रभुत्ववाद र विस्तारबादबारे लेख्नु भएको थियो। तर उहाँ चढेको ट्रक अहिले कहाँ पुग्यो?’, उनले भने, ‘एउटा किताब विमोचनका क्रममा मलाई संसद्ले होइन अरु कसैले प्रधानमन्त्री बनायो भन्नु भयो। त्यो खण्डनयोग्य विषय हो तर सत्ता पक्षले प्रतिपक्षलाई आक्रमण कोसिस गर्‍यो।’

बास्कोटाले एमाले, माओवादी, कांग्रेस रहे नरहे पनि देश रहनुपर्ने बताए। उनले एउटा गीतको सारमार्फत पनि प्रचण्डलाई कटाक्ष गरे। 

‘सेतो र चोली कालो चोली कुन चोली सिएको...यो गीत मैले गाएको होइन सम्झाइदिएको...’, उनले गीत गाउँदै भने, ‘नेपालको झन्डा उचाल्ने कि तिरंगा फरहराउने हाम्रो प्रधानमन्त्रीले?’ 

बास्कोटाले मिटरब्याजको विषयमा सत्ता पक्षले भ्रम छरेको पनि आरोप लगाए। 

‘यो संसद् ५७ दिनसम्म चलिसक्दा त्यो अध्यादेश अन्तिममा ल्याउनुपर्ने कारण के हो? प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएको होइन। मिटरब्याजीको पक्षमा प्रमुख प्रतिपक्षी दल रह्यो भनेर वक्तव्य जारी गरियो’, उनले भने, ‘कहाँनिर एमालेले विरोध गर्‍यो सरकारले भन्नुपर्छ। यति गम्भीर कुरा उठाएपछि हाम्रो जवाफ दिनु हुन्छ भनेको थियो। तर गलत बाटोमा गएर आक्रमण प्रयास भयो।’

उनले सत्ता गठबन्धनको बैठक राखेर कोशी प्रदेशमा राजनीतिक कू गरिएको पनि आरोप लगाए। 

‘एक माघले जाडो जाँदैन हामी कुरिरहेका छौँ। उहाँको जवाफ आउँछ कि आउँदैन। देशको प्रधानमन्त्रीका रुपमा हामीले हेरिरहेका छौँ’, उनले भने, ‘प्रधानमन्त्रीले के अल्बर्टो मोरिआर्टीलाई बिर्साउन खोजेको? लेन्डुप दोर्जेलाई बिर्साउन खोजेको हो?’

यसबारेमा प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने बास्कोटाले बताए। ‘कसैको सत्ता स्वार्थका लागि देशको सार्वभौम साटिँदैन। त्यस्तो हुन हामी दिँदैनौँ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .