नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सरेको छ। असार २३ गते तय गरिएको बैठक साउन १७ गतेसम्म सारिएको महासचिव देव गुरुङले नेपालखबरलाई जानकारी दिए।
असारको क्लोजिङ, स्थानीय तहको बजेट पारित र उत्पादनसँग किसानहरु यही समयमा जोडिने भएकाले बैठक सारिएको उनले दाबी गरे।
साउन १७ गते बस्ने बैठक पनि प्रज्ञा प्रतिष्ठान (कमलादी) मा नै हुने गुरुङले जानकारी दिए।
उनका अनुसार बैठकका लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको छ।
साथै बैठकले समाजवादी मोर्चाका विषयलाई अनुमोदन गर्ने उनले बताए।
यही असार ५ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ।
यस्तै, पूर्वमाओवादी घटकसँग एकताको विषयले पनि केन्द्रीय समितिको बैठकमा प्रवेश पाउने महासचिव गुरुङको भनाइ छ।
‘पूर्व माओवादी घटक एक हुने प्रयास भइरहेको छ,’ गुरुङले भने, ‘केन्द्रीय समिति बैठकमा यसबारे विस्तृत छलफल हुन्छ।’
Shares
प्रतिक्रिया