ad ad

राजनीति


जनगणनामा पुन मगरलाई छुट्टै राख्नु गलत हो, सच्याउँछौँ : प्रधानमन्त्री

जनगणनामा पुन मगरलाई छुट्टै राख्नु गलत हो, सच्याउँछौँ : प्रधानमन्त्री

नेपालखबर
असार १, २०८० शुक्रबार १८:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाइ छुट्टै जातिको रुपमा राखिएको कुरालाई सच्याइने बताएका छन्।

शुक्रबार नेपाल मगर संघले भूमे÷भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रुपमा राखेर त्रुटी गरिएको कुरालाई सच्याउने प्रतिवद्धता गरेका हुन्।

‘मलाई यो तथ्यांककी मगर या अरु जनजातिलाई फुटाउने जस्तो हुन गयो भन्ने रिपोर्ट मलाई थिएन। पुन मगर मगर होइनन् भन्ने किसिमले जनगणनाको रिपोर्ट छ भन्ने जानकारी र रिपोर्टिङ मलाई भइसकेको थिएन,’ प्रधानमन्त्रीले भने, ‘आदिबासी, जनजाती महासंघले मलाई रिपोर्ट गरिसकेपछि मैले खबर गरिसकेको छु।’

उनले पुन मगर लगायतका अन्य जनजातिहरुलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएको बारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको पनि बताए। 

‘अहिले तथ्यांक कार्यालयको प्रमुख मान्छे विदेश भ्रमणमा भएको हुनाले आएपछि त्यसलाई स्पष्ट गर्ने र करेक्शन गर्ने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु। त्यसकारण फुटाउने काम हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘जातिहरुलाई फुटाएर देशको हीत हुँदैन भन्ने कुरामा म स्पष्ट छु। र मैले यो प्रक्रिया अगाडी बढाइ पनि सकेको छु।’

उनले जातीहरुलाई फुटाएर देशको हीत नहुने बताए। उनले त्रुटी सच्याउने प्रक्रिया अगाडी बढिसकेको पनि उल्लेख गरे।

मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भुमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरुलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रिय सभा सदस्य लगायतमा अघि सारेको पनि उनले बताए।

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले मगर समुदायलाई जातिय स्वार्थभन्दा माथि उठ्न आग्रह गरिन्। उनले जात, परिवार र भुगोलको नाममा विभाजित हुनु नहुने भन्दै एक भएर अगाडी बढ्नुपर्ने बताइन्।

‘हामीले प्रकृतिको पूजा मात्रै होइन। प्लाष्टिकहरु टिप्नुपर्छ। जलवायु परिवर्तनको कारणले गर्दा कयौँ पानीको मुहानहरु बन्द भएर मानिसले पानी खान नपाएर बिस्थापित हुनुपरेको छ पहाडतिर,’ उनले भनिन्, ‘कयौँ बस्तीहरु तराईमा खोलाले बगाइरहेको कुरा हामीले बिर्सनु हुँदैन। हामी आफ्नो स्वार्थ र सुविधाको लागि ठूल्ठूला बिल्डिङ बनाउँदै आफ्नो स्वार्थमा निहीत भएर आम जनताको चासो भुल्यौँ भने अन्याय हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .