राजनीति


अर्थशास्त्री भन्छन् : पाम आयल निर्यात बढ्याे भनेर खुसी हुनुपर्दैन

अर्थशास्त्री भन्छन् : पाम आयल निर्यात बढ्याे भनेर खुसी हुनुपर्दैन

मणि दाहाल
पुस २४, २०७६ बिहिबार १६:२२,

कश्मिर विवादको छायाँ नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाम आयलमा पर्ने देखिएको छ।

भारत सरकारले कश्मिर तथा नागरिकता संशोधन कानुनको विषयमा मलेसियासँग बढ्दै गएको कूटनीतिक तनावलाई मध्यनजर गर्दै पाम आयललाई खुलाबाट नियन्त्रित आयातित वस्तुको श्रेणीमा राखेपछि पाम आयल नेपालबाट निर्यात हुने हो कि होइन भनेर चिन्ता बढेको छ।

भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार प्रशोधित पाम तेल आयातमा कडाइ गरेको थियो। सोलगत्तै भारतमा पाम तेल निर्यात गर्दै आएको नेपाललाई प्रत्यक्ष असर पुग्ने देखिएपछि बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसँग बिहीबार छलफल गरेको थियो।

सरकारले व्यवसायीलाई भारतसँग पहल गर्ने आश्वासन दिएको थियो तर अर्थशास्त्रीहरुले भने मलेसियाबाट ल्याएको पाममा आधारित तेलको निर्यात दिगो नभएको बताएका छन्।

‘भारतले मलेसियासँग तनाव बढ्दै जाँदा आयात रोक्ने निर्णय गरेको हो। त्यसका असर हामीलाई पनि परेको हो। तर यो पहिलेदेखि नै दिगो हुने प्रकारको निर्यातको विषय नै थिएन’, अर्थशास्त्री केशव आचार्यले भने, ‘विदेशबाट ठूलो भाँडोमा ल्याउने र सानो–सानो टिनमा हालेर बेच्ने गरिएको थियो। त्यसको वृद्धि हेरेर दंग पर्ने मात्रै काम भएको थियो। यसले रोजगारी पनि खासै सिर्जना गरेको होइन।’

आचार्यले भनेजस्तै नेपाली उद्योगी व्यापारीहरुले मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयल ल्याएर प्रशोधन गरी भारततर्फ निकासी गर्ने गरेका थिए। आचार्यकै भनाइमा सहमत देखिन्छन् अर्का अर्थशास्त्री विशाल चालिसे पनि।

‘अहिले भारतले चालेको कदम आर्थिकभन्दा पनि बढी राजनीतिक रहेको छ। भारतले चालेको केही राजनीतिक कदमहरुप्रति मलेसियाले विरोध गर्दै आएको छ। नेपाली व्यापारीले मलेसियाबाटै ल्याएर बेच्ने हो’, अर्थशास्त्री चालिसेले नेपालखबरसँग भने, ‘पाम आयलको निर्यात वृद्धि बबल (पानीको फोका)जस्तै थियो। यो मलेसिया र भारतको तनावको बीचमा परेर फुट्न पनि सक्छ।’

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारत सरकारले जम्मु तथा कश्मिरलाई दिँदै आएको विशेष दर्जाको मान्यता हटाएपछि त्यसको आलोचना गरेका थिए। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै प्रधानमन्त्री महाथिरले भारत सरकारले कश्मिरमा गरेको मानवअधिकार हननको विषय उठाएका थिए।

यो पनि :
पाम तेलमा कडाइबारे नेपालले भारतसँग छलफल गर्ने

त्यसको केही समयपछि भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशका धार्मिक अल्पसंख्यकहरुलाई भारतको नागरिकता दिनसक्ने गरी ल्याएको कानुनको पनि मलेसियाले चर्को विरोध गरेको थियो। सोही कारण पछिल्लो समयमा मुस्लिम विश्वको ‘नेता’ बन्ने अभियानमा रहेको मलेसिया र भारतबीच तनाव बढेको छ।

चालिसेले निर्यात गर्ने विषयमा कम्तीमा ३० प्रतिशत भ्यालु एड गर्नुपर्ने नियम पनि पालना नभएको वस्तु भएको कारण भारतसँग सरकारी स्तरबाट दह्रोसँग कुरा राख्ने स्थान पनि नभएको बताए।

‘यसमा नेपाल सरकारका लागि धेरै विकल्प छ जस्तो लाग्दैन। तर आर्थिक विषय नभएर राजनीतिक भएको कारण नेपालको लागि भारतले आँखा चिम्लिदिन पनि सक्छ’, चालिसेले भने, ‘पाम आयलको विषय वनस्पति घ्यूको जस्तो होइन।’

नेपालबाट पछिल्लो ५ महिनामा भारतर्फ ११ अर्ब ५२ करोड रुपैयाँका पाम आयल निर्यात भएको थियो। जुन कुल निर्यातका करिब २५ प्रतिशत हिस्सा हो। गत वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो।

निर्यात भएको वृद्धिलाई सरकारले उपलब्धिको रुपमा व्याख्या गर्दै आएको थियो। तर विज्ञहरुले भने पाम आयल निर्यातको धरातल निकै कमजोर रहेको भन्दै जुनसुकै समयमा पनि समस्या हुनसक्ने चेतावनी दिएका थिए।

यो कुनै देशसँग सम्बन्धित छैन : भारत
भारतका विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीबार आयोजित पत्रकार सम्मेलनमा कुनै देशप्रति लक्षित नभएको बताए पनि व्यापारको विषय सम्बन्धमा आउने उतारचढावले प्रभावित हुने बताएका थिए।

‘यो कुनै देशसँग सम्बन्धित छैन। यो वस्तुसँग सम्बन्धित विषय हो’, रविश कुमारले भने, ‘कुनै पनि देशबीच व्यापार हुन उनीहरुबीचको सम्बन्धले असर पार्छ नै। व्यापारका सम्बन्धमा आउने उतारचढावले प्रभावित हुन्छ। म आयातकर्ता हुने हो भने सम्बन्धको विषयमा मनमा आउँछ नै।’

पत्रकारहरुले मलेसियासँग भएको सम्बन्धमा कारण नेपाल, इन्डोनेसिया र थाइल्यान्डबाट निर्यातलाई प्रभावित हुने गरी किन निर्णय गरेको भन्दै प्रश्न गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .