ad ad

राजनीति


सामाजिक सञ्जालमा किन पोखियो गगनको असन्तुष्टि?

थापाको स्टाटसमा अधिकांशले दिए पार्टी फुटाउन सल्लाह, फुट्छ कांग्रेस?
सामाजिक सञ्जालमा किन पोखियो गगनको असन्तुष्टि?

केशव सावद
बैशाख २५, २०८० सोमबार १५:११, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका नेताहरु मुछिँदा गर्माएको नेपाली राजनीति नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पछिल्लो अभिव्यक्तिले थप तरंगित बनेको छ। 

कांग्रेसका शक्तिशाली नेताहरुको नाम प्रकरणमा जोडिइरहँदा पार्टीकै तर्फबाट थप एक सांसद मन्त्री भएका दिन सामाजिक सञ्जालमार्फत् आएको उनको अभिव्यक्तिलाई लिएर कांग्रेसको प्रति नै संशय समेत उत्पन्न भएको छ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्दति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो,’ थापाले आइतबार बेलुकी सामाजिक सञ्जालमा लेखेका छन्। 

यो समाचार तयार पार्दासम्म उनको फेसबुक स्टाटसमा १८ घण्टाको अवधिमा झण्डै साढे ७ हजार प्रतिक्रियाहरु आएका छन्। फेसबुक प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिए पनि अधिकांशले महामन्त्री थापालाई पार्टी फुटाउन सुझाएका छन्। 

उनको पछिल्लो अभिव्यक्तिपछि कांग्रेस कार्यकर्ताहरुमा पार्टी फुट्ने त होइन भन्ने संशय पनि उत्पन्न भएको छ। महामन्त्री थापाको अभिव्यक्ति के कांग्रेस विभाजनतिर गएको संकेत हो? उनीनिकट युवा नेता शंकर तिवारी भन्छन्, ‘पार्टी फुट्दैन। यहीभित्र संघर्ष हुन्छ।’ 

महामन्त्री थापानिकट गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी पनि पार्टी नफुट्ने बताउँछन्। ‘पार्टी फुटमा जाने कुरा अहिलेसम्मको सोचाइ छैन। यो पार्टी फुट्छ भन्ने टिप्पणी महामन्त्रीजीको अभिव्यक्तिप्रतिको अतिरञ्जना हो। अलिअलि अतिरञ्जना हुँदै आएको छ,’ उनले भने। 

संकटको घडीमा गुज्रिरहेको कांग्रेस रुपान्तरणका लागि महामन्त्री थापाले कस्तो कदम चाल्छन् भन्ने चासो चौतर्फी देखिन्छ। किन आयो त उनको निराशा र चेतावनीमिश्रित अभिव्यक्ति?   

‘गठबन्धनका बैठकहरु भइराखेका छन्। सरकारको नीति तथा कार्यक्रम बनिरहेको छ। तपाईंहरुले कहीँ कतै महामन्त्रीलाई सहभागी गराइएको देख्नुभएको छ?’ थापानिकट एक नेता प्रश्न गर्दै भन्छन्, ‘राजनीतिक स्पेस र त्यसमा आफ्नो विचार, नीति, कार्यक्रम, सहभागिता लगायतका सबै पाटोहरु कहीँ नदेखिने, बाहिरबाट तिमीहरु के गरिराखेको छौँ भनेर जनता र आम कार्यकर्ताबाट प्रश्न आइरहने र पार्टी सञ्चालनका लागि दिइएका सुझावहरु नेतृत्वले नजरअन्दाज गरिरहेपछि अभिव्यक्त भएको टिप्पणी हो।’ 

पार्टीलाई विधानअनुसार सञ्चालन गर्नेबारे पटक–पटक प्रयास गर्दा पनि सभापति शेरबहादुर देउवाले वातावरण तयार नगरेपछि महामन्त्री थापामा रहेको चरम असन्तुष्टि सामाजिक सञ्जालमार्फत् पोखिएको ती नेताको भनाइ छ।   

‘विधानसम्मत ढंगबाट पार्टीलाई सञ्चालन गर्ने, पार्टीमा रहेका पदाधिकारी र सदस्यहरुको जिम्मेवारी अनुसार काम गर्ने सहज वातावरण तयार गर्ने, सहकार्य गर्ने दायित्व मूल नेतृत्वको हो,’ उनी भन्छन्, ‘तर, त्यस्तो वातावरण बनाउने सन्दर्भमा मूल नेतृत्वले आफ्नो ठाउबाट गरेको देखिँदैन। महामन्त्रीले मूल नेतृत्वसँग पटकपटक भिन्न मत राख्ने, छलफल गर्ने कामहरु गर्नुभयो। तर, एउटा सीमा हुन्छ नि, त्यो सीमामा पुगेको जस्तो देखिन्छ।’ 

प्रदेश सांसद सुवेदी उक्त अभिव्यक्तिलाई १४ औँ महाधिवेशनदेखि अहिलेसम्मको अवधिमा पार्टीको रुपान्तरणका लागि गरिएका प्रयासको समीक्षाका रुपमा अथ्र्याउँछन्। 

‘यो १४ औँ महाधिवेशनदेखि अहिलेसम्म आइपुग्दा डेढ वर्षको समीक्षा हो भन्दा हुन्छ। उकुसमुकुस थियो। अहिले अभिव्यक्त भयो। यो पार्टीको आन्तरिक कुराहरुसँग सम्बन्धित छ,’ उनको भनाइ छ। 

रुपान्तरित भएर पार्टी सञ्चालन गरौँ भन्दा मूल नेतृत्वबाट उपयुक्त वातावरण बनाउन सहयोग गर्ने तादम्यता नदेखिएपछि थापाको उक्त अभिव्यक्ति आएको सुवेदीको भनाइ छ। 

महामन्त्री थापानिकट युवा नेता तिवारी रुपान्तरण तथा पुस्तान्तरण गरेर पार्टीलाई अगाडि बढाउनु पर्ने पक्षमा रहेका नेता–कार्यकर्ताको आशा जोगाइराख्न उक्त अभिव्यक्ति सार्वजनिक भएको बताउँछन्। थापाको पछिल्लो अभिव्यक्ति पार्टीलाई विधानसम्मत् ढंगबाट सञ्चालनका लागि सभापति शेरबहादुर देउवामा माथि दबाब बढाउने प्रयास स्वरुप आएको उनको भनाइ छ। 

‘सभापतिमाथि दबाब बढाउन र रुपान्तरण तथा पुस्तान्तरण गरेर नेपाली कांग्रेसको शक्ति बढाउनु पर्छ भन्ने आशामा बसेका कार्यकर्ताको आशा जोगाइराख्न अभिव्यक्ति आएको हो,’ तिवारीले नेपालखबरसँग भने।  

उनले सामाजिक सञ्जाल फेसबकुमा ‘महामन्त्री गगन थापाको छटपटी’ भन्दै स्टाटस लेखेर पनि अभिव्यक्तिबारे थप प्रस्ट्याएका छन्। 

‘२०७८ मंसिरमा सम्पन्न महाधिवेशनको तरंग दुई वर्ष पूरा नहुँदै कार्यकर्तापंक्ति माझ हतोत्साह, बेमेल र परम्पराको निरस निरन्तरतामा सीमित हुन पुगेको स्वीकारोक्ति हो,’ तिवारीले लेखेका छन्, ‘त्यो भासबाट पार्टीलाई बाहिर निकाल्ने हुटहुटी पनि हो। यो समस्याको समाधान पुरानो तौरतरिकाबाट सम्भव छैन।’ 

नजिकबाट चिन्ने एक नेताका अनुसार महामन्त्री थापाले पार्टी सुधारका लागि सभापति देउवासँग कोठाभित्र गर्दै आएको संघर्षलाई अब बाहिर पनि पेचिलो ढंगले बढाउने तयारी गरेका छन्। 

‘भित्र टेबलमा भइरहेको संघर्षलाई अब भित्र–बाहिर दुवैतिरबाट पेचिलो ढंगबाट बढाउने तयारी देखिन्छ,’ ती नेता भन्छन्, ‘नत्र बाहिर पार्टीपंक्तिले बाहिर आएर किन भनेनौ? तिमी लडिरहेका थियौ भन्ने हामीलाई के थाहा? तिम्रा कुरा मिल्दा चुप लागेको थियौ त भनेर प्रश्न गर्ने भए नि त।’

महामन्त्री थापाको अभिव्यक्तिलाई संस्थापन समूहले कसरी लिएको छ? सहमहामन्त्री महेन्द्र यादव भन्छन्, ‘हाम्रो केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्दैछ। बीचबीचमा पदाधिकारी बैठकहरु बस्दै आएका छन्। सबैले आ–आफ्ना कुराहरु राख्दै आउनुभएको छ। उहाँले पनि राखिरहनुभएकै छ। केन्द्रीय समितिमा फेरि राख्नुहोला।’

संस्थापन पक्षीय केन्द्रीय सदस्य नैनसिंह महर भने महामन्त्री थापाको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिलाई लिएर प्रतिक्रिया दिनुपर्ने अवस्था नरहेको बताउँछन्। 

‘उहाँको स्टाटस के अपेक्षा राखेर आएको हो, कसका बारेमा लक्षित हो भन्नेबारे प्रष्ट छैन,’ उनले भने, ‘अनुमान गर्ने कुरा एउटा होला। मेरो व्यक्तिगत रुपमा कुरा पनि भएको छैन। पदाधिकारी बैठक पटकपटक बस्दै आएको छ। के कुरा मिल्यो, के कुरा मिलेन हामीलाई थाहा छैन। केन्द्रीय समिति बैठकमा कुरा राख्नुहोला। समीक्षा होला।’

युवा नेता महर अहिले पार्टी पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले गर्ने निर्णयका आधारमा चलिरहेको बताउँछन्। पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयहरुबाट प्रतिफल भने राम्रो नआएको उनको भनाइ छ। 

‘लामो समयदेखि पदाधिकारी र कार्यसम्पादन समिति बैठकले गरेका निर्णयहरुको आधारमा पार्टी चलिरहेको छ,’ महर भन्छन्, ‘निर्णयबाट प्रतिफल राम्रो आएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .