राजनीति


आर्थिक वृद्धिदर झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्छ : विष्णु पौडेल

आर्थिक वृद्धिदर झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्छ : विष्णु पौडेल

नेपालखबर
बैशाख २५, २०८० सोमबार १४:५१, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झुर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्। 

उनले २०७४ अघि औसतमा ४ प्रतिशतमा रहेको आर्थिक वृद्धि २०७४ देखि २०७६ सम्म ३ आर्थिक वर्षमा औसतमा ६.५ प्रतिशत हाराहारीमा रहेको भन्दै चालु आर्थिक वर्षमा ७ वा ८ प्रतिशत हुँदै डबल डिजीटमा पुग्नुपर्नेमा अहिले १.८६ प्रतिशत पुग्ने प्रक्षेपण हुनुको जिम्मवारी  कसले लिने भन्दै प्रश्न गरे।

‘६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धि अहिले कसरी १.८६ प्रतिशतमा झर्यो भन्दै प्रश्न गरेका छन्। सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हुने भनेपनि केन्द्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्ष १.८६ प्रतिशत आर्थिक वृद्धि हुने भनेको र चालु आवको अन्त्यसम्म त्यो पनि पूरा नहुने हो की भन्ने आशंका छ,’ उनले भने, ‘२०७४ अघि औसतमा ४ प्रतिशतमा रहेको आर्थिक वृद्धि २०७४ देखि २०७६ सम्म ३ आर्थिक वर्षमा औषतमा ६.५ प्रतिशत हाराहारीमा रहेको थियो। त्यो अंक ७, ८ प्रतिशत हुँदै डबल डिजिटमा पुग्नुपर्नेमा अहिले १।८६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ। यो प्रक्षेपण मात्रै हो। चालु आवको अन्त्यसम्म त्यो पनि पूरा नहुन पनि सक्छ।’

साथै, पौडेलले केन्द्रीय तथ्याङ्क विभागले १।८६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेपनि चालु आवको अन्त्यसम्म त्यो पनि पूरा नहुने आशंका व्यक्त गरे।

‘देशलाई यो अवस्थामा कसले पुग्यो? त्यसका लागि जिम्मेवारी लिने कसले हो? देश आर्थिक मन्दी, आर्थिक संकट हुँदै फेलियर कन्ट्रीतर्फ जान लागेको छ,’ पौडेलले भने, ‘गत वर्षको यही समयमा अहिले संकलन भएको राजश्व १३ प्रतिशतले कम भएको छ। राजश्व परिचालन निकै लाजमर्दो रहेको छ। गत आवको यो अवधिमा ८ खर्ब १७ अर्ब राजश्व संकलन भएकामा चालु आवको सोही अवधिमा ७ खर्ब ८ अर्बमा मात्रै सिमित भएको छ।’

विनियोजन विद्येयकको सिद्दान्त र छलफलमा आर्थिक मन्दीलाई छोप्न खोजिएको आरोप पनि उनले लगाए। 

‘सरकारले अर्थतन्त्रका समस्या चिन्न नसक्ने हो भने सरकारका आधिकारीक तथ्याङ्कहरुलाई विश्वास गरेर अगाडि बढ्न नसक्ने हो भने त्यही अनुरुपमा सरकारले विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतालाई परिमार्जन गर्न नसक्ने, समस्या केन्द्रीत र समाधानमुखी नहुने हो भने हामी कहीँपनि पुग्दैनौं,’ उनले भने, ‘मुलुकको अर्थतन्त्रको ओरालोको यात्रा रोकिदैन । ब्रेक फेल भएको गाडीले ओरालोमा यात्रा गरेको जस्तो मुलुकको अर्थतन्त्र ओरालो नलागोस्।’ 

उनले सरकारले वास्तविकतामा रहेर बजेट ल्याउन नसके मुलुकको अर्थतन्त्रको ओरालोको यात्रा नरोकिने दाबी गरे।

उनले सरकारले कर्मकाण्डी शैलीमा ल्याएको विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताले काम नगर्ने पनि बताए। 

‘सरकारले कर्मकाण्डी शैलीमा ल्याएको विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताले हुँदैन। त्यो सिद्धान्त र उचाईबाट आउनुपर्छ। कर प्रणालीलाई प्रगतिशिल र न्यायपूर्ण बनाउने, करको दायरा विस्तार गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउने र कर चुहावटलाई नियन्त्रण गर्ने हिम्मतका साथ आउनुपर्छ,’ पौडेलले भने, ‘टालटुल गरेर राजश्व परिचालनमा देखापरेका समस्या समाधान हुन सक्दैन। सहकारी, सरकारी र निजी क्षेत्रविचको सहकार्यलाई बढाउने, सहकारी र निजी क्षेत्रको मनोबल उठाउने,उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धि गर्ने र व्यापार असन्तुलन कम गर्ने दृष्टिकोण लिएर सरकार आउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .