राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरणमा गगन थापा भन्छन्- अझै गहिरोसँग अनुसन्धान होस्, कोही नछुटून्

‘संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन’
नक्कली भुटानी शरणार्थी प्रकरणमा गगन थापा भन्छन्- अझै गहिरोसँग अनुसन्धान होस्, कोही नछुटून्

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ११:१९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गरिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले प्रकरणमा संलग्न जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि कोही नहुने स्मरण गराउँदै उनीहरुलाई कारबाही गरिनुपर्ने बताएका हुन्।

‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्,’ थापाले बिहीबार बिहान ट्विटरमा लेखेका छन्, ‘कोही नछुटून्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको भन्दै उनले खुसी व्यक्त गरेका छन्। 

हालसम्म नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि तत्कालीन रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका हुन्।

यस्तै बुधबार प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। यस्तै सोही प्रकरणमा आज एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ गरिएको छ भने टोपबहादुरलाई प्रहरीले खोजिरहेको छ। 

यस प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरू हाल फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .