ad ad

राजनीति


राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ बेहोर्ने घोषणा गरेपछि गगनलाई विश्वप्रकाशको ‘धन्यवाद’

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ बेहोर्ने घोषणा गरेपछि गगनलाई विश्वप्रकाशको ‘धन्यवाद’

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १४:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचारका लागि भएको सम्पूर्ण खर्च आफैँ बेहोर्ने घोषणा गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। 

भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर गत आइतबार राति स्वदेश फर्किएका राष्ट्रपति पौडेलले मंगलबार विज्ञप्ति जारी गरी त्यहाँ लागेको सबै खर्च आफूले नै बेहोर्ने घोषणा गरेका हुन्। 

यसअघि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेले चिकित्सकको सल्लाहअनुसार यही वैशाख ६ गते भारत गएका थिए। यसपछि कतिपयले स्वदेशमा उपचार नगराई विदेश गएर राज्यलाई आर्थिक भार पारेको भनी राष्ट्रपति पौडेलको आलोचना गरिरहेका थिए। 

यसबीच सोमबार एक सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री थापाले आफ्ना लागि भारतमा भएको उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्न राष्ट्रपति पौडेललाई आग्रह गरेका थिए। 

त्यसको भोलिपल्टै मंगलबार राष्ट्रपतिको स्वकीय सचिवालयले विज्ञप्ति जारी गरी सम्पूर्ण उपचार खर्च राष्ट्रपति पौडेले आफैँले बेहोर्ने जानकारी गराएको हो।  

यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेसका अर्का महामन्त्री शर्माले प्रश्न उठाएकामा सहकर्मी गगन थापालाई धन्यवाद भनेका हुन्। 

‘हामी चाहन्छौँ– हामी हरेकको क्रियाकलापमाथि प्रश्न उठ्नुपर्छ, हामी हरेकले जवाफदेही बन्नैपर्छ, लोकतन्त्रवादी मात्र हुनु र लोकतान्त्रिक हुनुको फरक पुष्टि हुनुपर्छ’, महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रश्न उठाउने गगन थापालाई धन्यवाद! सम्माननीय राष्ट्रपतिलाई पूर्ण स्वास्थलाभ कामना।’

राष्ट्रपति पौडेल पनि राष्ट्रपति हुनुअघि कांग्रेसकै वरिष्ठ नेता थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .