राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको बताए। विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २÷२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको पनि उनले बताए।
‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरुले रिफर गरेकै थिएनन्, जहाँज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा, अहिले फेरि लडाकुलाई राहत,’ लिङ्देनले भने, ‘जबकी सरकार आफैँ भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपैयाँ छ यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा, उनीहरू कहाँ पुगिसके, कति बितिसके, राज्य स्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरु बजबुत हुनुपर्छ।’
उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रम्हलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए। उनले सबैखालका नकारात्मकतालाई त्यागेर अघि बढ्नुपर्ने पनि बताए।
अध्यक्ष लिङदेनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारे।
उनले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको बताए।
Shares

प्रतिक्रिया