ad ad

राजनीति


भरतपुरको नयाँकिरण माविमा तनाव, नाराबाजी गर्दै मतदाता, कार्यकर्ताबीच कुटाकुट

भरतपुरको नयाँकिरण माविमा तनाव, नाराबाजी गर्दै मतदाता, कार्यकर्ताबीच कुटाकुट

नयाँकिरण मावि मतदान केन्द्रबाहिरको तनाव।


नेपालखबर
बैशाख १०, २०८० आइतबार १३:३९, काठमाडौँ

उपनिर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-११ स्थित नयाँकिरण माविमा तनाव बढिरहेको छ।

सभापति रवि लामिछाने आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनको पक्षमा नाराबाजीसँगै तनाव सुरु भएको थियो।

बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको छ। रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए। 

त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो। झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो।

तर तीन घण्टादेखि मतदान रोकिएपछि अहिले मतदाताले आन्दोलन थालेका छन्। आफूहरुलाई तीन घण्टादेखि लाइनमा उभ्याइएको भन्दै मतदाताले आन्दोलन थालेका हुन्। 

लाइनमा उभिएका मतदाताहरुले 'शान्ति सुरक्षा कायम गर', 'मतदान गर्न पाउनै पर्छ', 'धाँधली गर्न पाइँदैन', 'मतदानको अधिकारी नखोस' जस्ता नारा लगाइरहेका छन्। 

यसैबीच त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलका कार्यकर्ताबीच कुटाकुट भएको छ। दुई पक्षबीच हात हालाहाल भएपछि अवस्था शान्त पार्न प्रहरीलाई हम्मे परेको छ। 

त्यहाँ एमालेका कार्यकर्ताहरुले रास्वपा सभापति रवि लामिछानेले माफी मागेपछि मात्रै मतदान अघि बढ्ने अडान लिइरहेका छन्।

अहिले मतदान अघि बढाउन सर्वदलीय बैठक बसिरहेको छ। तर अझै पनि मतदान अघि बढाउने विषयमा सहमति जुट्न सकेको छैन। 

विवादपछि मतदानस्थलबाहिर सेनाको थप टोली पनि पुगेको छ। मतदानस्थल क्षेत्रमा अहिले सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको पनि टोली तैनाथ भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .