नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भीर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन्।
कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भिरपूर्वक लिन पनि सरकारलाई सचेत गराए।
व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढी दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भिरतापूर्वक नलिएको भनि सरकारलाई प्रश्न समेत गरे।
हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरेपनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखवर जस्तै बन्नु दुखद रहेको पनि बताए।
सांसद पौडेलले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भिर त्रुटीहरु देखिएका छन्। कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति बनेको छ। हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवई बाट काठमाडौं उडनै लाग्दा पाईलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे। पछिल्लो रिर्पोटले प्रष्ट भन्छः नेपालमा हवाइ दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरु हुन्छन्। तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ।’
उनले थपे, ‘हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन्। तर हाम्रोमा यस विषयलाई किन गम्भिरतापूर्वक लिईदैन? यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको विषयबाट हटेको छैन। त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ। त्यसैले यस सम्मानित संसदमार्फत् म सरकारलाई आग्रह गर्न चाहन्छु–हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भिरपूर्वक लिइयोस्। उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस्।’
सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया