सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनमा हुने व्यापक चुहावट रोक्नुपर्ने बताएकी छन्।
नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारी ढुकुटीबाट विज्ञापनको नाममा धेरै रकम जाने तर मिडिया हाउसमा नपुग्ने अवस्था रहेको उल्लेख गरिन्। उनले यो अवस्था रोकनुपर्ने बताइन्।
उनले मिडियाको भूमिका खबरदारी गर्ने खालको हुनुपर्ने बताइन्।
मन्त्री शर्माले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनको लागि पनि मिडिया क्षेत्रले भूमिका खेल्नुपर्ने भनाई राखिन्।
उनले मिडिया तथा पत्रकारिता क्षेत्रमा सरकारले गर्नुपर्ने कुराहरु के के हुन्, महिलालाई कसरी नेतृत्वमा ल्याउन सकिन्छ, गहन छलफल गरेर सुझाव दिन आग्रह गरिन्।
मन्त्री शर्माले दूरसञ्चार ऐनको अवधारणा पत्र स्वीकृत भई निर्माणका क्रममा रहेको पनि जानकारी गराइन्।
लुम्बिनीमा आयोजित राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता सुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयमा समूहगत छलफल गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए।
राष्ट्रिय मिडिया सम्मेलनमा १४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकारहरु, मिडिया क्षेत्रका विज्ञ, प्रतिनिधिमुलक रुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनीधिहरु गरी २५० जना भन्दा बढीको सहभागिता रहेको छ।
प्रतिक्रिया