मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भयो। नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो।
संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए।
पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्रै मतदान गरे। सो निर्वाचनको पहिलो चरणमा कांग्रेस एमाले गठबन्धनका उम्मेदवार रामवरण यादवले दुई सय ८३ तथा माओवादी उम्मेदवार रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरे।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो।
दोस्रो चरणको निर्वाचनमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गरे। संविधानसभामा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए।
नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो।
यदि दलहरुबीच सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो।
०७२ मा जारी भएको हालको संविधानमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट बहुमतबाट हुने व्यवस्था छ।
वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो।
उक्त निर्वाचनमा संघीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता थिए।
त्यतिबेला संघीय संसद् सदस्य ३२६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत) ले मतदान गरेका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
निर्वाचनमा आठ जनाको (०.९३ प्रतिशत) मत बदर भएको थियो।
संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो। रासस
Shares
प्रतिक्रिया