राजनीति


प्रधानमन्त्रीको दाबी : मैले सरकार सम्हालेको दुई महिनामै अर्थतन्त्रमा सुधार देखियो

प्रधानमन्त्रीको दाबी : मैले सरकार सम्हालेको दुई महिनामै अर्थतन्त्रमा सुधार देखियो

गोरखाको बारपाक सुलिकोटमा आयोजित कार्यक्रममा प्रचण्ड


नेपालखबर
फागुन १५, २०७९ सोमबार १६:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले तेस्रो कार्यकालका लागि सरकार सम्हालेको दुई महिनामै अर्थतन्त्रमा सुधार भएको बताएका छन्। 

जनयुद्धका सहिद दिलबहादुर रम्तेलको २८ औँ स्मृति दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा सोमबार आयोजित कार्यक्रममा उनले यसो भनेका हुन्। 

सम्बोधनका क्रममा उनले आफूले पुस ११ गते प्रधानमन्त्री पद सम्हालेको दुई महिनामै अर्थतन्त्रमा सुधार आएको बताएका हुन्। 

'म प्रधानमन्त्री भएको दुई महिना नबित्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ', उनले भने, 'केही ठूला परियोजना र सुशासनमार्फत प्रधानमन्त्रीको तेस्रो कार्यकाल इतिहासमा सम्झिने खालको बनाउने गरी लागेको छु।'

देशमा राजनीतिक उदारचढाव भइरहने बताउँदै उनले भोट माग्दा जुन दल मिले सरकार बन्दा फरक परिस्थिति भएको र राष्ट्रपतिको चुनावसम्म नयाँ परिवेश बनिसकेको दाबी गरे। 

‘हिजो मात्रै राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा परिस्थिति फेरिएको छ', उनले भने, 'एमालेसँग पनि लगातार कुरा भइरहेको छ। फागुन २५ गतेसम्म जाँदा सर्वसम्मत हुन सक्छ। नभए नयाँ ढंगले अघि बढिन्छ।’

उनले जनयुद्धमा मारिएकाहरुलाई राष्ट्रिय सहिद घोषणा गरिछाड्ने पनि बताएका छन्। 

'२०६४ सालमा प्रधानमन्त्री हुँदा राष्ट्रिय सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित भएन। त्यतिबेलाको माइन्यूट पत्ता लागेपछि राजपत्रमा नामावली प्रकाशित गरिनेछ', उनले भने, 'पहिलो पटक फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने भनेर नेपाल सरकारबाट निर्णय भएको छ। सहिद, बेपत्ता योद्धाप्रति यो एउटा सम्मान हो।’

नेपाली सेनाको हेलिकोप्टरबाट बारपाक सुलिकोट पुगेका उनी त्यहाँबाट गोरखा क्षेत्र नम्बर २ को पालुङ्टारमा आयोजित कार्यक्रममा सहभागी भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad