मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताएका छन्।
मुस्लिम समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेका हुन्।
तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरुलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्न समेत उनले आग्रह गरे।
‘जुन तत्वले हामी एक अर्कालाई टुक्रा पारेर, विभाजित बनाउने प्रयास गरेर हामीलाई किन चाहियो मुस्लिम क्लस्टर, हामी मधेसमा बस्नेलाई मधेसी नै ठिक छ भन्ने किसिमको आवाजहरु गाइँगुइँ सुन्छु,’ मियाँले भने, ‘यो घातक कुरा हो। क्षणिक फाइदा हेरेर, क्षणिक लोभमा परेको खण्डमा पाएको उपलब्धिहरु सबै गुम्नसक्छ। यसमा सावधान हुनुपर्छ। हामीसँग श्रोत, साधनको कमी छ, बजेटेको कुरा गर्ने हो भने गाउँपालिकाको आधा पनि बजेट नै छैन।’
अध्यक्ष अन्सारीले कोही व्यक्तिको क्षणिक लाभ र लोभमा परेर अहिलेसम्म मुस्लिम समुदायले पाएका उपलब्धिहरु गुम्न नदिन सचेत गराए।
मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको गुनासो पनि गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ साहले आफू खान नपुगेर र नाम कमाउनका लागि राजनीतिमा नआएको बताए।
उनले संसदमा आफू उपस्थित हुँदा आफ्नो समयको अवमूल्यन भएको बताए।
Shares

प्रतिक्रिया