पछिल्लो सत्ता समीकरणले नेपाली राजनीतिको सम्भावित परिणाम यही होला भनिहाल्न निकै कठिन छ।
छिनछिनमा भइरहेका परिवर्तनले राजनीतिको गतिबारे विश्लेषण गर्न नसकिने र गरिहाले मिल्दै नमिल्ने अवस्था छ।
ठीक यस्तै अवस्था देखिँदैछ प्रतिनिधिसभाका सभामुखको चुनावमा पनि।
बिहीबार तय भएको चुनावको लागि सत्ता साझेदार दल र कांग्रेस गठबन्धन बनेको छ।
सत्ता साझेदार दलको साझा उम्मेदवारमा नेकपा एमालेका स्थायी समिति सदस्य एवम् सांसद देवराज घिमिरे बनेका छन्।
यस्तै कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको साझा उम्मेदवारका रुपमा इश्वरी न्यौपाने छिन्। उनी कांग्रेसकी मनोनीत सांसद हुन्।
रोचक के छ भने अहिलेसम्मको संसदको अंक गणित हेर्दा एमालेका घिमिरे अगाडि छन्।
सत्ता साझेदार दलका साझा उम्मेदवारका रुपमा बुधबार ४ माघमा सभामुखको उम्मेदवारी दिएका घिमिरेको पक्षमा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ छन्।
यस्तै उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ९ (मत दिन पाउने ८), जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ।
त्यसबाहेक सत्ता साझेदार दलमै रहेको जनमत पार्टीले मन्त्रालयमा चित्त नबुझेको भन्दै सरकारमा सहभागी भएको छैन।
उसले मागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएर खानेपानी मन्त्रालयमा मिल्काइएको आरोप लगाएको छ।
यस्तै जेलमा रहेका रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले के गर्छ निश्चित छैन।
यी दुई दलको १० सांसद छन्। यस्तै स्वतन्त्र २ सांसद पनि छन्।
यी सबैले कांग्रेसकै उम्मेदवार न्यौपानेलाई मत दिए १२५ मत प्राप्त गर्छन्। सभामुखको चुनाव जित्न १३८ मत पाउनुपर्छ।
तर, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदले घिमिरेलाई मत दिए झन् बढी पाउनेछन्।
अहिलेकै अवस्था कायम रहे र सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र राप्रपा एक भए घिमिरेले सभामुखको चुनाव जित्ने देखिन्छ।
तर, यी दलमध्ये कुनैले फ्लोर क्रस गरेको अवस्थामा परिस्थिति फरक हुन्छ।
किनभने कांग्रेसको गठबन्धनलाई जम्मा १३ मतको आवश्यकता छ।
दलहरु छिन्नभिन्न
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको संख्या १६९ थियो। ३ स्वतन्त्रसहित ७ दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेकाले १० पुसमा उनी नियुक्त भएका थिए।
तर, २६ पुसमा विश्वासको मत माग्दा राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)बाहेक सबै दलका सांसदले मत दिए।
सत्ता साझेदार दलबाट मात्रै होइन, कांग्रेसको समेत पुरै मत पाएका प्रचण्डले राष्ट्रिय सहमति कायम गराउने प्रयासस्वरुप मंगलबार ३ पुसमा सर्वदलीय बैठक राखेका थिए।
तर, सभामुख निर्वाचनमा सत्ता पक्षमा रहेकै दल विभाजित भएका छन्।
सरकारलाई समर्थन गरेको र मन्त्री समेत बनाउने तयारीमा रहेको जसपाले सभामुख चुनावमा कांग्रेसकी उम्मेदवार न्यौपानेलाई सघाउने निर्णय गरेको छ।
एकीकृत समाजवादी त कांग्रेसकै गठबन्धनमा छ।
दलहरु यताउता भएकै कारण सभामुखको चुनावी परिणाम आकलन गर्न नसकिने देखिन्छ।
तर, सत्ता साझेदार दलहरुमध्ये जनमत, नागरिक उन्मुक्ति यताउता नभए एमालेकै उम्मेदवार घिमिरेले सभामुख बन्ने अवसर पाउनेछन्।
संसदको यही अंकगणित लिएर सभामुखको बिहीबार (५ माघ)मा हुने चुनावबाट सभामुख बन्न घिमिरे ढुक्क देखिन्छन्।
उनी ४ माघमा सभामुख उम्मेदवारी दर्ता गराएपछि निकै उत्साहित थिए।
‘म जिम्मेवारीमा पुग्ने निश्चित छ। हिजोका शिक्षाबाट अघि बढ्छु। तटस्थ रहेर चलाउँछु,’ उनले भने, ‘प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कम रहन दिन्न।’
तर, कांग्रेसकी न्यौपानेले पनि जित्ने दाबी गरिन।
‘निर्वाचन लड्दै गर्दा हार्छु भनेर कोही पनि जाँदैन। म यो निर्वाचनमा पक्कै जित्छु,’ न्यौपानेले भनिन, ‘मेरो जित्ने आधार सांसदको मत हो। निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो। सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो। मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थरुपमा रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद् चलाउँछु।’
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन्।
Shares
प्रतिक्रिया