राजनीति


शीतलनिवासका ती दुई घण्टा जसले शीर्ष नेतृत्वलाई झस्काइदियो

शीतलनिवासका ती दुई घण्टा जसले शीर्ष नेतृत्वलाई झस्काइदियो

मणि दाहाल
पुस १०, २०७६ बिहिबार १७:४८,

गत आइतबार सत्तारुढ नेकपाको स्थायी समितिको बैठक चलिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रभावशाली मन्त्रीहरुसहित एक दर्जन नेताहरुसँग भेटघाट गरेको खबरले ठूलै राजनीतिक तरंग ल्यायो।

बैठकको अध्यक्षता गरिरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शतिल निवास भेलामा सहभागी भई फर्केका १० स्थायी समिति सदस्यहरुलाई स्पष्टिकरण नै सोधे।

अध्यक्ष दाहालले स्थायी समितिको बैठक चल्दाचल्दै १० जना सदस्यहरु एकैचोटि किन बाहिर भनेर प्रश्न गरेपछि शितल निवास भेटभाटमा सहभागीहरुको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्टीकरण दिँदै माफी नै मागे।

उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपतिसँग सामुहिक छलफल गरेर आएको बैठकमा जानकारी गराए। त्यसलगत्तै स्थायी समितिका सदस्यहरुले सो घट्नालाई ‘राष्ट्रपति सक्रिय हुन लागेको संकेत’ का रुपमा अथ्र्याए र आपत्ति जनाए।

त्यो विषयलाई लिएर स्थायी समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली र सदस्य भीम रावलबीच सवाल जवाफ नै भएको थियो।
बैठकमा रावल बाहेक रघुजी पन्त, बेदुराम भुसालसहितका अरु नेताहरुले पनि शितल निवासको सामुहिक छलफलको आलोचना गरेका थिए। आइतबार बिहान नौ बजेदेखि साव ११ बजेसम्म राष्ट्रपति भण्डारीसँग सामुहिक भेट गरेका नेताहरु शितल निवासबाट ‘लन्च’ गरेर बाहिरिएका थिए। त्यसपछि सो समुह सिधै नेकपा केन्द्रीय कार्यालय धुम्बाराही जाँदा पनि बैठकका लागि निर्धारित समयभन्दा ५० मिनेट ढिलो भैसकेको थियो।

राष्ट्रपति भण्डारीले ‘राजनीतिक सन्देश’ दिने प्रकारले आयोजना गरेको सो सामुहिक छलफललाई नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सहज रुपमा लिएका छैनन्।

‘राष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिबाट टाढा छैन है भन्ने सन्देश दिने प्रकारले त्यो भेटघाट आयोजना गर्नु भएको प्रष्ट छ’, स्थायी समितिका एक नेताले भने, ‘राष्ट्रप्रमुखको यो शैलीले कोटेश्वर र खुमलटार दुवैतिर संशयको अवस्था सिर्जना गरेको छ।’
सो बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठक हुनुभन्दा पाँच दिनअघि राष्ट्रपति कार्यालयले ‘समाजवादी अर्थतन्त्रको विषयमा राष्ट्रपतिले केही छलफल गर्न चाहनुभएको छ’ भन्दै आमन्त्रण गरेको थियो।

‘राजनीति र अर्थतन्त्रमा जानकार रहेका सत्तारुढ दलका नेताहरुसँग सामाजवादी अर्थतन्त्र बारेमा छलफल गर्न चाहानु भएको छ भनेर खबर गरिएको थियो’, बैठकमा सहभागी भएका एक मन्त्रीले भने, ‘सबैलाई त्यो साता स्थायी समिति बैठक शुरु भएपछि नै आमन्त्रण गरिएको थियो।’

राष्ट्रपतिसँग छलफल गर्न पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्थायी समिति सदस्य देवेन्द्र पौडेल, अर्थमन्त्री युवराज खतिवडा र नेता प्रेम दंगाल शितल निवास पुगेका थिए।

खतिवडा र दंगाल बाहेक अन्य सबै नेता नेकपाका स्थायी समिति सदस्य हुन्।

भेलामा सहभागी स्थायी समितिका एक सदस्यका अनुसार राष्ट्रपतिले संविधानले भनेको समाजवाद उन्मुख अर्थतन्त्र कसरी कार्यान्वयन हुन्छ? समाजवादी विकास भनेको के हो? बजेट कसरी कार्यान्वयन हुँदैछ? नेपाल ट्रष्टको जग्गा विवाद के हो, काठमाडौंमा सडकका खाल्डाखुल्डी किन पुरिएनन्? जस्ता दर्जन प्रश्न राखेकी थिइन।

‘यहाँ सहभागी हुनु भएको तपाईंहरु मध्ये कति मभन्दा जेठो पनि हुनुहोला, कति मसँगैको हुनुहोला। कोही कान्छो पनि हुनुहोला, तर जिम्मेवारीको हिसाबले म अहिले हजुरआमा जस्तो हुँ’, सामुहिक छलफलमा राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘जसरी देश चलेको छ, त्यसमा मेरो चासो रहन्छ र चिन्ता रहन्छ। त्यसैले म सक्रिय भैरहनु पर्ने हुन्छ।’

छलफलमा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सत्तारुढ दलको भएको तर नेकपामा नेताहरु त्यसतर्फ नलागेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।

‘उहाँले १०–१२ वटा प्रश्नहरु गर्नुभयो’, ती मन्त्रीले भने।

बैठकमा सहभागी अर्का एक मन्त्री भन्छन्, ‘मन्त्रीहरुसँग उनीहरुको मन्त्रालय अन्तर्गत भैरहेको कामको बारेमा पनि राष्ट्रपतिले प्रधानमन्त्रीले झैं जानकारी लिनुभयो।’

राष्ट्रपति भण्डारीले नेताहरुसँग सामुहिक छलफलमा काम हुन सकेन भने जनतामा निरासा चुलिन्छ भन्दै प्रश्न गरिन्, ‘अहिले नगरे कहिले गर्ने?’

छलफलमा राष्ट्रपति भण्डारीले पटक पटक ‘यस्ता बैठकहरु पहिले पनि हुने गरेको’ जिकिर गरेकी थिइन्।

‘राष्ट्रपति भण्डारीलाई जति बुझेका थियौं, छलफलमा उहाँको प्रस्तुती हेर्दा त्यति स्वभाविक लाग्दैनथ्यो’, स्थायी समितिका ती सदस्य भन्छन्, ‘राष्ट्रपति कुनै न कुनै रुपमा सक्रिय हुन खोजेको जनाउ त्यसले दिन्थ्यो।’

शितल निवासमा राष्ट्रपति भण्डारीले राखेका जिज्ञासाको जवाफ आठ जना नेताहरुले दिएका थिए। समय अभावको कारण सामुहिक छलफलमा सहभागी भएकामध्ये चार जना नेताहरुले आफ्नो कुरा राख्न पाएनन्। छलफलमा सहभागी रहेका भुसाल, रिमाल, खतिवडा र दंगालले आफ्नो धारणा राखेनन्।

स्थायी समितिको बैठक चलिरहेको भन्दै राष्ट्रपति कार्यालयले पूर्वनिर्धारित ११ बजेको कार्यक्रमलाई ९ बजेमा सारेको थियो।
राष्ट्रपतिसँग छलफल चलिरहँदा सहभागी नेताहरुले पटक पटक स्थायी समितिको बैठकमा जान हतार भएको भन्दै छोट्याउन खोजेका थिए।

नेताहरू हतारिएपछि राष्ट्रपति भण्डारीले ‘यहीँ बैठक राखौं त’ भनेर सोधेकी थिइन्।

‘राष्ट्रपतिले त्यस्तो भन्नु भएपछि एक जना साथीले यतै बैठक राख्न थाल्नुभयो भने त दुवै अध्यक्षहरु कुदेर यतै आइहाल्नु हुन्छ भन्दै रमाइलो गर्नुभएको थियो’, छलफलमा सहभागी ती मन्त्रीले भने।

पदको मर्यादा नाघेर राजनीतिमा सक्रिय भएको भन्दै राष्ट्रपति भण्डारीको आलोचना हुँदै आएको छ। केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच कार्यविभाजनको विषयमा छलफल भैरहँदा उनीहरू शितल निवास गएर राष्ट्रपतिसँग सल्लाह लिएको विषयमा पनि आलोचना भएको थियो।

स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले अध्यक्षद्वयले त्यस समयमा गरेका भेट विवादमा पारिसकेको भन्दै राष्ट्रपति भण्डारीसँग स्थायी समितिका सदस्यहरुको सामूहिक भेटले पनि सार्वजनिक आलोचना निम्त्याउने बताएका थिए।

कार्यविभाजनको विषय लम्बिएपछि दुवै अध्यक्षले शितल निवासमा राष्ट्रपतिकै रोहवरमा सो विषय सुल्झाएको भनी अध्यक्षद्वयको आलोचना भएको थियो। तत्कालीन नेकपा एमालेमा गरेको पार्टी राजनीतिलाई राष्ट्रपति भण्डारीले अझै नछाडेको र आफ्नो गुटलाई शितल निवासबाट सञ्चालन गर्ने गरेको भन्दै स्थायी समितिको बैठकमा उनको आलोचना गरियो।

राष्ट्रपतिले पार्टीका १२ जना प्रभावशाली नेता तथा मन्त्रीहरु छानीछानी डाकेर पार्टी बैठक चलेकै बेला समानान्तररुपमा शितल निवासमै भेटवार्ता गरेको यो पछिल्लो घट्नालाई नेकपाका धेरै नेताहरुले स्वाभाविक मानेका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .