ad ad

राजनीति


विरक्त लागेर राजनीति छाडेको हुँ : दीपकुमार उपाध्याय

विरक्त लागेर राजनीति छाडेको हुँ : दीपकुमार उपाध्याय

सुदीप भण्डारी
पुस २३, २०७९ शनिबार १८:०, बुटवल

पटकपटक सांसद र मन्त्री समेत भइसकेका दीपकुमार उपाध्याय अहिले राजनीतिमा निष्क्रियप्रायः छन्। २०४८, ०५१ र ०६४ मा कपिलवस्तुबाट संसदीय चुनाव जितेका उनी २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा मन्त्री पनि बने। 

२०७० यता भने उपाध्याय संसदीय राजनीतिमा छैनन्। दोस्रो संविधान सभाको चुनाव हारेपछि उनी सुशील कोइराला नेतृत्वको सरकार हुँदा भारतमा राजदूत थिए। 

२०७४ सालको चुनावमा कपिलवस्तु १ मा वाम गठबन्धनका उम्मेदवार चक्रपाणि खनाल बलदेवसँग पराजित भएका थिए। गत मंसिरमा भएको चुनावमा पनि उनले टिकट पाएनन्।

उनकै भनाइ अनुसार टिकट पाउन वा समानुपातिकमा पर्न उनले मरिहत्ते पनि गरेनन्। एक वर्षअघि भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा चुनाव पनि लडेनन्। 

बुटवलमा शनिबार रिपोटर्स क्लब लुम्बिनीले गरेको कार्यक्रममा सञ्चारकर्मीसँग उपाध्यायले अहिलेको गुटबन्दी र भागबण्डाको राजनीतिबाट आफूलाई विरक्त लागेको सुनाए। 

‘कपिलवस्तुको ३ वटा (शाक्यमुनि, कनकमुनि र क्रकुछन्द) बुद्धको भाइब्रेसनमा आफ्नै एउटा आध्यात्मिक चेतना आयो। नेपालको राजनीतिमा नैतिक मूल्यमान्यतामा ह्रास हुँदैछ,’ उनले भने, ‘त्यसमा कसरी कता हस्तक्षेप गर्न सकिन्छ, कसरी अन्तरआत्माको आवाजले पनि प्रभावित हुन सकिन्छ भनेर म चाहिँ करिबकरिब राजनीतिबाट विरक्तिएर कपिलवस्तुमै बस्दै आएँ।’ 

गुटबन्दीबाट अलग हुन गत महाधिवेशनमा आफू उम्मेद्वार नबनेको उनले उल्लेख गरे। उनले स्वर्गीय प्रदीप गिरि र आफूले सल्लाह गरेर यो बाटो अपनाएको दाबी गरे। 

‘कुनै गुटमा देखिएर, लागेर देशको भलो हुँदैन भन्ने आत्मालाई लाग्छ। गुटमा नलागिकन केही नहुने अवस्था छ,’ उपाध्यायले भने, ‘मेरा मित्र प्रदीप गिरि र मेरोबीचमा गुटबन्दी र भागबण्डालाई प्रहार गर्ने सल्लाह भयो। स्वेच्छिक बहिर्गमनको बाटोमा लाग्नुपर्छ भनेर म त्यो बाटोमा लागेँ। प्रदीपजीको स्वास्थ्यले साथ दिएन। अहिले हाम्रो बीचमा रहनुभएन।’

उपाध्यायले मुलुकको राजनीतिक अवस्थाका कारण नयाँ पुस्तालाई देशप्रति आकर्षण कम रहेको भन्दै सबै दलका शीर्ष नेताहरु अब गम्भीर हुनुपर्ने बताए। 

‘परिस्थिति यस्तो बनिसक्यो, हामीले पटक्कै उनीहरुमा देशप्रति आकर्षण जगाउन सकेनौँ। १२ पास गर्नसाथ सक्ने विद्यार्थीहरुले स्टुडेन्ट भिसाको नाममा अमेरिका क्यानडा, अस्ट्रेलिया युरोप जाने, कमजोर आर्थिक अवस्था भएकाहरु अरु खाडी मुलुकहरुमा जाने,’ उनले भने ‘यो परिस्थिति किन छ? यसको बारेमा हामीले राष्ट्रिय चिन्तन गर्नुपर्छ।’

उपाध्यायले सबै पार्टीका शीर्ष नेताहरुले अब राजनीतिबाट विश्राम नलिए मुलुक थप संकटमा पर्ने सक्ने सुनाए।

‘नेपालको सबै पार्टी सत्तामा पुगे, तिनका मुख्य नेता सके प्रधानमन्त्री नै भए, नभए उपप्रधानमन्त्री तथा महत्वपूर्ण मन्त्रालय चलाए,’ उनले भने ‘यिनीहरुले आफूलाई मम भनेर स्मरण गरे भने देशमा केही सुधार हुन सक्थ्यो। तर त्यहाँसम्म पुग्ला जस्तो लाग्दैन।’ 

आफूले सभापति शेरबहादुर देउवालाई सम्मानजनक बहिर्गमनका लागि सुझाएको पनि दाबी गरे।

उपाध्यायले गठबन्धनको राजनीतिको आफू सधैँ विरोधी रहेको सुनाए।

‘गठबन्धनको राजनीति लोकतान्त्रिक मूल्यमान्यता विपरीत कुरा हो। निरर्थक रुपमा बालुवाटारमा तीनतीन महिनासम्म गठबन्धनको बैठक भयो,’ उनले भने, ‘गठबन्धन टिक्दैन भनेर मैले भविष्यवाणी गरेको थिएँ, अहिले यो टिकेन।’ 

गत निर्वाचनमा सबैभन्दा बढी क्षति कांग्रेसलाई भएको उनको तर्क छ। नयाँ पार्टी उदय हुँदा कांग्रेसको लोकप्रिय मत घटेको भन्दै जनताप्रतिको निराशाले यस्तो भएको उनले बताए।

प्रचण्डले विश्वासको मत प्राप्त गर्दा या नगर्दा पनि समस्या रहेको उपाध्यायको भनाइ छ। नयाँ पार्टीहरुलाई पनि चुनौती रहेको भन्दै कि ती पार्टी सकिने या राम्रो गर्ने बताए। 

नेपालमा मूल्यमान्यताको राजनीतिमा स्खलन हुँदा र दम्भ र अहंकारले पराकाष्ठा नाघ्दा विगतका बहुमत र दुई तिहाइको सरकार पनि टिक्न नसकेको उनको तर्क छ। 

मुलुकमा परनिर्भरता, कुशासन र भ्रष्टाचार बढ्दै गएको भन्दै उनले नेपालको सुरक्षा नीति, परराष्ट्र नीति र आर्थिक विकासको बारेमा राष्ट्रिय रुपमा साझा मार्गचित्र हुनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .