राजनीति


जब रामचन्द्रले भने– शेरबहादुरबाट प्रचण्डलाई धोका भयो, हाम्रो हातमा केही पनि रहेन

जब रामचन्द्रले भने– शेरबहादुरबाट प्रचण्डलाई धोका भयो, हाम्रो हातमा केही पनि रहेन

नेपालखबर
पुस १०, २०७९ आइतबार १८:२८, काठमाडौँ

आइतबार बिहान भएको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुबै नेपाली कांग्रेसले छाड्न नसक्ने जब अन्तिम बटमलाइन सुनाए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि आफ्नो निर्णय देउवालाई सुनाउन कत्ति ढिलाई गरेनन्।

निर्वाचनपूर्व दिइएको वचनविपरित पहिलो कार्यकालको प्रधानमन्त्री आफैँ (देउवा) बन्ने र राष्ट्रपति पनि कांग्रेसलाई नै दिने हो भने सत्तागठबन्धन अगाडि नजाने बताउँदै सत्तागठबन्धन टुटेको निर्णय सुनाएर प्रचण्ड बालुवाटारबाट बाहिरिए। 

गठबन्धन टुटेको घोषणासहित प्रचण्डले बालुवाटार बैठक छाडेपछि कांग्रेस नेता रामचन्द्र पौडेलको प्रारम्भिक प्रतिक्रिया थियो, ‘गठबन्धन टुट्यो, अब हाम्रो हातमा केहीपनि रहेन।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७८ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि माओवादी, एमालेको माधव नेपाल समूह र तत्कालिन राष्ट्रिय जनता पार्टीसहित नेपाली कांग्रेसको गठबन्धन निर्माण गर्न पौडेलको महत्वपूर्ण भूमिका थियो। 

सरकार गठनका लागि राष्ट्रपतिले प्रदान गरेको एक हप्ताको समय घर्किनै लाग्दा समेत शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दोहोरिने दावी नछाडेपछि पनि गठबन्धन टुट्न नदिन शनिबारसम्म दौडधुप गरिरहने नेतापनि उनै थिए।  

जब आइतबार बिहान गठबन्धन टुट्यो, त्यसपछि बरिष्ठ नेता पौडेलले जे प्रतिक्रिया दिए, त्यो प्रतिक्रियामा पीडाको समीश्रण देखिन्थ्यो। 

हुनपनि गठबन्धन टुट्दा सबैभन्दा ठूलो मारमा पौडेल नै परेका छन्। आगामी राष्ट्रपतिका सबैभन्दा बलिया दावेदार मानिएका पौडेलले अब राष्ट्रप्रमुखको जिम्मेवारी प्राप्त गर्ने सम्भावना समाप्त भएको छ। 

पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्वाचनपूर्वको ‘भद्र सहमति’ देउवाले यसपटक कार्यान्वयन गरिदिएको भए देउवा दोस्रो कार्यकाल स्वतः प्रधानमन्त्री बन्थे नै। बन्न सहज हुने थियो। 

प्रचण्ड गठबन्धनबाटै प्रधानमन्त्री बनेपछि प्रचण्डकै प्रस्तावमा राष्ट्रपति नेपाली कांग्रेसले प्राप्त गर्ने थियो। प्रचण्डको साथ पाउँदा माधव नेपालले राष्ट्रपतिमा गर्नसक्ने सम्भावित दावीपनि कमजोर हुने थियो। 

यो स्थितिमा नेपाली कांग्रेसका सबैभन्दा बरिष्ठ नेता र पटक–पटकको प्रयासका बाबजुद प्रधानमन्त्री बन्ने अवसर नपाएकाले गठबन्धनबाट निर्विकल्प राष्ट्रपतिको उम्मेदवार पौडेल बन्ने थिए। 

उम्मेदवारमात्र होइन, राष्ट्रपति निर्वाचित हुन पौडेललाई कठिनपनि हुने थिएन। मतभार पनि सत्तागठबन्धनकै बढी भएकाले उनी सहज रुपमा राष्ट्रपति निर्वाचित हुने थिए।

यो उमेरसम्म प्रधानमन्त्री बन्न नपाएकाले पौडेलले सत्तागठबन्धन बाहिरबाटसमेत सहानुभूतिको मत प्राप्त गर्ने सम्भावनापनि थियो।  

राष्ट्रपति हुने पक्कापक्की भएपछि उनी प्रधानमन्त्रीको दौडबाट पछि हटेका थिए। नत्र निर्वाचन सकिएपछि आफैँ प्रधानमन्त्री बन्छु भन्दै दौडधुपसमेत सुरु गरेका थिए।

जानकारहरुका भनाईमा, राष्ट्रपति नेपाली कांग्रेसले पाउने र कांग्रेसले पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने देउवासँगको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ का आधारमा उनले संसदीय दलको नेताका लागि देउवालाई समर्थन गरेका थिए, उनको प्रस्तावक बनिदिएका थिए। 

प्रचण्डपनि पौडेल नै राष्ट्रपति होउन् र यसबारे पनि सहमति होस् भन्ने पक्षमा थिए। शक्ति बाँडफाँटका क्रममा राष्ट्रपतिको उम्मेदवार पौडेल बन्ने सहमति हुँदा प्रचण्ड पहिले प्रधानमन्त्री बन्ने दावीपनि बलियो हुन्थ्यो।

शनिबार (८ पुस) खुमलटार पुगेका बेला प्रचण्डले पौडेललाई ‘तपाईं राष्ट्रपति र म प्रधानमन्त्री बन्ने गरी सहमति निर्माण र गठबन्धन जोगाउने निर्णय गरौँ’ भनेका समेत थिए।  

तर, अन्तिमसम्मपनि देउवाले प्रधानमन्त्री छाड्न चाहेनन्। पौडेलसँगको ‘भद्र सहमति’ का कारण बरु राष्ट्रपति हामीलाई नभएपनि हुन्छ पनि भन्न सकेनन्। 

सत्तागठबन्धनको बैठकमा देउवाले प्रधानमन्त्री दावी गरिरहने, पौडेल लगायतका नेताहरुले ‘राष्ट्रपति पनि कांग्रेसले पाउनुपर्छ’ भनिरहने भयो। 

आलोपालो सहमतिमा ओलीबाट धोका खाइसकेका प्रचण्ड भने देउवाबाट पनि धोका खान तयार थिएनन्। धोकाका बाबजुद चुप रहिरहनुपर्ने बाध्यतापनि उनलाई थिएन। कांग्रेसको साथ छाड्नासाथ एमालेले किस्तीमा राखेर प्रधानमन्त्री दिने पक्का छँदै थियो। 

भद्र सहमति तोडेर प्रधानमन्त्री नछाडेका देउवाले राष्ट्रपति समेत कांग्रसकै भएपछि ‘आलोपालो सहमति’ मान्छन् भन्ने ग्यारेन्टीपनि त थिएन।  

देउवाको हठका कारण आइतबार मध्यान्हपख सत्तागठबन्धन टुट्यो। एक हप्ता प्रयास गर्दासमेत देउवाबाट प्रधानमन्त्री बन्ने प्रस्ताव नपाएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी तीनघण्टापनि नबित्दै ओली निवास बालकोटमा नयाँ समीकरण निर्माण भयो। 

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति हुँदै गर्दा एमाले–माओवादी केन्द्रबीच अन्य महत्वपूर्ण पदहरुका लागि के सहमति भएको छ, त्यो सार्वजनिक भएको छैन। तर, सहज अनुमान के गर्न सकिन्छ भने, अब यही नयाँ गठबन्धनबाट राष्ट्रपति निर्वाचित हुनेछन्। एमालेकै कुनै नेता राष्ट्रपति बन्नेछन्।  

एमाले–माओवादी केन्द्रसहितको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी समेत सामेल छन्। यो गठबन्धनको मतभार राष्ट्रपति निर्वाचित हुने पर्याप्त हुने भएकाले एमाले उम्मेदवार सहज रुपमा राष्ट्रपति निर्वाचित हुनेछन्। 

यो स्थितिमा सम्भवतः पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने छैनन्। बनेछन् भनेपनि पराजित हुनेछन्। 

यो नयाँ परिस्थितिका लागि पौडेलले कांग्रेस सभापति देउवालाई दोषी ठहर्याएका छन्। 

‘शेरबहादुर देउवाबाट प्रचण्डलाई धोका भयो’ उनले भनेका छन्, ‘जे भयो, त्यसमा प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .