नेकपा एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पतालबाट सांसद पदको शपथका लागि नयाँ बानेश्वर आउने भएका छन्।
प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सांसदलाई शपथ खुवाउने क्रममा नेपाल पनि सहभागी हुने भएका हुन्। समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले अध्यक्ष नेपाल शपथपछि अस्पताल नै फर्किने कार्यक्रम रहेको बताएका छन्।
बिरामी भएर हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनलाई बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका थिए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उनलाई भेटेका थिए।
सङ्घीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ खुवाउने कार्यक्रम छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि उपचारार्थ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।
नेपाललाई संक्रमण फैलिन सक्ने जोखिमलाई ख्याल गरेर चिकित्सकको सुझावअनुसार अस्पतालमा भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको थियो।
नेपालले एक साताअघि थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गरेका थिए।
Shares
प्रतिक्रिया