ad ad

राजनीति


हर्क साम्पाङको सहरमा स्वतन्त्रहरुको ताउरमाउर

हर्क साम्पाङको सहरमा स्वतन्त्रहरुको ताउरमाउर

जेवी पुन मगर
कात्तिक २९, २०७९ मंगलबार १७:४, धरान

टिकटका आकांक्षी सुनसरी कांग्रेसका उपसभापति तथा महाधिवेशन प्रतिनिधि रोहित सुब्बालाई उनका राजनीतिक गुरु सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले अन्तिम समयसम्म आश्वासन दिइरहे, ‘धैर्य गर, प्रदेश सभामा तिम्रै नाम सिफारिस हुन्छ।’

तर, चुनावकै मुखमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका रेवतीरमण राईलाई टिकट दिइएको घोषणा गरिएपछि सुब्बाले विद्रोह गरे र सुनसरी प्रदेश १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए। 

पार्टी कारबाहीमा परी १ वर्षका निम्ति निलम्बित तिनै सुब्बा अहिले डिस्प्लेमा १८,५५५ अंक लिखित क्याल्कुलेटर चुनाव चिह्न फर्फराउँदै घरघर भोट माग्दै हिँडिरहेका छन्।

दर्जनौँ मोटरसाइकलमा सवार युवाहरुलाई लिएर घरदैलो गरिरहेका सुब्बाको अन्य उम्मेदवारको भन्दा भोट माग्ने शैली भिन्न छ। उनले क्याल्कुलेटरमा राखिएको १८,५५५ अंक ल्याए जितिने भन्दै त्यतिको संख्यामा मतदान गर्न आह्वान गरिरहेका छन्।

मतदाताले उनलाई जितेपछि तिमी के गर्छौ भनी प्रश्न गर्दा उनको जवाफ हुन्छ– ‘म अरुले झैँ पुरा गर्न नसक्ने बाचा केही गर्दिनँ। यो क्षेत्रमा पानी संकलन गर्ने एउटा ट्याङ्की चाहिएको छ, त्यो बनाउन बजेट ल्याउँछु र यहाँका जनताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सजिलै उपचार गर्न पाउने व्यवस्था मिलाउँछु।’

रोहितका चुनाव प्रचारक उनकी बहिनी सानु सुब्बाको भनाइमा यस क्षेत्रका जनताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन जाँदा निकै सास्ती ब्योहोर्नुपर्छ। घण्टौँ बस्दासमेत पालो पाईंदैन। धरानमा जस्तो यो क्षेत्रमा खानेपानीको समस्या छैन। सेउती खोलाको मुहानबाट आउने पानी संकलन गरी त्यसलाई एउटा ट्याङ्की राखिए खानेपानी फालाफाल हुनेहुँदा सुब्बाले स्थानीय मतदातासँग प्रत्यक्ष सरोकार राख्ने यी दुई मुद्दालाई प्राथमिकताका साथ उठाएका हुन्। 

शंकरबेली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षको रुपमा दुई कार्यकालसम्म काम गरी जनमानसमा भिजेका र प्रतिनिधि सभा सदस्यमा उठेका धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्वोसँग चुनावी तालमेल गरेका सुब्बा सुनसरी प्रदेश सभा १ (ख) बाट उठेका १३ जना स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बलिया मानिन्छन्।

धरानको पुतली लाइनमा भेटिएका नेपाली कांग्रेसका एकजना क्षेत्रीय सदस्य भन्दै थिए, ‘जनता, कार्यकर्ता असन्तुष्ट छन्, उसले पड्काउन पनि सक्छ।’ 

गएको स्थानीय निर्वाचनमा सबैलाई छक्क पार्नेगरी स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका हर्क साम्पाङले दुनियाँको ध्यान आफूतिर ताने। श्रम संस्कृति स्थापित गराउन खोजेकाले सम्मानित र ‘जे पायो त्यही’ बोल्ने बेहोराले आलोचित बन्दै गएका हर्कको जितले धरानका स्वतन्त्र उम्मेदवारहरु निकै हौसिएका देखिन्छन्। 

उनैको प्रभावका कारण हुन सक्दछ, कुनैबेलाका लोकप्रिय भनिएका धरानका मेयर मनोजकुमार मेयाङ्वोले एमालेबाट विद्रोह गरी आफूलाई पार्टी प्रवेश गराउने राजनीतिक गुरु जसपाका अशोक राईसँग प्रतिनिधि सभा सदस्यका निम्ति ‘कुस्ती खेल्न’ अखडामा उत्रिएका छन्। उनको यस्तो धृष्टताका निम्ति मनोज र उनको टिमलाई पार्टीले कारबाही समेत गरिसकेको छ। 

थरीथरीका स्वतन्त्र
कात्तिक २८ मा धरानको व्यस्त सडक पुतली लाइनको कफी सपमा बस्दाबस्दै मत माग्न आउने करिब आधा दर्जन उम्मेदवारमध्ये अधिकांश स्वतन्त्रका उम्मेदवारहरु थिए। थरीथरीका ती उम्मेदवारको भोट माग्ने शैली रमाइला थिए। माइकबाट चुनावी गीत घन्काउँदै कफी सपअगाडि रोकिएको ट्याम्पोबाट झरेर बालेन स्टाइलमा नेपालको झण्डा पिठ्युँमा लपेटेर लठ्ठी टकटक गर्दै ‘लठ्ठी आयो है लठ्ठी’ भन्दै मत माग्न आइपुगेकी मीना गजमेर भन्दै थिइन्, ‘लठ्ठी त चिन्नुहुन्छ होला नि, भोट दिनुहोला है।’

उनी त्यहाँबाट हिँड्नासाथ हात जोड्दै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसा छाडेर स्वतन्त्र उम्मेदवारी दिएको भन्दै सम्मुख आइपुगेका कृष्णकुमार राई भन्दै थिए, ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरिनेछ।’ 

उनले हामीलाई थमाएको प्रतिबद्धता पत्रमा लेखिएको ‘युवाहरुलाई निशुल्क विदेश पठाउने समृद्धिको खाका’ बारे प्रश्न गर्दा उनको जवाफ थियो, ‘रेमिट्यान्सको सहर धरानमा यति नलेखे त कहाँ हुन्छ र?’

आफूसँग देशको मुहार फेर्ने ‘ब्रम्हास्त्र’ रहेको शैलीमा बतियाउने अर्थशास्त्रमा स्नात्तकोत्तर र पीएचडी स्कलर लेखिएको उनको प्रतिबद्धता पत्रको २९ नम्बर बुँदामा लेखिएको छ, ‘संसदबाट मन्त्री बन्ने प्रणालीमा परिवर्तन गरी विज्ञ व्यक्तिहरुबाट छनौट गरी बनाइने प्रणाली अपनाइनेछ।’ 

यसपालिको निर्वाचनमा हर्क साम्पाङले कसलाई समर्थन गर्लान् भन्दै निकै चासोका साथ हेरिएको छ। तर, केहीको भनाइमा पछिल्ला व्यवहारले ‘मेयर साब’ आफैँ कमजोर बन्दै गइरहेकोले अहिले उनको ‘क्रेज’ स्थानीय चुनावमा जत्तिको छैन। तैपनि उनको चर्चा भजाउन खोजिएको देखिन्छ। केही स्वतन्त्र उम्मेदवारहरुले हर्क साम्पाङ समूहका नाममा भोट माग्दै हिँडिरहेका छन्। 

त्यसरी मतदाताकहाँ पुगिरहेका सुनसरी १ (क) का समीर तामाङ (लालटिन चुनाव चिह्न) को पर्चामा उल्लेख गरिए अनुसार तामाङले गत निर्वाचनमा हर्कलाई जिताउन चुनावी अभियानको नेतृत्व लिएका थिए। र, ५ महिनादेखि मेयरले चलाइरहेको वृक्षारोपण र श्रमदान कार्यक्रमकोे पनि उनले नेतृत्व गरिरहेका छन्।

समीर तामाङलाई नै किन छान्ने भनी लेखिएको पर्चामा भनिएको छ, ‘मेयर हर्क साम्पाङलाई सफल बनाउन र उहाँले गर्नुभएको विकासका सम्पूर्ण गतिविधिहरुमा विज्ञहरुको सल्लाह सुझाव लिई नागरिकको हकहितको लागि नतिजामुखी कार्य गर्न।’ 

हर्क साम्पाङ समूहले प्रदेश सभा १ (क) मा तामाङलाई उठाएझैँ हेमचन्द्र राईलाई सुनसरी १ (ख) उठाएको छ भने प्रतिनिधि सभामा सुनसरी–१ बाट पानीको जार लिई उठेका उम्मेदवार तर्कबहादुर मगरलाई समर्थन गर्न भनेको छ। मगर पनि साम्पाङलाई मेयरमा जिताउन भूमिका खेल्ने प्रमुख व्यक्तिमध्येका एक हुन्। 

समूहका नाममा पर्चा पम्पलेट वितरण र चुनावी सभा गर्न थालेपछि यी ३ जना उम्मेदवारलार्ई निर्वाचन आयोग सुनसरीले २६ गते कार्यालयमा बोलाई आचारसंहिता उल्लंघन गरिएको भन्दै स्पष्टीकरण सोधेको छ। यो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुमाझ हर्क शैलीको कति प्रभाव परेको रहेछ भने प्रतिनिधि सभाका निम्ति उम्मेदवारी दिएका खरायो चिन्हका मनोज मेयाङ्वोको ८ पृष्ठ मोटो प्रतिबद्धता पत्रमा समेत स्थानीय सरकारको कार्यक्षेत्रले समेट्न सक्ने कामको लामो फेहरिस्तले स्थान पाएको छ।

धरान–१७ मा भेटिएका एकजना व्यक्तिलाई स्वतन्त्र उम्मेदवारबारे सोधिएको प्रश्नमा तिनले दिएको जवाफ रमाइलो थियो– ‘स्थानीय निर्वाचनमा हर्कले रमिता गरे, अहिले एक दर्जन स्वतन्त्रहरुले चटक देखाइरहेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .