ad ad

राजनीति


नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्

नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्

नेपालखबर
पुस ३, २०७६ बिहिबार ६:४०,

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहमतिलाई लिएर प्रतिक्रिया व्यक्त गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष भट्टराईले नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने उनको भनाइ छ।

राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टीसँग छलफल नै नगरी सत्ताको नेतृत्व गरेको नेकपाले बुधबार राष्ट्रिय सभामा रहेका प्रदेश २ का चार सिटमा दुई÷दुई लिने गरी सहमति भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिँदै मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै नयाँ मालिकहरु झनै धूर्त रहेको प्रतिक्रिया दिएका छन्।

‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ–दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न’, उनले ट्विटरमा लेखेका छन्, ‘फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पिस छन्। अहिलेका नया मालिकहरू झन धूर्त छन्। खाँचो छ नयाँ स्पार्टाकसको। सबैलाई चेतना भया।’

नेकपा र राजपाबीचको सहमतिपछि सत्ता साझेदार दल समाजवादी पार्टी झस्किएको छ। यसअधि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हेरफेर गर्दा उक्त पार्टीसँग छलफल नै नगरि उपप्रधानमन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले यदावलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्रालयको जिम्मा दिएका थिए।

सो हेरफेरपछि अध्यक्ष भट्टराई लगायतका अन्य नेताहरुले समाजवादी पार्टी सरकारबाट बाहिरिने प्रतिक्रिया दिए पनि अर्का अध्यक्ष यादवले पार्टीभित्र छलफल नै नगरी हेरफेर प्रधानमन्त्रीको अधिकार भएको भन्दै कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

नेकपा र राजपाबीचको सहमतिलाई लिएर समाजवादी पार्टीले अहिलेसम्म पार्टीको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .