ad ad

समाज


सुर्ती, गुट्खा र जंकफुडका प्लाष्टिकले बढी प्रदूषण

सुर्ती, गुट्खा र जंकफुडका प्लाष्टिकले बढी प्रदूषण

प्रकाश न्यौपाने
पुस ३, २०७६ बिहिबार ६:५०,

जथाभावी फ्याँकिने प्लाष्टिकजन्य वस्तुले सबैभन्दा बढी प्रदूषित हुने गरेको छ । सुर्ती, गुट्खा, विभिन्न जङ्कफुडलगायतको खोलका कारण सहरबजार तथा ग्रामीण क्षेत्र बढी प्रदूषित हुने गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानका क्रममा प्लाष्टिकजन्य फोहोरले बजार तथा ग्रामीण क्षेत्र र बस्तीहरु बढी प्रदूषित हुने गरेको पाइएको नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

‘नगरपालिकाको आयोजनामा हरेक महिनाको १ र १५ गते सरसफाइ अभियान सञ्चालन गर्छौं । अहिलेसम्म गरेको सरसफाइमा सबैभन्दा प्रदूषित प्लाष्टिकजन्य वस्तुबाट भएको पाइएको छ’, उनले भने, ‘यससँगै अन्य कुहिने÷नकुहिने वस्तु पनि छन् ।’ नगरपालिकाकाअनुसार प्रत्येक सरसफाइ अभियानका दिन प्लाष्टिकजन्य वस्तुमात्रै एक ट्याक्टर भन्दा बढी निस्किने गरेको छ । सूर्ति एवं गुट्खाका खोलहरु साना हुने भएकाले टिपेर एकीकृत गर्न पनि कठिन हुने सरसफाइका अभियन्ताहरु बताउँछन् ।

तिलोत्तमा वडा नम्बर ८ को शिवपुरदेखि चार नम्बरसम्म गरिएको ५३औं नगरस्तरीय सरसफाइमा झण्डै एक टिपर फोहोर संकलन भएको थियो । त्यसमा अधिकांश सूर्ति, गुट्खा, विभिन्न जङ्कफुडका खोललगायत पोलोथिनजन्य फोहोर अधिक धेरै रहेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जनाए ।

‘नगरको सफाइ अभियानमा तिलोत्तमाका सबै वडामा क्रियाशील टोल विकास संस्थाहरुले आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् । सरसफाई अभियन्ताहरुले सूर्ति, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्’, उनले भने ।

प्लाष्टिक झोलाको प्रयोग पूर्णतः रोक्दै नगरबासीमा अन्य प्लाष्टिकजन्य, नकुहिने फोहोर तोकिएको ठाउँमा मात्र फाल्ने बानीको विकास गरी नगरलाई सफा गराउन तिलोत्तमामा सिम नेपालले अभियान सञ्चालन गरेको छ । प्लाष्टिकजन्य फोहोर जथाभावी फाल्दा कृषिभूमि जर्जर बन्नुको साथै शहरी सौन्दर्य र मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकाले फोहरमैला व्यवस्थापन प्रणालीलाई थप चुस्त बनाउँदै ‘प्लास्टिकजन्य फोहोर विसर्जन जभावानी होइन तोकिएको ठाउँमैं’ भन्ने नाराकासाथ अभियान चलाइएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

‘प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा वातावरण प्रदूषण भइ मानव स्वास्थ्यमा हानी पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न हामीले नगरबासीलाई सफाइ अभियानकै क्रममा सचेतसमेत गराएका छौं’, उनले भने ।

घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरवासीको भएकाले घर–आँगन, टोल, खेत, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थल सबै खुला ठाउँमा रहेको प्लाष्टिकजन्य र नकुहिने फोहोरलाई तोके बमोजिम व्यवस्थापन गरी अबका दिनमा खुला ठाउँमा फोहोर नफाल्ने अभियानमा लाग्न सम्पूर्ण नगरबासीलाई आग्रह गरे ।

सबैको सामूहिक प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने उनले बताए । नगरको सफाइ अभियानमा जनप्रतिनिधिहरुसहित ठूलो संख्यामा विभिन्न टोल विकास संस्था, क्लब, आमा समूह, विद्यालयलगायत स्थानीय बासिन्दाको सहभागिता रहँदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .