ad ad

राजनीति


पहिले सहयात्री, अहिले मुख्य प्रतिस्पर्धी, गुल्मी २ मा गोकर्ण बलियो कि रामकुमारी?

पहिले सहयात्री, अहिले मुख्य प्रतिस्पर्धी, गुल्मी २ मा गोकर्ण बलियो कि रामकुमारी?

फाइल फाेटाे : रामकुमारी झाँक्री र गोकर्ण विष्ट।


सन्तोष महतारा
कात्तिक २५, २०७९ शुक्रबार १७:२१, रेसुङ्गा (गुल्मी)

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्छ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए। क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन्। 

गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एक स्थानीय तहमा नेकपा एमालेले नेतृत्व गरेको छ। रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ। 

मालिका र  धुर्कोटको अध्यक्ष माओवादी जितेको छ। मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो। यहाँ कूल ४३ वडा छन्। कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो। सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन्। 

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेससहितको गठबन्धनको ३२ हजार दुई सय २७ मत छ। एमालेसहितको गठबन्धनको ३१ हजार तीन सय ६२ छ। एमाले गठबन्धनभन्दा कांग्रेस गठबन्धन नौ सय २५ मतले अगाडि छ। यहाँ मुख्य प्रतिस्पर्धा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच हुँदै छ।

वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज छ। उनलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ। एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्ने अवसर पनि झाँक्रीलाई छ। कांग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्न भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्छिन्। 

विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनका भएका दलको मत तान्न आवश्यक छ। जुन सम्भव नहुन पनि सक्छ। अघिल्लो सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जित निकालेका उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। 

एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बनेकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्छ। पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ। झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ। 

यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसहितको गठबनधनको १६ हजार ६७ मत छ। एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ८२ छ। जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक सय ८५ अगाडि छ। यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदै छ। यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्छन्। यहाँ २१ वडा छन्। कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ। 

यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकाले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउनसके मात्र जित सहज छ। यो सानो प्रयासले हुँदैन। एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ। जुन त्यति सहज छैन। यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ। अघिल्लो पटक रेसुङ्गाको प्रमुखमा उनै भुसालसँग हार खाएका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा छन्। भुसालले अघिल्लो जितलाई आत्मबलका रूपमा लिएका छन्।

यस क्षेत्रको प्रदेशसभा (ख) मा कांग्रससहितको गठबन्धनको १६ हजार दुई सय २० मत छ। एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ४० छ। एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको गठबन्धन तीन सय ८० ले अगाडि छ। यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमाले गठबन्धनबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदै छ। यहाँ मालिका, मदाने र धुर्कोट पर्छन्। यहाँ २२ वडा छन्। कांग्रेसका १३, एमालेका आठ र माओवादीको एक वडा छ। कांग्रससहितको गठबन्धनका १४ र एमालेसहितको गठबन्धनका आठ वडाध्यक्ष छन्। 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जित निकाल्न सहज छ। धुर्कोटमा एमालेसँगको गठबन्धनले नदेखिएको मत पनि अहिले माओवादीमै आउँछ। तसर्थ पनि सत्तारुढ गठबन्धनका जिसीलाई जित निकाल्न निकै सहज छ। नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ। पन्थीलाई चुनौती बन्नसक्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .