ad ad

राजनीति


‘असन्तुष्ट’ मिलाएसँगै उत्साही विनोद, जित निकाल्न माओवादी–एसको साथ

‘असन्तुष्ट’ मिलाएसँगै उत्साही विनोद, जित निकाल्न माओवादी–एसको साथ

‘असन्तुष्ट’ पक्ष मिलाएसँगै नवलपरासी १ का कांग्रेस उम्मेदवार विनोद चौधरी उत्साही देखिएका छन्


वाशुदेव मिश्र
कात्तिक २४, २०७९ बिहिबार ११:४१, प्रतापपुर, नवलपरासी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकामा बुधबार आयोजित चुनावी सभामा कांग्रेस उम्मेदवार विनोद चौधरी प्रफुल्ल देखिन्थे। कारण थियो– ठूलो जनसमूह र असहयोगको आशंका गरिएका देवेन्द्रराज कँडेल एवं विक्रम खनालको उपस्थिति।

चौधरीलाई सो क्षेत्रबाट उम्मेदवार बनाइएपछि उनीहरू दुवैजना रुष्ट थिए। तर, बुधबार त्यस्तो देखिएन। मञ्चमा उभिएर सोही प्रदेशको क्षेत्र नम्बर २ का कांग्रेसी उम्मेदवार कँडेलले चौधरीको पक्षमा लामो भाषण गरे।

भोजपुरीमा बोलेका उनले भने, ‘रुखभन्दा अन्यत्र भोट नहाल्नुहोला, यो क्षेत्रका उम्मेदवार सन्तु (देवकरणप्रसाद कलवार) ले यहाँको झोपडी चिनेको छ, प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई अन्तर्राष्ट्रिय जगत्‌ले चिनेको छ।’

देवेन्द्र उनै व्यक्ति हुन् - जसले यसअघिको एउटा कार्यक्रममा ‘एउटै जंगलमा दुईवटा सिंह बस्न नसक्ने’ अभिव्यक्ति दिएका थिए। राज्यमन्त्रीसम्म बनेका देवेन्द्र चुनाव जितेपछि मन्त्री बन्न चाहन्छन्। विनोद पनि जितपछि मन्त्री बन्ने पक्कापक्की जस्तै छ। खुलेर नभने पनि देवेन्द्रको अभिव्यक्ति विनोदप्रति लक्षित रहेको धेरै कांग्रेसीले बुझे। 

देवेन्द्रले एमालेको समर्थनमा विनोद चौधरीसँग प्रतिस्पर्धामा उत्रिएका हृदयेश त्रिपाठीलाई लक्ष्य गर्दै भने, ‘हामीले संसदबाट २–२ पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिबाट अस्वीकृत भयो। यहाँ हाम्रा ५ लाख वंशजका आधारमा नागरिकता पाउनुपर्ने युवाहरू नागरिकताविहीन छन्। एमालेको समर्थनमा सांसद र उम्मेदवार बनेका (हृदयेश) सँग सोध्नुहोस् - हाम्रो नागरिकता कहाँ गयो?’

आफ्नो चुनावी कार्यक्रम छाडेर आएका देवेन्द्रले नवलपरासीसँग सीमा जोडिएको उत्तर प्रदेशका मुख्यमन्त्रीदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विनोद चौधरीको सम्बन्धको चर्चा गरे अनि सुस्तालगायतका समस्या समाधान गर्नसक्ने व्यक्ति विनोद नै भएको पनि बताए। उद्योग खोलेर रोजगारी प्रदान गर्ने भएकाले पनि विनोदलाई भोट दिनुपर्ने तर्क उनको थियो।

देवेन्द्रले नाम लिएका सन्तु स्वयं प्रतिनिधिसभा टिकटका आकांक्षी थिए। विनोदको प्रवेशपछि सन्तु प्रदेशमा झर्न बाध्य भए। नवलपरासी क्षेत्र नम्बर १ को ‘ख’मा माओवादीका रामानन्द यादव पनि उम्मेदवार छन्। कांग्रेसले ठाउँ नछाडेपछि चुनावी मैदानमा उत्रिएको माओवादीसँग सो क्षेत्रमा ५ हजार हाराहारी मत भएको अनुमान छ। 

यता, कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत रहेका विक्रम त त्यसभन्दा अघिल्लो दिन नै विनोदको पक्षमा खुलिसकेका थिए। नवलपरासी क्षेत्र नम्बर १ मा कांग्रेस बलियो छ।

प्रतापुरका युवा व्यवसायी विक्रान्त लामिछाने भन्छन्,‘यो क्षेत्रका कांग्रेसका क्रियाशील सदस्यहरू सबैले रुखमै भोट हाल्ने हो भने कांग्रेस हार्नुपर्ने कारण छैन तर कांग्रेसमा समस्या देखिन्छ।’

उनले देखेको समस्या भनेकै विनोद चौधरीको क्षेत्र नम्बर १ मा भएको प्रवेश हो। नवलपुुरमा बीपी-पुत्र शंशाक कोइरालाको प्रवेशपछि अरुले अवसर नपाएको नियति दोहोरिने हो कि भन्ने आशंकामा कांग्रेसका नेताहरू बिच्किएको उनको आकलन छ। विक्रम खनाल त्यसकै प्रतिनिधि पात्र भएको पनि उनले अनुमान लगाए। 

तर, कांग्रेसीहरू अब त्यो सम्भावना नरहेको बताउँछन्।

‘विनोद चौधरीलाई यहाँका कांग्रेसीले आफ्नै ठानिसके, चौधरीजीको क्रियाशीलताले पनि मन जित्ने काम गरेको छ। उहाँ घरघर पुग्नुभएको छ, विकासका लागि उम्मेदवारी दिएको प्रस्ट पार्नुभएको छ’, ती कांग्रेसी नेताले भने, ‘हृदयेशबाट मान्छे वाक्क भइसकेका छन्, यहाँका जनतालाई रोजगारी र अवसर चाहिएको छ। त्यसैले विनोदजीको पक्काजस्तै भएको छ।’

चुनावी सभामा देखिएको भीडले पनि त्यही संकेत गरेको उनको भनाइ थियो। 

उता, हृदयेश त्रिपाठी पनि कम्ताका देखिएका छैनन्। अघिल्लो चुनावमा एमालेको सूर्य चिह्न लिएर जितेका उनलाई एमालेको साथ छँदै छ, कांग्रेसको भोट पाउनेमा पनि उनी आशावादी देखिएका छन्।

उनले मञ्चबाटै भन्ने गरेका छन्, ‘यहाँ सन्तुजी आएको भए, १६ वर्षको उमेरमा नेपाल विद्यार्थी संघमा लागेर पिटाइखाएको विक्रमजी उठेको भए, मेरो केही भन्नु थिएन तर अहिले परिस्थिति बदलिएको छ, धर्तीपुत्र यो बाबा साम्राज्यसँग लड्न बाध्य भएको छ।’

स्पष्ट छ, उनी कांग्रेसको सहानुभूति पाउन प्रयासरत छन्। 

हृदयेश यो पटक जनता प्रगतिशील पार्टीको ‘कोदालो बोकेको मान्छे’ चुनाव चिह्न लिएर मैदानमा छन्। २०४८ यता नवलपरासीमा एकछत्र राज गरेका उनले एउटा चुनावमात्र हारेका छन्। चुनावी रणनीति कसरी बनाउने भन्ने उनलाई थाहा छ।

‘हृदयेशले भोट बैंक कसरी बचाउने, अर्कालाई कसरी फुटाउने अनि असन्तुष्टलाई कसरी बचाउने भन्ने सबै जानेका छन्’, उनी निकट एक नेताले भने, ‘विकास गरेन भन्ने जुन आरोप छ, त्यो निराधार छ, बाहिरका मान्छेले भनेर हुँदैन, बाबाजी (हृदयेश) जनताको मनमनमा बसेका छन्।’

हो, हृदयेश चतुर छन्। व्यवसायमा लागेर नाम र दाम कमाएका विनोदसँग प्रत्यक्ष चुनावको अनुभव छैन। तर, जोश र जाँगर भने कम्ता देखिँदैन। बिहानदेखि कार्यकर्तासँग भेटघाट, घरदैलो सबै भ्याएका छन्। आधा समय जहाजमा बिताउने र व्यावसायिक योजना बनाउने उनी अहिले चुनावी रणनीति बुन्न व्यस्त देखिएका छन्। कांग्रेसको मत संरक्षण गर्नसके मात्र पनि उनलाई सजिलो देखिन्छ।

तर, २०४८ सालमा नवलपरासीबाट कांग्रेसका सूर्यभक्त अधिकारी, एमालेका मणिलाल थारु, सद्‌भावनाका त्रियुगी नारायण यादवसँगै संसद् छिरेका हृदयेश त्रिपाठी साँच्चिकै ज्याद्रो छन्। २०५१ मा महेन्दध्वज जीसी, मझिलाल थारु र देवेन्द्रराज कँडेल हुँदा पनि हृदयेश त्रिपाठी सांसद नै थिए। २०५६ सालमा कांग्रेसका दामोदर बस्ताकोटी, एमालेका चन्द्रमणि खनाल, ३ बाट सद्‌भावना पार्टीका हृदयेश त्रिपाठी कांग्रेसका देवेन्द्रराज कँडेल संसद पुगेका थिए। 

पहिलो संविधानसभामा नवलपरासीबाट क्रमशः कांग्रेसका शशांक कोइराला, महेन्द्रध्वज जीसी, माओवादीका सीतादेवी बौडेल, चिनक कुर्मी, मधेसी जनाधिकार फोरमका रामवञ्चन अहिर र तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी विजयी भएका थिए। एमालेका तर्फबाट सदस्य बनेका विनोद चौधरी र हृदयेशको भेट संविधानसभामै भएको थियो। 

२०७० सालको संविधान सभा चुनावमा १ बाट कांग्रेसका शशांक कोइराला, एमालेका जीवन श्रेष्ठ, कृष्णप्रसाद पौडेल, वैजनाथ चौधरी, कांग्रेसका विक्रम खनाल क्षेत्र नम्बर ५ र ६ बाट कांग्रेसकै देवकरण प्रसाद कलवार विजयी बने। हृदयेश बाहिरिए। 

नवलपरासी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेको सूर्य चिह्नबाट चुनाव लडेका राजपाका नेता त्रिपाठी ५ हजार १ मतान्तरले विजयी बनेका थिए। उनले ३८ हजार ५९१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत प्राप्त गरेका थिए।

हृदयेशसँग अहिले एमालेको साथ त छ तर सूर्य छैन। सूर्यमै भोट हाल्ने एमालेहरूको मत तलमाथि हुनसक्छ भने कांग्रेसको केही मत यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले काट्ने आकलन गरिएको छ। प्रदेशतर्फ बागी उठेका कांग्रेसका कृष्ण ढुंगानाले पनि कांग्रेसलाई असर पार्न सक्छन्। जसपाले त्रिपाठीलाई सघाउँदा र त्रिपाठीकै दल कमजोर हुनुले भने कांग्रेसलाई हौस्याएको छ। 

उता, गएको वैशाखमा सम्पन्न स्थानीय चुनावको परिणामले यहाँ कांग्रेस नै बलियो भएको देखाउँछ। यहाँका रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा पाल्हीनन्दन, सरावल, प्रतापुर र सुस्ता गाउँपालिको मत परिणम हेर्दा कांग्रेसका प्रमुखको पक्षमा ३६ हजार ६७६ र एमालेको पक्षमा ३५ हजार ९८९ मत छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मतसमेत जोड्दा अंक गणितमा कांग्रेस बलियो देखिन्छ। तर, जनता प्रगतिशील पार्टीका तर्फबाट हृदयेश त्रिपाठीसहित १० जना उम्मेदवार मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .