ad ad

राजनीति


सार्वजनिक पद धारण गरेका व्यक्ति चुनाव प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य

सार्वजनिक पद धारण गरेका व्यक्ति चुनाव प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १५:३९, काठमाडौँ

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमती अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रष्टयाएका हुन्।

बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहितामा व्यवस्था गरिए अनुसार कुनै पनि सरकारी स्रोत र साधनको दूरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए। 

उनले भने, ‘त्यसै गरेर निर्वाचन आचारसंहिता २०७९ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरुले आयोगको सहमतीमा निर्वाचन प्रचार प्रसार हुन पाउने व्यवस्था नै गरेको छ। निर्वाचन आयोगले नेपालको संविधानले तोके बमोजिम आवातजावतमा रोकतोक गर्दैन। मात्रै सार्वजनिक पद धारण गरेका सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, प्रदेश मन्त्रीज्यूहरुले अनुमति लिएर जान सक्नु हुन्छ। र, त्यसरी जाँदाखेरी कुनै पनि सरकारी स्रोत, साधनको प्रयोग गर्न हुँदैन भन्ने कानुनी व्यवस्था छ। त्यसैले यही कुरालाई पालना गराउन खोजेको हो। र, पालना गराउने सन्दर्भमा कुनै पनि स्थानीय तहको होस् अथवा प्रदेश सरकार वा केन्द्रीय सरकारको स्रोत, साधनको प्रयोग भए/नभएको विषयमा अनुगमन गर्नका लागि पनि हामीले आवश्यक प्रबन्ध मिलाएका छौं।’ 

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ, प्रदेश र स्थानीय सरकारले निर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग गरे, नगरेको अनुगमनका लागि आवश्यक व्यवस्था मिलाइएको पनि स्पष्ट पारे। 

त्यसैगरी निर्वाचन आयोगले निर्वाचन प्रचारका लागि आयोजना गरिएको आम सभा तथा कोणसभाको तयारीको सम्पूर्ण खर्च पनि निर्वाचन सकिएको मितिले १५ दिन भित्र आयोगमा बुझाउन पनि उम्मेदवारहरुलाई निर्देशन दिएको छ। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले कोणसभा र आमसभामा समेत गरिएको खर्चको विवरण निर्वाचन सकिएको १५ दिन भित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयहरुमा बुझाउन पनि आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन दिइएको बताए।

उनले भने, ‘आचारसंहिता अनुसार निर्वाचन प्रचार प्रसारका लागि अव स्वभाविक रुपले आमसभा, कोणसभा आदि, इत्यादि हुन सक्छन्। त्यसो गर्दा ती आमसभा र कोणसभा गर्दा बनाइएका मंचहरु, त्यसका लागि तयारी गर्दा लागेका खर्चहरु आचारसंहिता भित्र बसेर जति गर्नुपर्ने हो, खर्च लागेको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा आफ्ना प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने गरी निर्देशन दिएका छौं। निर्वाचनको खर्च विवरणले आयोगले तोकेको ढाँचा बमोजिम राख्नु पर्दछ। र, राजनीतिक दलहरुले स्वेच्छिक खर्च दिँदा पनि राजनीतिक दलसम्बन्धि ऐन २०७३ को प्रावधान अनुसार र निर्वाचन आचारसंहिताको दफा १६ मा कसरी खर्चको विवरण राख्ने भन्ने कुरा उल्लेख गर्रिकाले सोही अनुसार गर्नुपर्नेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .