राजनीति


बादलको राजनीति ‘फाट्दै’ जाँदा चम्किँदै नैनकला

बादलको राजनीति ‘फाट्दै’ जाँदा चम्किँदै नैनकला

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार २०:८, काठमाडौँ

नेकपा विभाजनपछि माओवादी केन्द्रमै फर्कनुको साटो एमालेमा रहने निर्णय रामबहादुर थापा (बादल) ले सम्भवतः भविष्यमा आफ्नो ‘राजनीतिक लाभ’ का लागि गरेका थिए। हुनपनि, केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री रहेका थापाले एमालेमा रहने निर्णय गरेर केही महिना मन्त्री पद सुरक्षित गरे।   

तर, एमालेमा रहने निर्णयको लाभ भने पछिल्लो समय थापालाई भन्दा थापापत्नी नैनकला थापालाई बढी हुन थालेको छ। एमालेमा रहने निर्णयका कारण थापाले सुरुमा सांसद र त्यसपछि मन्त्री पद गुमाएका थिए। यसरी थापाले एकपछि अर्को हानी बेहोरिरहँदा नैनकलालाई सुरुमा मन्त्रीको अवसर मिल्यो, अब सांसद बन्ने अवसर जुर्दैछ।

बादललाई घाटैघाटा
पहिलो संविधान सभा निर्वाचनमा माओवादी उम्मेदवारका रुपमा चितवन– २ बाट निर्वाचित थापा २०७४ को आम निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्न चाहन्थे। तर, २०७० का एमाले विजेता कृष्णभक्त पोखरेलले नछाड्ने भएपछि चितवन– २ बाट प्रतिस्पर्धा गर्ने उनको चाहना पुरा भएन।

एमाले–माओवादी केन्द्रबीच गठबन्धन भएको सो निर्वाचनमा चितवन–२ एमालेको भागमा परेपछि माओवादी केन्द्रले उनलाई काठमाडौँ– १० बाट प्रतिस्पर्धामा उतार्न खोजेको थियो। तर, असुरक्षित देखेपछि काठमाडौँ–१० मा प्रतिस्पर्धा गर्ने आँट उनले गरेनन्। 

त्यसपछि उनी माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमति प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भए। निर्वाचनमा वामगठबन्धनको विजयपछि माओवादी केन्द्रका मन्त्रीहरुको नेतृत्व गर्दै ओली सरकारमा गृहमन्त्री बन्ने अवसर पनि उनले प्राप्त गरे। 

नेकपा विभाजनपछि एमालेमा रहने निर्णयका कारण माओवादी केन्द्रले उनलाई राष्ट्रिय सभाबाट निष्कासित गर्यो। थापाको निष्कासनपछि खालि भएको राष्ट्रिय सभाको सिटमा एमालेबाट थापा नै उम्मेदवार बने। तर, ६ जेठ २०७८ मा भएको निर्वाचनमा वर्तमान सत्तागठबन्धनका उम्मेदवार खिमलाल देवकोटाबाट उनी पराजित भए।

संसद सदस्य नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्रीको जिम्मेवारीमा रहन नपाउने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सभामा पराजयसँगै उनको मन्त्री पद गुम्यो। ओलीले मन्त्री पदमा दोहोर्याएर थापालाई नियुक्त गरे। तर, सर्वोच्च अदालतले यो कार्यलाई गैरकानूनी करार गरेपछि थापाको मन्त्री बनिरहने चाहना असफल भयो।

राष्ट्रिय सभा सदस्य र मन्त्री पदबाट हट्न बाध्य भएका थापा आगामी निर्वाचनमा चितवन– ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग वा एमालेको बलियो सांगठनिक आधार रहेको चितवन– २ बाट प्रतिस्पर्धा गर्ने अनुमान गरिँदै आएको थियो।

तर, चितवन– २ बाट थापाले यसपटकपनि टिकट प्राप्त गर्ने स्थिति थिएन। स्रोतका भनाईमा, चितवन– ३ मा पराजित हुने पक्काजस्तै भएकाले थापाले प्रतिस्पर्धा गर्ने आँट गरेनन्। त्यसपछि उनलाई काठमाडौँ– १० प्रस्ताव गरिएको थियो। २०७४ मै जोखिम देखेर उम्मेदवार बन्न अस्वीकार गरेको यो क्षेत्रमा यसपटकपनि प्रतिस्पर्धाको आँट उनले गर्न सकेनन्।

थापा प्रतिस्पर्धाबाट पछि हट्दा यसपटकपनि त्यसको लाभ पत्नी नैनकलालाई हुँदैछ।

नैनकलालाई नाफैनाफा 
२०७४ मा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमति प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित थापा चार वर्षपछि जेठ ६ (२०७८) को उपनिर्वाचनमा त्यही सिटमा पराजितमात्र भएनन्, सर्वोच्चको आदेशका कारण गृहमन्त्री पदसमेत गुमाउन पुगे। थापालाई लागेको यो दोहोरो चोटमा प्रधानमन्त्री ओलीले मल्हमपट्टि लगाउन खोज्दा त्यसको लाभ भने नैनकलालाई मिलेको थियो।

नेकपा विभाजन र एमालेमा बढ्दो अन्तरकलहपछि सत्ता टिकाउन प्रधानमन्त्री ओली पटक–पटक मन्त्रीमण्डल पुनर्गठन गरिरहन्थे। त्यसक्रममा उनले २७ जेठ (२०७८) मा मन्त्रीमण्डल पुनर्गठन गरे। त्यो पुनर्गठनमा उनले थापापत्नी नैनकलालाई सूचना तथा सञ्चारमन्त्री बनाइदिए।

प्रचण्डसँगको असन्तुष्टि त छँदैथियो। त्यसबाहेक थापा मन्त्री पद जोगाउन नेकपा विभाजनपछि एमालेमा रहने निर्णयमा पुगेका थिए। तर, मन्त्री र सांसद दुबै गुमाएपछि कुनैपनि समय माओवादीमा फर्कन सक्ने सम्भावना रहन्थ्यो। खासमा थापालाई एमालेमै अड्याइराख्न ओलीले नैनकलालाई सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए।

तर, चुनाव घोषणा भइसकेको स्थितिमा मन्त्रीमण्डल पुनर्गठन–विस्तार गर्नु असम्बैधानिक हुने ठहर सर्वोच्च अदालतले गरेपछि नैनकलाले पनि केही दिनमै समयमा मन्त्री पद गुमाइन्।

उतिबेला थापा मन्त्रीबाट हट्दा नैनकला मन्त्री बनेझैँ यसपटकपनि थापाको चुनाव नलड्ने निर्णयसँगै नैनकलालाई सांसद बन्ने अवसर प्राप्त भएको छ। आगामी निर्वाचनपछि सहज रुपमा प्रतिनिधि सभा सदस्य बन्दैछिन् उनी।

एमालेले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीमा उनी ‘आदिवासी जनजाति’ महिला समूहबाट पहिलो नम्बरमा राखिएकी छन्। नाम पहिलो नम्बरमै भएकाले उनी सहज रुपमा समानुपातिक तर्फबाट एमाले सांसद बन्नेछिन्।

नैनकलाको संसद प्रवेशसँगै निकट भविष्यमा थापा संसदमा पुग्ने सम्भावना दुई कारणले समाप्त भएको जानकारहरु बताउँछन्। पहिलो कारण सत्तागठबन्धनका कारण वागमति प्रदेशमा एमालेको मतभार कमजोर हुनु हो। एमालेको मतभार कमजोर भएको स्थितिमा थापा फेरि राष्ट्रिय सभा उम्मेदवार बन्ने सम्भावना कम छ।

कथं प्रदेश सभा निर्वाचनमा एमालेले आश्चर्यजनक जित निकाल्यो र वागमतिबाट एमालेले राष्ट्रिय सभा सदस्य पद सुरक्षित गर्ने स्थिति रह्यो भनेपनि थापालाई एमालेले उम्मेदवार नबनाउन सक्छ। समानुपातिक र राष्ट्रिय सभाजस्ता सहज स्थानमा पति–पत्निलाई नै अवसर दिँदा त्यसले पार्टीभित्र विवाद सिर्जना गर्ने भएकालेपनि थापा उम्मेदवार बन्ने सम्भावना कम रहेको जानकारहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .