राजनीति


हुको बहिर्गमनले सामाजिक सञ्जालमा गर्मायो बहस, चले अनेक अड्कलबाजी

सुनियोजित समारोहमा घटेको अनपेक्षित घटना
हुको बहिर्गमनले सामाजिक सञ्जालमा गर्मायो बहस, चले अनेक अड्कलबाजी

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १९:१७, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीको साता दिन लामो महाधिवेशनको अन्तिम दिन सबैको ध्यान एउटा अनपेक्षित घटनाले खिच्यो। पूर्वराष्ट्रपति हु चिन्ताओलाई दुई सहयोगीले राष्ट्रपति सी चिनफिङको छेउबाट उठाएर सहारा दिँदै बाहिर लगे।

कार्यक्रम नसकिई हुलाई किन त्यसरी बाहिर निकालियो भन्ने स्पष्ट छैन। तर, अलमलमा परेजस्ता वयोवृद्ध हुको बहिर्गमनको भिडिओ विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ र त्यसले व्यापक बहस सिर्जना गरेको छ। हुलाई अपमानित गरिएकोदेखि उनको स्वास्थ्य अस्थिर रहेकोसम्मका अड्कलबाजी पनि गरिए।

महाधिवेशन समापन समारोहको सुनियोजित कार्यक्रममा यो अचानक भएको घटना थियो। त्यसबाहेक सम्पूर्ण कार्यक्रम नियत तरिकाले सम्पन्न भए। जसमा सी चिनफिङलाई आधिकारिक रुपमा तेस्रो कार्यकालका महासचिव चयन गरियो भने २ हजारभन्दा बढी प्रतिनिधिले सीको प्रतिवेदन एकमतले पारित गरे।

२०५ सदस्यीय नयाँ केन्द्रीय समिति पनि निर्वाचित भएको छ। जसले पोलिट्ब्युरो चयन गर्नेछ।

आइतबार स्थायी समितिमा बस्ने सात शीर्ष नेता को को हुन् भन्ने सार्वजनिक हुनेछ। जुन सी चिनफिङको कोर टिमका रुपमा आगामी पाँच वर्षका लागि रहनेछ।

तर, शनिबार बेइजिङको समयअनुसार ११ बजेतिर सबैको ध्यान ७९ वर्षीय हुमा केन्द्रित भएको थियो। हु सी र स्थायी समिति सदस्य ली चान्सुको बीचमा बसेका थिए। त्यसबेला पत्रकारहरुलाई सम्मेलनस्थलमा प्रवेश दिइसकिएको थियो।

एएफपीको फुटेजअनुसार हु बसेको ठाउँमा दुई सहयोगी पुगे र उनलाई उठ्ने आग्रह गरे। हु द्विविधामा परेजस्तो देखिए र उनले सीको अगाडि रहेको दस्तावेज समात्न खोजे। तर, हुको दस्तावेज ली चान्सुले पहिले नै सहयोगीहरुलाई दिइसकेका थिए।

कुर्सीबाट उठिसकेपछि बाहिरिनुअघि हुले सीलाई केही भने। जवाफमा सीले मुन्टो हल्लाए। 

हुले जाँदाजाँदै आफ्ना शिष्य तथा प्रधानमन्त्री ली खछ्याङको कुम थप्थपाए। 

हुका अर्का शिष्य उपप्रधानमन्त्री हु चुनहुवा निष्फिक्री बसिरहे। हु बाहिरिएपछि बाँकी कार्यक्रमभर सीको छेउको कुर्सी खाली रह्यो।

‘२० औँ पार्टी सम्मेलनलाई यसरी सम्झना गरिनेछ,’ युनिभर्सिटी अफ भियनास्थित चिनियाँ राजनीतिका विशेषज्ञ लिङ लीले ट्विटरमा लेखेका छन्।

सबैभन्दा वयोवृद्ध नेता सोङ पिङ भने कार्यक्रमभर बसे। जो १०५ वर्ष पुगिसकेका छन्। पूर्वराष्ट्रपतिहरु चियाङ चेमिन, ९६, र पूर्वप्रधानमन्त्री चु रोङ्ची, ९३, अनुपस्थित रहे।

उपराष्ट्रपति वाङ छिसानको अनपेक्षित उपस्थितिले पनि मानिसहरुको ध्यान खिच्यो। जो पूर्वप्रधानमन्त्ती वेन जियाबाओ र चाओ लेचीको बीचमा बसेका थिए।

वाङ कजाकस्तानबाट अक्टोबर १३ मा मात्र फर्केका थिए। क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनी महाधिवेशन उद्घाटन समारोहमा सहभागी भएनन्।

पार्टीको विचारधारा प्रमुख वाङ हुनिङ स्थायी समितिमा बढुवा भएर संसदको अध्यक्ष बन्दैछन्। उनी बारम्बार सीतर्फ हेरिरहेका देखिन्थे। बेइजिङका पार्टी सचिव काइ ची सुरुदेखि अन्त्यसम्म कागजमा लेखिरहेका देखिए। 

आगामी मार्चबाट अवकाश पाउने निश्चित भएका ली खछ्याङ र वाङ याङ भने आरामले कुर्सीमा अडेसिएर बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad