ad ad

राजनीति


सिनियर ‘टिममेट’सँग भिड्दै द्वारिकलाल, कांग्रेसको भोटले हराउलान् एमालेलाई?

माओवादी कमजोर हुँदा सजिलो छैन संसद यात्रा
सिनियर ‘टिममेट’सँग भिड्दै द्वारिकलाल, कांग्रेसको भोटले हराउलान् एमालेलाई?

फाइल तस्बिर


सुमन पुरी
असोज २९, २०७९ शनिबार १४:४, विराटनगर

२०४९ सालको स्थानीय निकाय निर्वाचन आउन केही महिना मात्रै  बाँकी थियो। 

सुनसरीको हाँसपोसा गाउँपालिकामा अध्यक्षका उम्मेदवार उठाउने योग्य उम्मेदवारको खोजीमा थियो तत्कालीन नेकपा  एमाले। 

हाँसपोसा थारुबहुल क्षेत्र। पञ्चायतकालमा पनि थारु समुदायकै ठकनलाल चौधरी प्रधानपञ्च भएर सामाजिक काम गरेका। यस पटक पनि थारु समुदायबाटै उम्मेदवारी दिनुपर्छ भन्ने निष्कर्षमा पुग्यो एमाले। तर, एमालेसँग भनेजस्तो उम्मेदवार थिएन। 

झण्डै चार घण्टा चलेको बैठकपछि तत्कालीन एमाले हाँसपोसा गाँउ कमिटीको नजरमा आए द्वारिकलाल चौधरी । 

पार्टीमा अलिअलि काम गरे पनि पढे लेखेको र समुदायमा पनि राम्रै प्रभाव चौधरीको देखेपछि उम्मेदवारको प्रस्ताव लिएर गए लोकेन्द्र सञ्जेल, टंक पोख्रेल, लगायत स्थानीय एमाले नेता। 

स्थानीय जनजागृति प्राविका शिक्षक चौधरी छँदा खाँदाको जागिर छाडेर अध्यक्षको दाउ आफूलाई लगाउने पक्षमा थिएनन्। द्वारिकका बुवा आमाले त एमाले नेताहरुको कुरा टिक्नै दिएनन्। 

‘निकै लामो कसरतपछि बुवाआमाको कुरा नटेरी उम्मेदवार बन्न तयार भए द्वारिकलाल’, तत्कालीन हाँसपोसा गाविसका एमाले नेता लोकेन्द्र सञ्जेलले ३ दशकअघिको कुरा सम्झिए।

स्थानीयको अनुरोध र पार्टीको आग्रहपछि  २०४९ सालको स्थानीय निर्वाचनमा द्वारिकलाल उम्मेदवार मात्रै भएनन्, हाँसपोसाका प्रभावशाली कांग्रेस नेता दिलकुमार वनलाई हराए। 

सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीसँग द्वारिकलाल चौधरी

यसपछि उनले एमालेमा प्रभाव जमाउँदै गए। जिल्ला कमिटी सदस्य, तत्कालीन २ नम्बर इलाका कमिटी सचिव, जिल्ला सचिव, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष र जिल्ला अध्यक्ष हुँदै द्वारिकलाल चौधरीले ७४ को स्थानीय तहको निर्वाचनसम्म एमाले सुनसरीको कमाण्डा सम्हाले। 

०७४ मा इटहरी उपमहानगरपालिकाको मेयर बनेपछि उनले पार्टीको जिम्मेवारी अरुलाई सुम्पिए। ०७९ सम्म आइपुग्दा उनले जिम्मेवारी मात्रै सुम्पिएनन्, अहिले पार्टी नै छाडेका छन्।  

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ता गराउनु केही दिनअघि उनी नेकपा माओवादी केन्द्र प्रवेश गरे। 

एमाले छाडेर माओवादी बनेका चौधरी सुनसरी क्षेत्र नम्बर २ ‘क’ बाट सत्ता गठबन्धनको तर्फबाट माओवादीबाट प्रदेश सभामा उठेका छन्।

एमाले छाडेर माओवादीतिर लागेका द्वारिकको मुख्य प्रतिस्पर्धा अब एमालेसँग हुँदैछ। एमालेले त्यो क्षेत्रमा सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीलाई मैदानमा उतारेको छ।

उनी द्वारिकलालका सिनियर टिममेट हुन्। चौधरी सुनसरी जिल्ला कमिटी सदस्य हुँदा भण्डारी जिल्ला सचिव थिए। 

०६६ मंसिरमा भएको जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्ष हुँदा चौधरी सचिव भए। २०७० जेठमा भएको पाँचौ जिल्ला अधिवेशबाट भण्डारी फेरि अध्यक्ष हुँदा चौधरी उपाध्यक्ष भए। 

भण्डारीले २०७० सालको संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट जितेपछि चौधरीलाई कायवाहक अध्यक्षको जिम्वेवारी दिएका थिए।

एमाले र माओवादी एक भएपछि सुनसरी नेकपाको नेतृत्व माओवादीको भागमा परेको थियो।

सर्वोच्च अदालतको आदेशपछि नेकपा खारेजीमा पर्दा एमाले सुनसरीको नेतृत्व भण्डारीकै काँधमा आएको छ।

स्थनीय तहको निर्वाचनअघि भएको जिल्ला अधिवेशनबाट भण्डारी नै अध्यक्षमा आएका छन्। 

एमाले उम्मेदवार रेवतीरमण भण्डारी

सजिलो छैन चौधरीलाई
सुनसरी क्षेत्र नम्बर २ 'क' मा सुनसरीको इटहरी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, १६, १७, १८, १९ र २० नम्बर वडा पर्छन्। 

यस्तै त्यस क्षेत्रमा रामधुनी नगरपालिकाको ३ र ५ नम्बर वडा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ 'क' मा पर्दछन्। 

यो निर्वाचन क्षेत्रमा इटहरीतर्फ ७० हजार ३७४ र रामधुनीतर्फ १० हजार ६७४ गरेर ८१ हजार ४८ मतदाता रहेको निर्वाचन आयोगको तथ्यांक छ। 

यस क्षेत्रमा माओवादी केन्द्रको आफ्नै प्रभाव भने त्यस क्षेत्रमा छैन। वडातहमा खसेको मत हेर्ने हो भने सत्ता गठबन्धन दल र एमालेको मत हाराहारी छ। 

स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरमा पनि सत्तारुढ दलहरुको गठबन्धन भएको थियो। उक्त निर्वाचनमा सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी अहिले एमालेसँग गठबन्धनमा छ। 

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ 'क' मा १२ वटा वडा छन्। तीमध्ये ९ वटा वडा एमालेले जितेको छ। तीनवटा वडा कांग्रेसले जितेको छ। इटहरीमा पर्ने १० वडामध्ये एमालेले ८ वटा र कांग्रेसले २ वटा वडा जितेको छ। रामधुनीमा भने कांग्रेस र एमालले एउटा एउटा वडा जितेका छन्। 

माओवादीले इटहरीको स्थानीय तह निर्वाचनमा भएको गठबन्धनमा त्यस निर्वाचन क्षेत्रमा पर्ने वडा नम्बर १८ पाएको थियो। त्यहाँ माओवादी पराजित भयो। त्यस क्षेत्रमा वडागत मतका आधारमा सत्ता गठबन्धनले २१ हजार ४१६ र एमालले २१ हजार ४०१ मत पाएको छ। 

एमाले उम्मेदवारहरु भीम आचार्य र रेवतीरमण भण्डारीसहित

कति धान्ला चर्चाले? 
द्वारिकलाल चौधरी मिडिया र सामाजिक सञ्जालमा सेलिब्रिटी नेता हुन्। मेयर हुँदा उनी दर्जनौँ विवादमा जोडिएर चर्चामा आइरहे। पत्रकारको नाकको डाँडी भाँच्ने र लोपार्ने काण्डले उनी विवादमा परे। 

उनका विवादित अभिव्यक्तिका कारण यूटुयबरदेखि  मूलधारका मिडिया पनि पछ्याइरहन्छन्।

तर उनको नयाँ पार्टी माओवादीसँग त्यस क्षेत्रमा प्रतिप्रक्षीसँग टक्कर गर्ने मत छैन। यस्तो अवस्थामा चौधरीलाई चुनाव जित्न कांग्रेसको भर पर्नुपर्ने देखिन्छ। 

तर, इटहरी कांग्रेसलाई चुनाव लाग्ने छाँटकाँट छैन। इटहरी उपमहानरमा सुनसरीको क्षेत्र नम्बर ३ 'क' र २ 'क' पर्छ। क्षेत्र बाँडफाँडमा दुवै माओवादीको भागमा परेको छ। 

यसैले इटहरी कांग्रेसलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लागि सकेको छैन। प्रतिनिधि सभामा कांग्रेसकै उम्मेदवार सीताराम महतो सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन। 

तर उनको क्षेत्र र प्रभाव इनरुवा र इनरुवा दक्षिण भएकाले इटहरीमा खास चहल पहल सुरु भएको छैन। 

यसबाहेक क्षेत्र बाँडफाँटमा चित्त नबुझेपछि कांग्रेस नेता दीपेन्द्र घिमिरले त्यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई कांग्रेस इटहरीका केही नेताहरुले मत मागिरहेका छन्। 

कांग्रेसका प्रभावशाली नेता बद्रीनारायण चौधरीले स्वातन्त्र उम्मेदवारी दिए पनि मनोनयन फिर्ता गर्न लगाइएको छ।

यसले माओवादीका उम्मेदवार चौधरीभन्दा एमाले उम्मेदवार भण्डारीलाई फाइदा पुगेको छ। 

हुन त इटहरी उपमहानगरको मेयर हुँदा चौधरीको उदण्डताको शिकार कांग्रेस कार्यकर्ताहरु भएका छन्।

यो इगो सहज रुपमा मेटिएर माओवादीमा गएका चौधरीका पक्षमा कांग्रेसीले मत हाल्लान् भन्ने आशंका माओवादीलाई  छ। 

मेयर हुँदा चौधरीले महिलामाथि गरेका अभद्र गाली र व्यबहारको फाइदा एमालेलाई हुन सक्छ। उनले सामाजिक सञ्जालमा गरेका टिप्पणीसमेत भण्डारीका लागि मत तान्ने कारण हुन सक्छन्। 

तर जनतामाझ भ्रष्टचारविरोधी नेताका रुपमा छवि बनाएका चौधरीको प्रभाव इटहरीका तल्लो तहका मतदाताबीच देखिन्छ। 

आफू मेयर हूँदा चौधरीले शहरमाभन्दा गाँउमा विकास निर्माण गरेका छन्। उनले इटहरीका ग्रामीण क्षेत्रमा बनाएको बाटो आसन्न निर्वचनमा भोट तान्ने माध्यम हुन सक्छन्। 

३२ प्रतिशत भन्दा बढी थारु मतदाता रहेको इटहरी र ४० प्रतिशत मतदाता रहेको रामधुनीमा धेरै थारु मत सत्ता गठबन्धनका चौधरीलाई खस्न सक्छ। 

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेको माओवादीले २ वडाअध्यक्ष र १८ वटा सदस्य भागमा पाएको थियो। तर कुनै उम्मेदवार जिताउन सकेन। 

आफ्नो संगठनको यो हालत हुँदा कांग्रेसकै भरमा चुनाव जितिएला त? जिज्ञासामा चौधरी बाली र सुग्रिबको उदाहरण दिन्छन्। 

चौधरीले बाली बलियो भए पनि सुग्रिव सत्यको पक्षमा भएकाले उनैको जित भएको बताए। 

'केपी ओलीको स्वेच्छाचारी निरंकुशता र सर्वसत्तावादका कारण मतदाताले सत्ता गठबन्धनमा मत हाल्ने छन्। मैले जित्ने छु', उनको तर्क छ।

उनले एमालेले समावेशीता र लोकतन्त्रको खिल्ली उडाएकाले आसन्न निर्वाचनमा उसलाई धुलीसात बनाउने दावी गरे। 

सत्ता गठबन्धनका उम्मेदवारहरु

एमालेमा विवाद
स्थानीय तहको निर्वाचनामा टिकट वितरणले एमालेमा पनि एक मत हुन सकेको छैन। जिल्ला अध्यक्ष भएका हिसाबले टिकट वितरणमा भण्डारीको भूमिकाप्रति एमालेभित्रै असन्तुष्टि छ। 

इटहरी उपमहानगरमा १५ वटा वडा अध्यक्ष र उपमेयर जितेर पनि मेयर नजित्नुमा भण्डारीलाई दोष लगाउने पनि एमालेमा छन्। 

०७४ को निर्वाचनपछि एमाले सुनसरीमा चरम गुटबन्दी गरेको भन्दै केही नेता-कार्यकर्ता भण्डारीसँग रुष्ट छन्। 

तर पार्टीका तिक्तता मेटिएकाले एमाले एक भएर अगाडि बढेको भण्डारी बताँउछन्। 

'पार्टी अहिले जीवन मरणको क्षणमा छ', उनले भने, 'घेराबन्दीबीच एमाले सत्ता गठबन्धनसँग प्रतिस्पर्धामा रहेकाले पार्टीका समस्या हल भएर जानेछन्।'

उनले आफूले अवसरका लागि भन्दा निष्ठाकासाथ राजनीतमा लागेकाले चुनाव जित्नेमा ढुक्क रहेको सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .